पश्चिम नवलपरासीमा पहिलो औद्योगिक ग्राम बन्दै

Read Time = 5 mins

नवलपरासी । सांसद विनोद चौधरीको सक्रियतामा पश्चिम नवलपरासीमा पहिलो औद्योगिक ग्राम निर्माण कार्य अघि बढेको छ । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले बर्दघाट नगरपालिकाले खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा पुगेको छ । बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सांसद चौधरीको पहलमा नगरपालिकासँगको सहकार्यमा प्राविधिक टोलीले निर्माण स्थलमा पुगेर आवश्यक सहजीकरण गर्ने काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राविधिक टोलीले अहिले यसअघि तयार गरिएको डिपिआरलाई थप व्यवस्थित गर्नुका साथै आवश्यकताअनुसार परिष्कृत गर्ने काम भइरहेको छ ।’

प्राविधिक टोलीका संयोजक एवं मेकानिकल इञ्जिनियर एमएस ज्ञवालीका अनुसार औद्योगिक ग्राममा उद्योगग्रामस्थल र आवासस्थल आवश्यक पर्ने भएकाले डिपिआर गरी नगरपालिका अघि बढ्नुपर्छ । त्यसैगरी लगानीकर्ताको अवस्थावारे सम्भाव्यता अध्ययनपछि सानादेखि ठूला उद्योगसम्म स्थापना गर्न मिल्ने गरी परियोजना अघि बढाउनुपर्ने उहाँको सुझाव छ ।

डिपिआरअनुसार औद्योगिक ग्राम पूर्वाधार निर्माणका लागि ३१ करोड ५७ लाख ८४ हजार एक सय ४६ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये प्रशासनिक ब्लकमा पाँच करोड ८० लाख ३४ हजार तीन सय ८० रुपैयाँ, क्यान्टिनका लागि ५८ लाख ९० हजार छ सय चार रुपैयाँ, सुरक्षागार्ड भवन १४ लाख ६८ हजार चार सय ६२, प्रहरी क्वाटर ३१ लाख ४६ हजार दुई सय २२, डेकेयर सेन्टर ४३ लाख ४८ हजार आठ सय ६७ रुपैयाँ खर्च हुने डिपिआरमा उल्लेख छ ।

त्यस्तै, गन्जेबोमा दुई लाख ४७ हजार आठ सय २६, चारवटा शौचालयका लागि १६ लाख ७२ हजार तीन सय ८३, गार्ड पोष्टमा एक लाख ४५ हजार चार सय ९१, प्रवेशद्वार छ लाख २९ हजार नौ सय ४९, बाउण्ड्रीवाल तीन करोड ७३ लाख ९१ हजार दुई सय ३३, सडक दुई करोड ३२ लाख ८१ हजार दुई सय ४० खर्च हुनेछ । खोला तटबन्धका लागि चार करोड १२ लाख ६३ हजार छ सय ९९, सौन्दर्यीकरणमा १५ लाख १० हजार सात सय ६३, ढल दुई करोड ३० लाख ४३ हजार २३, बाहिरी सरसफाइ, प्लम्बिङ, पानी आपूर्तिमा एक करोड ३१ लाख ५२ हजार ३५, विद्युतीकरणमा एक करोड ३५ लाख ७२ हजार एक सय ७५ र ओभरहेड पानीट्यांकीमा ४९ लाख २९ हजार एक सय १६ रुपैयाँ खर्च हुने बताइएको छ ।

डिपिआरअनुसार कार्य गर्नका लागि बजेटको व्यवस्थापन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले सबै संरचनाको निर्माणपछि प्रत्येक वर्ष सो औद्योगिक ग्राममा कृषक, उद्यमी, महिला तथा अन्य उद्योगका लागि उद्योग वाणिज्य संघसँग समन्वय गरी उद्योगको स्थापना गर्न प्रोत्साहन गरिने जनाएको छ । ५० वर्षमा सो औद्योगिक ग्राममा एक खर्बभन्दा बढी लगानी भित्र्याउने लक्ष्यसमेत रहेको छ । दीर्घकालीन योजनाअनुसार औद्योगिक ग्राम निर्माण अघि बढेको नगरपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?