समृद्धिका लागि सहकार्यमा जोड

Read Time = 3 mins

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशको समृद्धिका लागि सहकार्यमा जोड दिनुभएको छ । शुक्रबार खिचापोखरी न्युरोड व्यापार संघको आठौँ अधिवेशन तथा १५औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले सबैको हातेमालोबाट मात्रै समृद्धि सम्भव हुने बताउनुभएको हो ।

समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि राज्यको भूमिका बढी हुने भए पनि निजी क्षेत्रको सहयोगबिना सम्भव नहुने उहाँको भनाइ थियो । निजी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार लागिरहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले भने व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर नदेखिएका कारण व्यवसायी आत्महत्याको अवस्थामा पुगेको आरोप लगाउनुभयो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बैंक तथा वित्ती संस्थाविरुद्ध आफूहरू अहिले पनि आन्दोलनमा रहेको भन्दै राज्यले बैंकको ब्याजदर एकल बिन्दुमा कायम गर्नुपर्ने माग गर्नुभयो । राष्ट्र बैंक र अर्थ मन्त्रालयका व्यक्तिहरूले व्यवसायीका समस्यालाई बेवास्ता गर्दै आएको भन्दै उनले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले अर्थतन्त्र चलायमान बनाउने व्यवसायीलाई राज्यले महत्व नदिएको भन्दै माग सम्बोधन नभए थप कडा आन्दोलन गर्न बाध्य हुने बताउनुभयो ।

सो अवसरमा संघले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष नरेश कटुवाल, विउरत्न शाक्य, मोहनविच यादव र मनोजबाबु महर्जन रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?