मन्त्री किराँतीलाई भोजपुरका व्यवसायीले बुझाए नौ बुँदे अवधारणापत्र

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । भोजपुरका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग बाणिज्य संघ भोजपुरले संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री सुदन किराँतीलाई बिभिन्न नौ बुँदे अवधारणा पत्र बुझाएको छ ।

संघका जिल्ला अध्यक्ष कर्ण मोक्तानले मन्त्री किराँतीलाई भोजपुर जिल्लाको संस्कृति, पर्यटन प्रवर्धन र बिकासका लागि नौ बुँदे अवधारणा पत्र बुझाउनु भएको हो । आफुहरुले बुझाएको अवधारणा पत्रले जिल्लाको बिकासमा टेवा पुग्ने अध्यक्ष मोक्तानको भनाई रहेको छ । संघले मन्त्री किराँतीसँग राखेको मागहरुमा सदरमुकाममा रहेको सप्तधाराको जिर्णोदार तथा निर्माण, कैलाश डाँडामा बुद्ध पार्क निर्माण, सिद्धकाली मन्दिरको महादेव गुफा देखि टक्सार निस्कने गुफामार्ग अन्वेषण गरी संचालन गर्नु पर्ने, मुन्दुम ट्रेल पर्यटनमैत्री सुचना तथा घरवास ब्यवस्थापन रहेको छ ।

यस्तै अध्यक्ष मोक्तानले बुझाउनु भएको अन्य मागहरुमा जिल्लामा रहेका धार्मिक तथा पर्यटकिय स्थानहरुको पहिचान तथा अभिलेखीकरण गरी पर्यटन क्षेत्र घोषणा गर्नु पर्ने, टक्सारमा बनेको पर्यटन सुचना केन्द्र संचालन हुनु पर्ने, कृषि, जडीबुटी, पशुपालन र फलफूल उत्पादनलाई आधार मानेर पकेट क्षेत्र घोषणा गर्नु पर्ने, बिभिन्न जातजातिका संस्कृति, भेषभुषा, खानपानलाई संरक्षण तथा प्रवर्धन गरी आन्तरिक तथा बाह्रय पर्यटनसँग जोडने, जिल्लामा उत्पादित समाग्रीहरुको बजारीकरणका लागि पिखुजा करिडोर हुदै सुनसरीको चतरा जोडने सडकको निर्माण गर्ने, उद्योगी ब्यवसायीहरुलाई व्यवसायीक कर्जामा ५ प्रतिशत गर्ने नीतिगत ब्यवस्था गरिनु पर्नेलगायतका रहेका छन ।

सोक्रममा उद्योगी ब्यवसायीहरुले राखेका मागका बिषयमा बोल्दै मन्त्री किराँतीले आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको पनि बताउनुभयो । नेपालीपनको पर्यटन नेपालमा हुनुपर्छ,’ मन्त्री किराँतीले भन्नुभयो, “अरु देशको फोटोकपी गर्नु हुँदैन, प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ ।” यसका लागि सवै पक्ष मिलेर अगाडी बढ्न जरुरी छ ।

“गृह जिल्ला भोजपुर आउनु भएको समयमा जिल्लाका उद्योगी ब्यवसायीहरुले राखेका मागका बिषयमा अन्तरक्रिया समेत गरेर संस्कृति मन्त्रीलाई अवधारणा पत्र बुझाएका छौ, यसको कार्यान्वयनले जिल्लाको बिकासमा समेत टेवा पुग्ने बिश्वास हामीले लिएका छौ ।” उद्योग बाणिज्य संघका अध्यक्ष मोक्तानले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?