ग्रहका रत्न एवं औँठी धारण विचार

Read Time = 15 mins

✍️ डा.नारायणप्रसाद निरौला

आकाशमा परिभ्रमण गर्ने सूर्यादि ग्रहको नकारात्मक एवं सकारात्मक दुवै प्रकारको प्रभाव पृथ्वीवासीलाई रहने गर्दछ । ग्रहजन्य दोष रहनु भनेको शरीरमा उक्तग्रहले प्रतिनिधित्व गर्ने तत्वको कमी हुनु हो । जसरी हाम्रो इम्युन शक्ति कम हुँदा कोरोनाले आक्रमण गर्दछ त्यसैगरी ग्रहजन्य तत्विक पक्षको कमी रहँदा ग्रहजन्य दोष देखिने गर्दछ कार्यमा बाधा व्यवधान आदि पर्ने गर्दछ । ग्रहजन्य दोष निवारणको पाटो आध्यात्मिक हो । आजको भौतिक विज्ञानभन्दा पनि आध्यात्मिक उपचारका रूपमा ग्रहजन्य दोष निवारणका उपाय शास्त्रमा बताइएका छन् । सूर्यमा मूल आत्मिक शक्ति हुन्छ, चन्द्रमाले मानसिक शक्ति एवं जलीय वृत्तिको प्रतिनिधित्व गर्दछन् ।

मंगलले अग्नि एवं रक्तसम्बन्धी तत्वको प्रतिनिधित्व गर्दछन् भने बुधले मज्जा (मासी)सम्बन्धी विषवस्तुको प्रतिनिधित्व गर्दछन् । बृहस्पतिले शरीरको कफ (शरीरमा रहने चिप्लो सेतो पदार्थ) को प्रतिनिधित्व गर्दछन् भने शुक्रले वीर्यसम्बन्धी क्षेत्रलाई प्रतिबिम्बित गर्दछन् । यसैगरी शनिले शरीमा रहने वात (वायु)को प्रतिनिधित्व गर्दछन् भनी ‘बृहज्जातकम्’ मा उल्लेख गरिएको छ । हाम्रो शरीरमा पृथ्वी, जल, तेज (अग्नि), वायु (हावा) र आकाश तत्व विद्यमान छन् । यी तत्वको उचित समन्वयबाट शारीरिक प्रक्रिया चल्ने गर्दछ । सूर्यले तेज (अग्नि) वृत्तिलाई प्रतिनिधित्व गरेका हुन्छन् ।

राशिअनुसारका औँठी धारण गर्ने भन्दै गलत प्रचारका साथ कतिपय व्यक्तिले पत्थर एवं धातुको बिक्री गरिरहेका छन् । सामान्य पसलमा राशिको औँठी किनेर अथवा औँठी बनाउने ठाउँमा राशिअनुसार औँठी भनी जस्तासुकै रत्नजडित औँठी धारण गर्दा त्यसको प्रभाव नकारात्मक पनि हुन सक्छ ।

हाम्रो शरीरमा ताप हुन्छ यसको न्यून र अधिक दुवै हानिकारक रहन्छ । ज्वरो आउनु ताप बढ्नु हो । यसैगरी चन्द्रमा जलकारक ग्रह हुन् । शरीरमा जलको अवस्था चन्द्रमाको अवस्थितिबाट ज्ञान गर्नुपर्ने शास्त्रीय विधान छ । यसैगरी बुधमा पृथ्वीतत्व विद्यमान हुन्छ । हरेक ग्रहले प्रतिनिधित्व गर्ने सूक्ष्मतत्वको विश्लेषण ज्योतिषशास्त्रमा गरिएको छ । जुन तत्व वा पक्षको कमी रहन्छ उक्त पक्षलाई सबलीकरण गर्ने आध्यात्मिक उपचारका धेरै उपायमध्येको एक औँठी वा रत्नधारण पनि हो ।

ज्योतिषशास्त्रअनुसार ग्रहशान्त्यार्थ औँठी धारण गर्ने विधान शास्त्रमा गरिएको छ । औँठी दुई प्रयोजनका निम्त्ति धारण गर्न सकिन्छ : ग्रहशान्त्यार्थ र सौन्दर्यप्रवद्र्धनार्थ । ग्रहशान्त्यार्थ धारण गरिने औँठी एवं रत्नको विशेष व्यवस्था शास्त्रमा गरिएको छ । सबैले औँठी एवं रत्न नै धारण गर्नुपर्छ भन्ने अनिवार्य रहँदैन । स्नान, दान, जप, हवन, ध्यान, पाठ, आराधना, व्यायाम, आचरण, धारण आदिथुप्रै प्रकारले ग्रशहान्ति गर्न सकिन्छ । यी मध्येको एक विकल्पमात्र रत्न एवं औँठी धारणको हो ।

