जन्म मितिको विवादमा डिआइजी सिंह

प्रहरी सिटरोल र नागरिकतामा उमेर फरक-फरक भेटिँदा झुक्याएर सेवा प्रवेश गरेको आशंका

यज्ञराज पाण्डे
Read Time = 9 mins

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) अशोक सिंह जन्ममिति विवादमा तानिनुभएको छ । हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहनुभएका सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक-फरक भेटिएपछि उमेर झुक्याएर सेवामा बहाल रहेको आरोपमा विवादमा तानिनुभएको हो ।

काठमाडौं बागबजारका विश्वप्रकाश भेटवालले डिआइजी सिंहको फरक-फरक जन्म मिति रहेको पाइएको, शैक्षिक प्रमाणपत्रसमेत नक्कली बनाएको लगायतको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको थियो । उक्त उजुरीपछि छानबिनको क्रममा डिआइजी सिंहको जन्म मिति नै फरक-फरक रहेको पाइएको हो ।

डिआइजी सिंहको २०४२ जेठ २२ गते कैलालीबाट जारी भएको एउटा नागरिकताको प्रतिलिपिसमेत फेला परेको छ । उक्त नागरिकता प्रमाणपत्रमा नागरिकता जारी भएको बेला सिंह १८ वर्ष उमेर पूरा भएको उल्लेख छ । नागरिकता लगायतका प्रमाणपत्रमा जन्म मितिको विवरणमा वर्ष मात्रै उल्लेख भएको अवस्थामा जारी भएको मितिलाई नै जन्म भएको मिति तथा महिना र गते कायम हुने भनेर प्रहरी निमायवली २०७१ को दफा १२७ का उपदफाहरूमा प्रष्ट रूपमा उल्लेख गरिएको छ । जसअनुसार सिंह २०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको भन्ने उल्लेख भएकाले उहाँको जन्म मिति २०२४ जेठ २२ गते नै हुन्छ । तर, उच्च स्रोतका अनुसार प्रहरी सिटरोलमा सिंहको जन्ममिति भने २०२५ पुस १६ उल्लेख छ । यसरी फरक-फरक जन्ममिति पाइएपछि उनीविरुद्धको छानबिनलाई अघि बढाइएको हो ।

योसँगै डिआइजी सिंहले पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्रसमेत नक्कली रहेको दाबी गर्दै उजुरी हालिएको थियो । सिंह आफूले पढ्दै नपढेको भारतीय कलेजबाट नक्कली सर्टिफिकेट ल्याएर प्रहरी सेवामा प्रवेश गरेको दाबी गरिएको छ ।

सिंहको इन्स्पेक्टरमा इन्ट्रीमाथि नै प्रश्न
डिआइजी सिंहको सेवा प्रवेश नै कसरी भयो भन्ने विषय अहिले पेचिलो बनेको छ । कैलालीको साबिक निगाली गाविस वडा नम्बर ९ ठेगाना राखेर जारी भएको नागरिकताको प्रमाणपत्रअनुसार प्रहरी निरीक्षकमा भर्ना खुलेको बेला उहाँ २६ वर्ष भइसक्नु भएको देखिन्छ । तर, प्रहरी नियमावलीअनुसार २५ वर्ष नाघेको व्यक्तिले आवेदन नै दिन पाउँदैनन् । २०५० मंसिरमा प्रहरी निरीक्षकको आवेदन दिँदा उहाँ २६ वर्ष ६ महिना भइसक्नु भएको देखिन्छ । तर, उहाँको सिटरोलअनुसार जन्ममिति भने २०२५ पुस १६ गते उल्लेख छ । उक्त मितिअनुसार सिंह इन्स्पेक्टरमा आवेदन दिने बेलामा २४ वर्ष ११ महिनाको देखिनुहुन्छ । जसअनुसार उहाँ आवेदनका लागि योग्य मानिनुहुन्छ ।

