राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल !

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली कांग्रेसले आसन्न राष्ट्रपति निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उपस्थित गराउने कांग्रेस वृत्तमा चर्चा छ । कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरू । सांसदहरू र प्रदेश सदस्यहरूले समेत पार्टीले शीर्ष नेतृत्वबाट नै राष्ट्रपति पदका लागि उम्मेदवारी हुनुपर्ने विचार सार्वजनिक गरिरहेको अवस्था छ । वर्तमान सरकारलाई विश्वासको मत दिनासाथ नेपाली कांग्रेसले सभामुख वा राष्ट्रपतिमा आफ्नो उम्मेदवारका पक्षमा समर्थन चाहेको थियो । तर, राष्ट्रिय सहमतिको नीति अगाडि सारे पनि अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको उम्मेदवारका पक्षमा उभिन पुग्नुभयो र सभामुखमा एमालेका उम्मेदवार विजयी हुनुभएको थियो ।

प्रधानमन्त्री दाहालले राष्ट्रपति पदमा पनि राष्ट्रिय सहमतिको नीति प्रस्तुत गर्नुभएको छ । त्यस्तो सहमति हुने सम्भावना देखिँदैन । यसअघि प्रधानमन्त्रीको प्रस्तावविपरीत एमालेका उम्मेदवार सभामुखमा निर्वाचित भइसक्नु भएको छ । अहिले गठबन्धनको नाममा पुनः गठबन्धनकै राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमतिको प्रयास भइरहेको अवस्था छ । गठबन्धनको मुख्यघटक नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले जसलाई उम्मेदवार बनाउने हो त्यसैलाई समर्थन गर्नु नै राष्ट्रिय सहमति हो भनेर भाष्य गरिसक्नु भएको छ । तर, प्रधानमन्त्री शक्ति सन्तुलनका लागि भए पनि राष्ट्रपति पदमा फरक अडान राख्दै हुनुहुन्छ ।

नेपाली कांग्रेसले पहिलोमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भए पनि अरू विकल्पमाथि समेत चर्चा भइरहेको छ । खासगरी नेपाली कांग्रेसका नेता तथा पूर्व–सभामुख दमननाथ ढुंगाना, यसअघि विद्यादेवी भण्डारीसँग प्रतिस्पर्धा गर्नुभएकी लक्ष्मी राईको समेत नाम लिइँदै छ । कांग्रेसमा पूर्व–उपसभापति गोपालमान श्रेष्ठले समेत आफूले राष्ट्रपति पदमा उम्मेदवारी पाउनुपर्ने दाबी गरिरहनु भएको छ । तर, नेपाली कांग्रेसले दिने उम्मेदवारीमा सहमति हुन नसके प्रधानमन्त्री दाहालका सामु अरू केही नामहरू विकल्प हुने अनुमान गरिँदै छ ।

लोकतान्त्रिक र वाम दुवै पक्षलाई मान्य नेतृत्व चयन गर्ने र राष्ट्रिय सहमति भन्ने अडान यथावत् रहेमा पूर्वमन्त्री तथा पूर्व–राजदूत नीलाम्बर आचार्य, लोसपाका अध्यक्ष महन्थ ठाकुर, शिक्षाविद् केदारभक्त माथेमा जस्ता व्यक्तित्वलाई अघि सार्ने देखिन्छ । एमालेको अडानमा प्रधानमन्त्री सहमत हुनुभएमा एमालेबाट प्रस्तावित हुनसक्ने उम्मेदवारहरूको चर्चा पनि चलिरहेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, एमालेका अष्टलक्ष्मी शाक्य र ईश्वर पोख्रेलमध्ये एमालेको प्राथमिकतामा पर्नुहुने बताइन्छ ।

राष्ट्रपति पदसँगै उपराष्ट्रपतिको विषय पनि प्याकेजमा नै तय गर्ने प्रधानमन्त्रीको प्रयास रहेको निकट स्रोतको दाबी छ । तर, अहिलेसम्म राष्ट्रिय सहमतिमा उम्मेदवारीको विषय, कुन दलको प्रस्तावलाई कसले र कसरी समर्थन गर्ने, को सही उम्मेदवार हुनसक्छ भन्ने निष्कर्षमा कुनै पनि पार्टी नेतृत्व पुगेको देखिँदैन ।
प्रधानमन्त्री दाहाल राष्ट्रपतिको विषयले वर्तमान गठबन्धन नटुटोस् भन्नेमा जति सचेत देखिनुहुन्छ त्यति नै नेपाली कांग्रेसलाई साथमा राख्ने प्रयासमा हुनुहुन्छ । कांग्रेसले राष्ट्रपति पदमा माओवादीको समर्थन पाएन भने उसले आफ्नो समर्थन फिर्ता लिने निश्चित छ । कांग्रेसको समर्थन फिर्ता लिनुको अर्थ हो सरकारमाथि एमालेको ज्यादतीपूर्ण नियन्त्रण । प्रधानमन्त्रीका सामु एमालेको ज्यादतीपूर्ण नियन्त्रण स्वीकार गर्ने कि कांग्रेसलाई समर्थन गर्ने ? रोज्नुपर्ने अवस्था छ । तर, कांग्रेसलाई राष्ट्रपति पदमा समर्थन गर्ने हो भने एमालेको समर्थन फिर्ता हुने स्पष्ट छ । त्यो खतरा लिने र उचित विकल्पको तयारीमा बस्न सकेमा एालेसँगको गठबन्धन परिवर्तन हुने र कांग्रेससँगको गठबन्धनका साथ पाँच वर्ष नै दाहालको प्रधानमन्त्री पद निरन्तर हुने सम्भावनामाथि समेत विमर्श हुन लागेको स्रोतको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?