सरकारी सर्भरमा समस्या, अध्यागमनको सर्भर फेरि डाउन

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भरमा बेलाबेलामा समस्या आउने गरेको छ । कार्यालयको सर्भर सोमबार फेरि समस्या आएको हो । कार्यालयको सर्भर दुई घण्टा बढी डाउन भएको थियो । बिहान १२ बजेदेखि समस्या देखिन थालेको सर्भर दुई बजेपछि मात्रै पनि सञ्चालनमा आएको थियो । सर्भर डाउन हुँदा कम्तीमा पाँचवटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए ।

समस्याले अध्यागमनको डिपाचर, इम्रिग्रेसनको काम रोकिँदा उडानहरू प्रभावित भएका हुन् । समस्याका कारण विदेश जानुपर्ने यात्रुको पासपोर्ट तथा भिसाको डिजिटल अध्ययन समयमै हुन सकेको थिएन । उडान प्रभावित हुँदा देशबाहिर जाने सयौँ यात्रुहरूले सास्ती व्यहोर्नुपरेको थियो । अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो । उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रुहरू मर्कामा परेका थिए ।

केहीबेर मात्रै समस्या आएको हो : आचार्य
अध्यागमन कार्यालयले भने केहीबेर मात्रै सर्भरमा समस्या आएको दाबी गरेको छ । विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी गणेश आचार्यले केहीबेर सर्भर डाउन हुँदा उडानहरू सामान्य प्रभावित भएको दाबी गर्नुभयो । ‘प्राविधिमा कहिलेकाहीँ समस्या आउँछ । केहीबेर (सोमबार बिहान) समस्या आएको हो । समस्या चाँडै समाधान भयो,’ उहाँले भन्नुभयो, ‘सर्भरमा समस्या आउँदा केहीबेर उडान प्रभावित हुने त भइहाल्यो । तर, धेरैबेर प्रभावित भएन ।’ अब स्थानीय सर्भर राखेर काम गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । कार्यालयमै स्थानीय सर्भर राख्दा समस्या नआउने उहाँको विश्वास छ ।

यसअघि गत माघ १५ गते पनि कार्यालयको सर्भरमा पाँच घण्टासम्म समस्या आउँदा उडानहरू प्रभावित भएका थिए । कार्यालयको सर्भरमा पटक-पटक समस्या आउने गरेको छ ।

सर्भर डाउन हुँदा अध्यागमन कार्यालयका कम्प्युटरले यात्रुको पासपोर्ट र भिसा अध्ययनको काम गर्न सक्दैन । यी कम्प्युटर नचल्दा अध्यागमन कार्यालयले बोर्डिङ पास लिई विदेश जाँदै गरेका तथा विदेशबाट नेपाल फर्केका यात्रुको राहदानी जाँच्न सक्दैन ।
सरकारी सर्भर बेलाबेलामा डाउन हुने गरेका छन् । गत माघ १५ गते प्रायः सबै सरकारी वेबसाइटहरू एकैपटक डाउन भएका थिए । सर्भरमा समस्या आउँदा नेपाल सरकारका सबै वेबसाइट काम नगर्ने भएका थिए । यसअघि राहदानी विभागको सफ्टवेयरमा समस्या आएको भन्दै केही दिन नै सेवा प्रभावित भएको थियो ।

सबै सरकारी वेबसाइटहरू सिंहदरबारस्थित सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिसी)बाट चल्ने गरेका छन् । धेरै सरकारी वेबसाइटहरू एउटै सर्भरमाथि निर्भर हुँदा जिआइडिसीमा समस्या आउँदा धेरैजसो सरकारी कार्यालयका वेबसाइटमा समस्या आउने गरेको छ ।

गुण एयरका सबै उडान बन्द गर्न प्राधिकरणको निर्देशन
नागरिक उडड्यन प्राधिकरणले गुण एयरलाइन्सका सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ । पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउण्डेड गर्न सोमबार नै पत्र पठाइएको हो ।

कम्पनीले कर्मचारीको सेवासुविधा समयमै दिन सकेको छैन । आर्थिक संकटबाट जुधिरहेको कम्पनीले सेवा दिँदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले उडान बन्द गरिएको उहाँले बताउनुभयो । गुणका उडान गत बुधबारदेखि नै बन्द छन् । उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ । गुण एयरका हाल तीनवटा जहाज सञ्चालनमा थिए । सिम्रिक एयरलाइन्सका विमानहरू किनेर गुण एयरलाइन्सले हवाई सेवा दिँदै आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?