बढी कर तिर्ने सदस्यलाई सिएनआईको सम्मान

Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित आफ्ना सदस्यलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा कुल १६ (संस्था तथा व्यक्ति) लाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये चारवटा सरकारी लगानी रहेका कम्पनी छन् भने १२ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । १२ मध्ये आठजना सिएनआई सदस्यहरू रहेका छन् । राष्ट्रिय कर दिवस २०७९ का अवसरमा आर्थिक वर्ष २०७७/०७८ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता शिव शक्ति घिउ उद्योग प्रालि, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने राजेश मेटल क्राफ्टस प्रालि, कृषि तथा पशुपंछीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओसिबी फुड्स एण्ड फिड्स प्रालिलाई सिएनआईले सम्मान गरेको हो ।

त्यस्तै, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नबिल बैंक, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन प्रालि, रेमिट्यान्स तथा मनि ट्रान्सफरमध्येबाट सबैभन्दा बढी कर तिर्ने आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई पनि सिएनआईले सम्मान गरेको छ ।

सोमबार सिएनआई सचिवालयमा आयोजित कार्यक्रममा सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च कर तिर्ने सदस्यलाई सम्मान गर्दै सरकारबाट सम्मानित उच्च करदातामा निजी क्षेत्रमध्येबाट करिब ७० प्रतिशत सिएनआई सदस्य रहेकोमा सिएनआईले गर्व महसुस गरिरहेको बताउनुभयो । उच्च करदाता हुनु व्यक्तिगत उपलब्धिमात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान पनि भएको उहाँको भनाइ थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने सिएनआई गभर्निङ काउन्सिल सदस्य विजयकुमार शाहले कोरोना महामारी, तरलता अभाव, चुनौतीपूर्ण अर्थतन्त्रका बाबजुद सरकारलाई उच्च कर बुझाउन सकेकोमा आफूले गौरव महसुस गरिरहेको बताउनुभयो । सो अवसरमा सिएनआईका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, उपाध्यक्ष राजेश अग्रवाल, वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, मानार्थ उपाध्यक्ष अनुज अग्रवाललगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?