राशिअनुसारका औँठी धारण गर्ने भन्दै गलत प्रचारका साथ कतिपय व्यक्तिले पत्थर एवं धातुको बिक्री गरिरहेका पनि छन् । सामान्य पसलमा राशिको औँठी किनेर अथवा औँठी बनाउने ठाउँमा राशिअनुसार औँठी भनी जस्तासुकै रत्न जडित औँठी धारण गर्दा त्यसको प्रभाव नकारात्मक पनि हुन सक्छ । राशिअनुसारको मात्र भनेर ग्रहजन्य औँठी एवं रत्न धारण गर्नु हुँदैन । विषय विज्ञको सल्लाहविना धारण गरिएको औँठीले उचित फल नदिन सक्छन् । ग्रहका औँठी एवं रत्न धारणका आ–आफ्नै नियम छन् । राशिअनुसार भन्दा पनि जन्मकुण्डलीका आधारमा ग्रहको अवस्थिति एवं प्रभावको सूक्ष्म विश्लेषण गरेर विधिपूर्वक मात्र रत्न एवं औँठी धारण गर्नुपर्दछ । सामान्य सौन्दर्यका दृष्टिले मात्र धारण गरिएका औँठी एवं रत्नले विशेष फल दिदैनन् ।

सर्वप्रथमतः आकाशीय ग्रहस्थितिको तथ्याङ्कन गर्नुपर्दछ । तद् ग्रहस्थिति अनुसार व्यक्तिमा पर्ने प्रभावको विश्लेषण गरेर कसलाई कुन वस्तु वा धातुको औँठी उपयुक्त हुन्छ ? कति परिमाणको ? कुन दिन ? कसरी धारण गर्ने आदि यावत् विषयवस्तुको निक्र्यौल गर्नुपर्दछ । ग्रहशान्तिको सजिलो माध्यम रत्नधारण एवं औँठीलाई लिइए पनि हरेक वस्तु धारणका आआफ्ना नियम रहने गर्दछन् । वस्तु धारण गरेपछि अभीष्ट फल प्राप्तिका निम्ति अन्य आचरणमा पनि रहन सक्नुपर्दछ । जस्तो कि ग्रहशानन्त्यार्थ रत्न धारण गरिसकेपछि हिंसाका कार्यमा संलग्न हुनु हुँदैन । जुन देवताको आहृवान गरिएको हो उक्त देवताको नियमबद्ध भई आराधना गर्नुपर्दछ । सत् व्रतको पालना गर्नुपर्दछ । अन्यथा उक्त प्रभावमा कमी रहने गर्दछ ।

सबैलाई रत्न एवं औँठी नै धारण गर्नुपर्छ भन्ने पनि हुँदैन । ग्रहजन्य प्रभाव, व्यक्तिको अवस्था, आवश्यक फलप्राप्ति आदि विषयवस्तुको आधारमा रत्नधारणको निर्णय हुने गर्दछ । ग्रहबाट थुप्रै प्रकारका किरणहरू अइरहेका हुन्छन् । तिनीहरूको प्रभाव व्यक्तिअनुसार भिन्न भिन्न तरिकाले परिरहेको हुन्छ । ग्रहको किरण एवं चुम्बकीय शक्तिले पनि प्रभाव पारिरहेको हुन्छ । ती नकारात्मक र सकारात्मक दुवै खालका हुन्छन् । नकारात्मक प्रभावबाट बँच्नका निम्ति ग्रहका रत्न एवं औँठी धारण गरिन्छ । सूर्यजन्य नकारात्मक प्रभावबाट बँच्न माणिक्य धारण गर्नुपर्छ । यसैगरी चन्द्रमा र सोबाट पर्ने सक्ने असरका आधरामा चन्द्रजन्य धातु वा वस्तु अर्थात् मोतीको औँठी धारण गर्नु उपयुक्त हुन्छ । यसैगरी मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि, राहु केतुका भिन्नाभिन्नै रत्नहरू शास्त्रमा बताइएका छन् :
‘माणिक्यमुक्ताफलविद्रुमाणि गारात्मकं पुष्पकवज्रनीलम् ।
गोमेदवैदूर्यकमर्कतः स्यू रत्नान्यथो ज्ञस्य मुदे सुवर्णम् ।।’ (मुहूत्र्तचिन्तामणि, गोचरप्रकरण, १०)
अर्थात् सम्बन्धित ग्रहको अनिष्टबाट शान्तिका निम्ति प्रत्येक ग्रहका भिन्नाभिन्नै रत्नजडित औँठी धारण गर्न सकिन्छ । सूर्यको प्रसन्नताका निम्ति माणिक्य, चन्द्रमाका निम्ति मोती, मंगलका लागि मुगा, बुधका लागि पन्ना, बृहस्पतिका लागि पुष्पराज, शुक्रका लागि हीरा, शनिका लागि नीलम, राहुका लागि गोमेद र केतुका लागि वैदुर्यमणि धारण गर्नुपर्दछ । बुधको प्रसन्नताका निम्ति सुन धारण गर्न सकिन्छ । यसैगरी रत्नसँग लगाइने धातुको पनि व्यवस्था शास्त्रमा गरिएको छ । कतिपय अवस्थामा धातुको औँठी धारणले मात्र पनि सकारात्मक प्रभाव रहने गर्दछ ।
‘धार्यं लाजावत्र्तकं राहुकेत्वो रौप्यं शुक्रेन्द्वोश्च मुक्ता गुरोस्तु ।
लौहं मन्दस्यारभान्वोः प्रवालं तारा जन्मक्र्षात्त्रिरावृत्तितः स्यात् ।।’ (मुहूत्र्तचिन्तामणि, गोचरप्रकरण, ११)
अर्थात् राहु र केतुको प्रशन्नताका निम्ति लाजावर्त (नीलो रंगको नरम पत्थर), शुक्र र चन्द्रमाको प्रसन्नताका लागि चाँदी, बृहस्पतिको प्रसन्नताका लागि मोती, शनिको तुष्टिका निम्ति फलाम, सूर्य र मंगल प्रसन्नताका निम्त मुगा धारण गर्न सकिन्छ ।

