आहाललाई ताल बनाउँदा एक करोड आठ लाख स्वाहा

खोटाङको नेर्पास्थित बगरेभञ्ज्याङमा बनाइएको अलपत्र कृत्रिम ताल । तस्बीरः चिसाङ शेर्पा

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 8 mins

खोटाङ । स्थानीय सरकारले विलासिताका निमित्त धेरै संरचनाहरु निर्माण गरेको देखिन्छ । कती संरचना निर्माणधिन अवस्थामा छ । कती लथालिङ्ग छन । ति हविगत देख्दा स्थानीय सरकार जनताको करमाथि भद्दा मजाक गरिरहेको प्रष्ट देखिन्छ । जसका कारण जनताहरु रुनु न हाँस्नु भएका छन ।

विलासिताका लागि बनाईएको संरचना अहिले लगानी गर्ने मात्रै र रमिता देखाउने ठाउँ भएको छ । त्यसको कुनै आम्दानी छैन । आम्दानी त परको कुरा त्यस्ता संरचनालाई संरक्षण र सुचारु गर्न पनि स्थानीय सरकारको ध्यानै छैन । स्थानीय सरकार कार्यकर्ता भरणपोषणमा चुर्लुम्म डुबेको छ ।

यस्तै, एउटा ज्वलन्त उदाहरण हो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण गरेको कृत्रिम ‘रुरु ताल’ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा बगरेभञ्ज्याङमा करोड खर्चेर बनाईएको ताल अहिले गाईभैंसीलाई आहाल बस्ने ठाउँ बनेको छ । हुन त नगरपालिकाले कृत्रिम ताल बनाउनु अघिदेखि नै गैरा ठाउँ भएकाले त्यहाँ आकासे पानी जमेर आहाल भईरहन्थ्यो । र, गाईभैंसीलाई आहाल बस्ने ठाउँ नै थियो ।

तत्कालिन मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईले त्यही आहाललाई रुरु ताल बनाउन तम्सिनु भयो । स्मरण रहोस रिजाल र राईको कार्यकालमा नुनथला महुरेमा रहेको आहाललाई नै आँखा पोखरी बनाईएको थियो । जुन अहिले उस्तै अलपत्र र कुरुप छ ।

स्थानीय सरकारले बिना भौगोलिक अध्ययन, पर्यावरणको बेवास्ता, सनक र लहडमा जताततै विलासिताका अनावश्यक संरचनाहरु बनाउँँदा जनताबाट उठाईएको करको दुरुपयोग त भयो, भयो । पर्यावरणमा समेत खलल पुगेको छ । भिरपाखा, डाँडाकाँड कुरुप बनेका छन ।

नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको आर्थिक लगानीमा निर्माण गरिएको रुरु तालमा वर्षाको पानी जमाएर डुंगा शयर गर्न मिल्नेगरी एक हजार वर्गमिटर क्षेत्रफलमा ताल निर्माण गरिएको थियो । तत्कालिन नेतृत्वको गैरजिम्मेवारी र कमजोरीका कारण तालमा वर्षाको भलपानी जमाइएकै कारण ताल बाह्रैमास धमिलो हुन्छ । हिउँदको समयमा पानी अभावमा ताल सुकेर आकार घट्ने गरेको स्थानीय बताउँछन् ।

साविकको सदरमुकाम दिक्तेलबाट ९ किलोमिटरको दुरीमा रहेको बगरेभञ्ज्याङको देवीथान गल्छीको आहाललाई एक करोड आठ लाख ७० हजार खर्चमा १० मिटर अग्लो ड्याम हालेर ताल निर्माण गरिएको हो । कृत्रिम ताल निर्माणका क्रममा आर्थिक वर्ष २०७५/०७६ मा संघीय सरकारको ३४ लाख ९२ हजार, नगरपालिकाको ५४ लाख ५ हजार ९६४ र उपभोक्ता समितिको ८९ लाख खर्च भएको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारको आठ लाख ६५ हजार ३६० र उपभोक्ता समितिको एक लाख २२ हजार ३२१ रुपैयाँ खर्च भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिएको सुचनामा उल्लेख छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा विनियोजन गरेको बजेटबाट २०७५ फागुन २२ गतेदेखि कृत्रिम ताल निर्माणको काम सुरु गरिएको थियो ।

पानी बिनाको तालमा अहिले वर्षाको भलपानीले बगाएर झारेको गेगर पस्ने गरेको छ । तालमा झरेर थाक लागेको गेगरलाई थुप्रो थुप्रो बनाएर राखिएको छ । पानी चुहिन नदिन तालको ड्याममा हाल्नका लागि तालभन्दा माथितिरको भित्ता खन्नेक्रममा झरेको ढुंगामाटोले पनि तालको अधिकांश भाग पुरेको छ । जंगल नष्ट भएको छ । बर्खामा निरन्तर पहिरो गएर जंगललाई अझ क्षति गर्ने देखिन्छ ।

तालमा पानीभन्दा ढुंगामाटो र गेगरको थाक ठूलो देखिन्छ । रुखका जरा तालभित्रै फालिएको छ । तर ढुंगा माटो, गेगर र ठुटा पन्छाउनमा स्थानीय सरकारको ध्यानै छैन ।

तत्काललाई डुंगा शयर नभए पनि तालले गाईवस्तुलाई पानी खुवाउने श्रोत र रिचार्ज पोखरीको काम गरेको देखिन्छ । तालको फिनिसिङ राम्रो भएकाे छैन । काम अधुरो छाडेजस्तो देखिन्छ । अनियमितता भयो भन्ने पनि सुनियो । तर फिनिसिङ नहुँदा ताल कुरुप देखिएकाे स्थानियकाे भनाई छ ।

नेर्पा, खार्मी र पाथेकाको सिमानामा पर्ने पर्यटकीयस्थल बगरेभञ्ज्याङलाई पिकनिक स्पटकारुपमा विकास गर्नका लागि कृत्रिम ताल बनाइएको थियाे । करोड खर्चेर बनाईएको ताल गाईभैंसीलाई आहाल बस्ने ठाउँमा परिणत हुँदा नगरपालिकाको वर्तमान नेतृत्वले औपचारिक रुपमा तालका विषयमा केही धारणा दिएको र बोलेका छैनन् । यद्यपी, गत कार्तिकमा मेयर तीर्थराज भट्टराईले तालको निरीक्षण भने गर्नुभएको थियो ।

करोड खर्चेर बनाइएको ताल अलपत्र र कुरुप भएपछि तत्कालिन नेतृत्वको चौतर्फी विरोध र आलोचना भईरहेको छ । वर्तमान नेतृत्वले अब के गर्ला ? भन्ने प्रश्न खडा भएको छ । तत्कालिन नेतृत्वले नै बगेरभन्ज्याङको दक्षिणतर्फ निर्माण गरेको डाँडाभन्दा होचो पेन टावर, पानी बिनाको शौचालय र पुर्वतर्फको डाँडामा बनाएको पिकनिकका लागि टहरा, चुला, बस्ने ठाउँ उस्तै अलपत्र र लथालिङग छ । पेनटावरको भित्री भागमा अश्लिल चित्र तथा शब्दहरु लेखिएको देखिन्छ । पेनटावरभित्रै दिशापिसाब समेत गरेको देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?