सम्मानित व्यक्तिबाट आपत्तिजनक आक्षेप

माफी मागेर अभिव्यक्ति फिर्ता लिन माग

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । सभामुख देवराज घिमिरेले आम सञ्चार र सञ्चारकर्मीमाथि लगाएको ‘गम्भीर आरोप’को चौतर्फी विरोध भएको छ । मुलुकको व्यवस्थापिका प्रमुखजस्तो पदमा आसिन व्यक्तिले सञ्चार जगत् र सञ्चारकर्मीमाथि ‘निराधार’ आरोप लगाएको भन्दै विरोध र आलोचना भएको हो । सभामुखजस्तो गरिमामय र तटस्थ संवैधानिक कर्तव्य निर्वाह गर्नुपर्ने पदमा बसेर घिमिरेले तल्लो स्तरको अभिव्यक्ति दिएको भन्दै सरोकारवालाहरूले गम्भीर आपत्ति जनाएका छन् । सभामुख घिमिरेले शुक्रबार आपत्तिजनक आक्षेप लगाउँदै अमर्यादित टिप्पणी गर्नुभएको थियो । उहाँले ‘पत्रकारहरू बिक्रीमा रहेको’ गम्भीर आक्षेप लगाउनुभएको थियो ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गर्नुभएको थियो । ‘पत्रकारहरू जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो । पीतपत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ,’ उहाँले भन्नुभएको थियो, ‘जेजे कारणले भए पनि तिनीहरू प्रभावित छन् । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू ।’ सभामुख घिमिरेले आमरूपमा पदीय मर्यादाबाहिर गएर गैरजिम्मेवारी टिप्पणी गरेको सञ्चार सम्बद्ध संस्था र सञ्चारकर्मीहरूले टिप्पणी गरेका छन् । कुन पत्रकारले पीत पत्रकारिता गर्‍यो र को बिक्रीमा छ भन्ने उहाँले खुलाउनुभएको छैन । मुलुकको व्यवस्थापिका प्रमुखजस्तो व्यक्तिले गरेको गम्भीर टिप्पणी कि पुष्टि गर्नुपर्ने अन्यथा फिर्ता लिनुपर्ने सरोकारवालाहरूले माग गरेका छन् ।

सभामुखको अभिव्यक्ति आधारहीन र आपत्तिजनक : पत्रकार महासंघ
नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह गरेको छ । घिमिरेले दिएको अभिव्यक्तिले सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघको ठहर छ । सार्वभौम संसद्को मूल नेतृत्वको पदीय हैसियत र मर्यादाविपरीत भएको भन्दै महासंघले विज्ञप्तिमार्फत भनेको छ, ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद छ । आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुखसमक्ष आग्रह गर्दछ ।’ सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभए महासंघ कानुनी लगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने चेतावनी दिएको छ ।

सभामुख घिमिरेबाट अभिव्यक्त विचार निन्दनीय : प्रेस युनियन
नेपाल प्रेस युनियनले समग्र पत्रकारिता क्षेत्रलाई बद्नाम गर्ने गरी सभामुख घिमिरेबाट अभिव्यक्त विचार निन्दनीय रहेको प्रतिक्रिया दिएको छ । शनिबार विज्ञप्ति जारी गर्दै प्रेस युनियनले यस्ता अपरिपक्क र गैर जिम्मेवार अभिव्यक्ति नदिनसमेत आग्रह गरेको हो ।

‘अस्वस्थ प्रतिस्पर्धामा रहेका केही राजनीतिक दलका प्रमुखहरूले आफूअनुकूल समाचार नआउँदा पत्रकारिता क्षेत्रलाई नै बद्नाम गर्ने गरी अभिव्यक्ति दिँदै आएका छन्,’ महासचिव दिलीप पौडलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तटस्थ, निस्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा आसीन सभामुखबाट पत्रकारलाई नै साक्षी राखेर दिएको नेपालको स्वतन्त्र प्रेस विरुद्ध दिएको अभिव्यक्ति अपरिपक्क, अशोभनीय हो ।’

माफी मागेर अभिव्यक्ति फिर्ता गर्न प्रेस सेन्टरको माग
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले पत्रकार र सञ्चार क्षेत्रविरुद्ध सभामुखले दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न चेतावनी दिनुभएको छ । प्रेस सेन्टर नेपाल कास्कीको जिल्ला समन्वय समितिको साधारणसभामा बोल्दै अध्यक्ष सापकोटाले अभिव्यक्ति फिर्ता लिन आग्रह गर्नुभएको हो । प्रतिनिधिसभाका सभामुख घिमिरेको अभिव्यक्ति खेदजन्य रहेको उहाँको भनाइ छ । यस्ता खेदजनक अभिव्यक्तिप्रति आफूहरू चुप लागेर नबस्ने उहाँले चेतावनी दिनुभयो । ‘हाम्रा पनि केही सीमा र समस्या छन् । तर, यसो भन्दैमा सग्रग रूपमा सन्चार माध्यम र सञ्चारकढर्मीमाथि यसरी टिप्पणी गर्न पाइँदैन,’ उहाँले भन्नुभयो, ‘म फेरि पनि माफी मागी फिर्ता लिन माग गर्दछु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?