किन बन्यो नागरिकता विवाद चासोको विषय ?
हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहनुभएका डिआइजी सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका दाबेदार हुनुहुन्छ भने त्यसपछि भावी महानिरीक्षक बन्ने दौडमा हुनुहुन्छ । २०४९ चैतमा सेवा प्रवेश गर्नुभएका हालका महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहसहित उहाँका ब्याची सबै उच्च अधिकारी ३० वर्षे सेवा अवधि पूरा गरी चैत ११ बाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । तर, सरकारले सेवा अवधिसम्बन्धी ३० वर्षे प्रावधान हटाउने तयारी गरेको छ । यस विषयमा परामर्शमा रहेको गृह मन्त्रालयका एक अधिकारीले बताउनुभयो । अवकाशअघि नै सेवा अवधि बढाउन आइजिपी सिंहको टोली ‘लबिइङ’ मा लागेको छ । सेवा अवधिसम्बन्धी कुनै निर्णय नभएमा त्यसपछि नेतृत्वमा पुग्नका लागि पहिलो नम्बरमा एआइजी बढुवा हुन चाहनुभएका डिआइजी सिंहमाथि उमेर सच्याएर प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेको हो ।

भावी महानिरीक्षकमा सुरक्षित गर्नकै लागि पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले चैतमा अवकाशमा जान लागेका तीन र ब्याचबाटै सिंहलाई एकल रूपमा समेटेर सरकारले चार जनाको नाम एआइजीमा बढुवा प्रयास गरेको थियो । बढुवाकै लागि गृह मन्त्रालयले निर्वाचन आयोगसँग ‘केही पदमा बढुवा गर्नुपर्ने’ भन्दै सहमति लिएर सिंहसहित चार जनालाई बढुवा गर्ने प्रयास गरेको थियो तर आयोगले सहमति दिएन । त्यतिबेला रोकिएको बढुवा अझै अघि बढेको छैन । गत साउनयता एआइजीहरू विश्वराज पोखरेल, अरुण बिसी, मुकुन्द आचार्य, रवीन्द्रबहादुर धानुक र फागुन ५ बाट पूजा सिंहले अनिवार्य अवकाश पाएपछि रिक्त स्थानमा बढुवा हुन सकेको छैन ।

नागरिकताको जन्ममितिअनुसार एसएसपीमै रिटायर्ड
नागरिकतामा भएको उमेरअनुसार सेवा अवधि कायम हुने हो भने सिंह २०७९ जेठ २२ मै एसएसपीको उमेर हदका कारण अनिवार्य अवकाशमा जानुहुन्थ्यो । प्रहरी नियमावलीअनुसार एसएसपीको उमेर हद ५५ वर्ष हुने उल्लेख छ तर सिटरोलअनुसार उहाँ अवकाशमा जानुभएन । २०५१ चैत ५ मा निरीक्षकमा भर्ना हुनुभएका उहाँ त्यसपछि विभिन्न मितिमा डिएसपी, एसपी र एसएसपीमा बढुवा हुनुभएको थियो । बढुवा गर्दा नागरिकता र सिटरोलको उमेर नभिढाई निर्णय भएको छ । पछिल्लोपटक असार १७ मा सिंहसहितका डेढ दर्जन एसएसपीहरू डिआइजीमा बढुवा भएका थिए ।

तर, सिंहले भने २८ वर्षसम्म आफू सेवामा रहँदा कुनै विवाद नआएको तर पदोन्नतिको मुखमा आफूविरुद्ध चलखेल गर्न अनावश्यक विवाद झिकिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘भर्ना हुँदा कुनै विवाद थिएन । मैले तोकिएका कागजात नै पेस गरेको हुँ, त्यसअनुसार नै निरीक्षकमा प्रतिस्पर्धा गरेर प्रहरी सेवामा आएको हुँ, आज प्रहरीमा कार्यरत रहेको २८ वर्ष भयो, कुनै विवाद झिकिएन ।’ तर, अहिले आफूमाथि जन्ममिति फरक प¥यो भनी षड्यन्त्र गरिएको तर्क गर्नुहुन्छ ।

किताबखानासँग कागजात माग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई बोधार्थ दिँदै अख्तियारमा उजुरी हालेपछि सिंहमाथिको अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । उहाँको प्रहरी सेवामा कसरी प्रवेश भयो ? कागजातहरू तथा शैक्षिक योग्यताका प्रमाणहरू लगायतको बारेमा अनुसन्धान अघि बढाइएको बताइएको छ । स्रोतका अनुसार डिआइजी सिंहको सम्पूर्ण कागजातहरू प्रहरी किताबखाना सँगसमेत माग गरिएको हो । प्रहरी कर्मचारीको सम्पूर्ण विवरण तथा रेकर्ड लैनचौरस्थित प्रहरी किताबखानासँग हुन्छ । किताबखानासँग कागजात मगाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?