पर्यटन याम : गन्तव्य ‘बेलढुङ्गा’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । २६ सय मिटरको उचाइमा रहेको बेलढुङ्गाका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँमा ओझेलमा थियो । जब सडक संजालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ पर्यो ।

हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरुले बेलढुङ्गामा चहलपहल निकै हुने गर्छ । यस वर्ष हिउँ परेन । तर सूर्योदय र यहाँबाट देखिने दृश्यहरुको अवलोन गर्नेहरुको कमी भने भएन । बेलढुङ्गा बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा पर्यटकहरु सहज रुपमा यहाँ पुग्ने गरेका हुन् । यातायात र पदमार्ग मार्फत पुग्न सकिने हुँदा दैनिकी पर्यटकको आगमनमा वृद्धि हुँदै गएको स्थानीयको भनाई छ । पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको संख्य अझ बढ्दो छ ।

बेलढुङ्गा नजिकै ओखले गाउँमा सामुदायिक होम-स्टे छ । जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ । यहाँबाट अन्गिन्ती हिमश्रृङ्खलासँगै, बागलुङ र म्याग्दीका अधिकांश भू–भागसँगै पर्वत, कास्की, गुल्मी लगायतका ठाउँहरु सहज रुपमा देख्न सकिन्छ । अब ढकमक्क गुँरास फुलेर वनै ढाक्ने सिजन सुरु भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको बेलढुङ्गा सामुदायिक होम–स्टेका सचिव गोपाल श्रीसले बताउनुभयो ।

यस वर्ष एक दिन पनि बेलढुङ्गा रित्तो नभएको श्रीस बताउनुहुन्छ । बर्खाको समयमा पनि पदमार्गबाट यहाँ पर्यटकहरू घुम्न आएको भन्दै पछिल्लो समय दैनिक सयको हाराहारीमा पर्यटक आउने गरेको उहाँको भनाई छ । पूर्वाधार निर्माण र प्रचारप्रसारपछि बेलढुङ्गामा बाह्रै महिना पर्यटक आउन थालेको उहाँ बताउनुहुन्छ ।

“पाँच÷छ वर्ष अगाडिसम्म बेलढुङ्गा निकै सुनसान थियो, स्थानीयहरुले यहाँ घाँस दाउरा गर्ने गर्थे, म्याग्दी र बागलुङको सिमाना भएको हुँदा अलिअलि मान्छेहरु त आउँथे तर अहिलेको जस्तो थिएन,” सचिव श्रीसले भन्नुभयो– “बेलढुङ्गामा पर्यटक आउँदा होम–स्टे पनि राम्रो चलेको छ, यहाँ खानेपानी, शौचालयमा व्यवस्थापन हुन सकेको छैन, त्यसको व्यवस्थापन भए अझ राम्रो हुने थियो ।”

पछिल्लो समय बिदाको दिन विद्यार्थी, विभिन्न संघ संस्था गाडी लिएर घुम्न तथा वनभोज खान आउनेको संख्या बढेको उहाँको भनाई छ । म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम रहेको छ । यहाँ पूजाआजा गर्न आउने भक्तजनहरु पनि बेलढुङ्गा चढ्न आउने गरेका छन् । दुई वर्ष अगाडिसम्म बेलढुङ्गामा जोखिम मोलेर चढ्नु पथ्र्यो भने अहिले पदमार्ग मार्फत सहज रुपमा टुप्पोमा पुग्न सकिन्छ ।

सामाजिक सञ्जालमा यहाँका फोटो भिडियोहरु निकै भइरल भएको हुँदा आफू पनि घुम्न आएको बागलुङको गलकोटका सुजन खत्रीले बताउनुभयो । खत्री भन्नुहुन्छ– “यो ठाउँ साँच्किै स्वर्ग जस्तो रैछ, हिमालहरु पनि आँखै अगाडि देखिने, डाँडाकाँडा, वन जंगल, पशुपंक्षी सबै देख्न पाइने यस्तो ठाउँ सायद दुर्लवनै होलान्, हामीहरु सात जनाको टिम आएको मज्जाले रमाइलो भयो ।”

गत वर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरेको दुई लाख ५९ हजार रुपैयाँबाट बेलढुङ्गालाई फराकिलो र व्यवस्थित बनाइएको छ भने गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा देउराली डाँडादेखि यहाँसम्म जोड्ने २६० मिटर स्लेट ढुङ्गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोट तर्फ २५० मिटर साइकल ल्याण्डसमेत बनाइएको छ ।

काठेखोला गाउँपालिकाका प्रवक्त टिका संगम विकाले बेलढुङ्गा गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य रहेको भन्दै यसको प्रवद्र्धनका लागि गाउँपालिकाले योजना बनाएर लागेको बताउनुभयो । उहाँले अघिल्लो वर्षहरुमा यहाँ केही पूर्वाधार निर्माणका काम गरेको भन्दै शौचालय, खानेपानी र यहाँ पुग्ने सडकलाई थप व्यवस्थित बनाउने बताउनुहुन्छ ।

प्रवक्ता विक भन्नुहुन्छ- “बेलढुङ्गा काठेखोलाको शिर हो, गौरव हो, यस ठाउँमा अझै थुप्रै संरचनाहरु बनाउन बाँकी छ, पहिलेको तुलनामा यसको मुहार निकै फेरिएको छ, अब संचरना बनाउने, प्रचारप्रसार गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्राउने गरि काम गर्छौँ, पर्यटन मार्फत यहाँ समृद्ध हाँसिल गर्ने लक्ष्य छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?