प्रत्येक ग्रहअनुसार, रत्नअनुसार, रत्नको प्रकृति अनुसार परिमाणको निर्धारण हुने गर्दछ । रत्न र रत्न राख्ने धातु दुवैको उचित मिलान पनि ग्रहशान्त्यार्थ रत्नधारणमा महत्वपूर्ण रहने गर्दछ । यसरी निर्धारण गरिएका रत्न जुनसुकै धातुमा लगाइयो भने पनि त्यो अभीष्टफलभोग योग्य नहुनसक्छ ।

ग्रहशान्त्यार्थ रत्न धारण गर्नुपूर्व उक्त रत्नको परीक्षण गर्नुपर्दछ । परीक्षण गर्ने थुप्रै विधिहरू शास्त्रमा बताइएका छन् । रत्नअनुसार भिन्न भिन्न परीक्षण विधि हुने गर्दछन् । परीक्षणबाट सही भएको रत्नको औँठी उपयुक्त दिन जुराएर अभिमन्त्रणपूर्वक मात्र धारण गर्नुपर्दछ । रत्न एवं औँठी प्राण प्रतिष्ठापूर्व धारण गर्नुपर्ने शास्त्रीय विधान रहेको छ । प्राण प्रतिष्ठाविना लगाइएको औँठी वा रत्नको पूर्णप्रभाव नरहने हुनसक्छ । यसैगरी औँठी औँला विशेषमा मात्र धारण गर्नुपर्दछ । ग्रहअनुसार औँठी धारण गर्ने औँला पनि निर्धारण गरिएको छ । यसका साथै धारण गर्ने रत्नको तौलमा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ । धेरै परिमाणको लगाएर अधिक फल प्राप्त नहुन पनि सक्छ ।

प्रत्येक ग्रहअनुसार, रत्नअनुसार, रत्नको प्रकृति अनुसार परिमाणको निर्धारण हुने गर्दछ । रत्न र रत्न राख्ने धातु दुवैको उचित मिलान पनि ग्रहशान्त्यार्थ रत्नधारणमा महत्त्वपूर्ण रहने गर्दछ । यसरी निर्धारण गरिएका रत्न जुनसुकै धातुमा लगाइयो भने पनि त्यो अभीष्टफलभोग योग्य नहुनसक्छ । त्यसैले सुन, चाँदी, तामा, पञ्चरत्न आदि जुन धातुसँग रत्न लगाउनु भनी शास्त्रले निर्देश गरेको छ, सोही अनुसारका धातुमा प्रयोग गर्नुपर्दछ । अन्यथा जुन उद्देश्यका निम्ति रत्न धारण गरिएको हो सो पूर्ति नहुने पनि सम्भावना रहन्छ ।

जन्म समयानुसार ग्रहहरूको अवस्थिति भिन्न भिन्न हुन सक्छ । कसैलाई त्यही ग्रहले शुभ फल पनि दिइरहेका हुन्छन् त कसैलाई त्यसैले अशुभ पनि गरिरहेको हुन्छ । कसैलाई औँठी राम्रो देखिए पनि फापिरहेको हुँदैन । त्यसैले हरेक कोणबाट उपयुक्त ठहरिएका औँठी एवं रत्नमात्र धारण गर्नुपर्दछ । केवल राशिका आधारमा मात्र औँठी धारण गर्दा नकारात्म असर पर्न सक्ने सम्भावना अधिक रहन्छ । ग्रहहरूको साङ्गोपाङ्ग अध्ययन एवं विश्लेषण गरेर वर्तमान समयमा कुन रत्न धारण आवश्यक छ सो मात्र धारण गर्दा उपयुक्त हुन्छ । अन्यथा फल नकारात्मक पनि हुन सक्ने शास्त्रको निचोड पाइन्छ । यसैले विशेषज्ञको परामर्श पश्चात् मात्र रत्न एवं औँठी धारण गर्नु उपयुक्त हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?