हिमालयन ट्राभल मार्टमा सहभागी हुन आहृवान

फाइल तस्बिर

Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी जुन ६ देखि ९ सम्म काठमाडौंमा हुने हिमालयन ट्राभल मार्टको चौथो संस्करणमा सहभागी हुन आउने अन्तर्राष्ट्रिय विशिष्ट पाहुना, नेपालस्थित विदेशी कूटनीतिक नियोगका राजदूत, अन्तर्राष्ट्रिय क्रेता, वक्ताहरू, पत्रकारलगायत पर्यटन सम्बद्ध विभिन्न संघसंस्था र निजी क्षेत्रका व्यवसायीका लागि स्वागत तथा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । नेपाललाई हिमालय प्रवेशद्वारका रूपमा पहिचान गराउँदै नेपालको पर्यटन प्रवद्र्धनका लागि कोशेढुंगा बन्दै गएको प्रतिष्ठित हिमालयन ट्राभल मार्टको चौथो संस्करण आयोजना हुन गइरहेकोमा खुसी व्यक्त गर्दै उहाँले नेपाललगायत हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मार्ट प्रमुख मञ्च भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले काठमाडौंमा हुने हिमालयन ट्राभल मार्टको चौथो संस्करणमा सहभागिताका लागि अन्तर्राष्ट्रिय विशिष्ट पाहुना, नेपालस्थित विदेशी कूटनीतिक नियोगका राजदूत, अन्तर्राष्ट्रिय क्रेता, वक्तालगायत पर्यटन सम्बद्ध विभिन्न संघसंस्थालाई आहृवान गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले देशमा आर्थिक वृद्धि र अनेकन् रोजगारीको अवसर सिर्जना गर्न प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले नेपाललाई ‘इमर्सिभ एण्ड ट्रान्सफरमेटिभ’ जीवन्त अनुभव प्रदान गर्ने एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उक्त लक्ष्य हासिल गर्न पूर्वाधार सुधार, सडक विमानस्थल र अन्य यातायात सुविधाको विकास र स्तरोन्नत्ति, आवश्यक नीति सुधार, उड्डयन क्षेत्रको सुदृढीकरण, निजी क्षेत्र र व्यवसायी समुदायलाई प्रोत्साहन र देशमा दिगो पर्यटन प्रवद्र्धनलगायतका थुप्रै प्राथमिकता पहिचान गरी सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, ‘हामी सबैलाई थाहा छ कि नेपाल साहसिक पर्यटन गन्तव्यका रूपमा व्यापकरूपमा चिनिएको छ र सोहीरूपमा उच्च बजारीकरणसमेत गरिएको छ । त्यतिमात्र नभई देशमा अतुलनीय सांस्कृतिक सम्पदा, कला र वास्तुकला, तीर्थस्थल, योग, आयुर्वेद, ध्यान, होलिस्टिक रिट्रिट्स र मौलिक आतिथ्यतालगायतका अनेकन् मूर्त तथा अमूर्त उत्पादन र सेवासमेतको अपार पर्यटन सम्भावना छन्, जुन वर्षभरि नै पर्यटकका लागि आकर्षण हुन सक्छन् ।'

प्रधानमन्त्रीले विश्वव्यापी महामारीको अवरोध अन्त्यपछि पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स र नेपालका अन्य पर्यटन सम्बद्ध संघसंस्थाको सहकार्य र अग्रणी पहलस्वरूप हिमालयन ट्राभल मार्ट आयोजनाले महामारीपछिको पर्यटन पुनरुत्थान, नेपालको पर्यटन क्षेत्रको बजारीकरण र प्रवद्र्धनका लागि नयाँ बेन्चमार्क स्थापित गर्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ । उहाँले मार्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनविद्ले साझा गर्ने विचार तथा अनुभवले पर्यटनजस्तो उच्च सम्भावित क्षेत्रको थप प्रवद्र्धन, विस्तार र विकासलाई सहयोग पुर्‍याउने बताउँदै मार्टमा सहभागी हुने सम्पूर्ण सरोकारवालालाई देशको दिगो तथा जिम्मेवारपूर्ण पर्यटन विकासमा एकताबद्ध भई सहकार्य गर्न आहृवानसमेत गर्नुभएको छ ।

पाटा नेपाल च्याप्टरले सेप्टेम्बर २०२२ देखि नै आगामी जेठ २३ देखि २६ गतेसम्म काठमाडौंमा हुने मार्टका लागि हालसम्म ३० देशका ५० भन्दा बढी क्रेता र २० बिक्रेताले नाम दर्ता गरिसकेको र नेपालका लागि प्रमुख एवं सम्भावित नयाँ अन्तर्राष्ट्रिय स्रोत बजारका कैयौँ टुर, ट्रेकिङ, पर्वतारोहणलगायतका अपरेटरबाट मार्टमा सहभागिताका लागि चासो दिएको पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?