‘ब्याजदर घटाउन सक्ने अवस्था छैन’

Read Time = 8 mins

रूपन्देही । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीबीच लोकप्रिय बन्न सस्ता र मिठा कुरा नगर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ । शुक्रबार सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको ६४औँ वार्षिक साधारणसभा तथा अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रको नेतृत्वमा रहेको व्यक्तिले व्यवसायीबीच लोकप्रिय बन्ने होडबाजीमा सस्ता मिठा कुरा नगरी जिम्मेवार भएर कुरा उठाउनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘हामी निजी क्षेत्रको नेतृत्वमा रहेका व्यक्तिहरूले सस्तो लोकप्रियताका लागि व्यवसायीमाझ गैरजिम्मेवार भई जथाभावी बोल्नुहँुदैन । पपुलर हुनकै लागि बैंकको ऋण र ब्याज तिर्दिन भन्ने कुरा गर्नुहुँदैन । बैंकमा भएको निक्षेप पनि जनताको हो । हामी व्यवसायीले यस्तो गैरजिम्मेवार कुरा बोल्नुहुँदैन ।’

उहाँले केही व्यवसायी साथीहरूले महासंघको निर्वाचनलाई लक्षित गरी पपुलर कुराहरू गर्ने गरेको बताउँदै नेतृत्वमा पुग्ने व्यक्ति जवाफदेही र जिम्मेवार पनि हुनुपर्ने बताउनुभयो । कोभिड महामारीका कारण मुलुकको मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले यसमा विस्तारै सुधार देखिन थालेको जानकारी गराउनुभयो ।

कोरोना महामारी र त्यसपछि नेपालमा मात्र नभई विश्व अर्थतन्त्रमै देखिएका कारण त्यसैको प्रभावस्वरूप नेपालको बैंकिङ क्षेत्रमा तरलता अभाव सुरु भएको र बैंकको कर्जाको ब्याजदर बढ्न गएको उहाँको भनाइ थियो । तर, पछिल्लो समय अर्थतन्त्रका केही इण्डिकेटर सकारात्मक हुन थालेकाले व्यवसायीले आत्तिने र हडबडाउने गर्न नहुने उहाँले बताउनुभयो । आर्थिक संकटको कारण देखाउँदै केही व्यवसायीले आत्महत्या गरेकोतर्फ इंगित गर्दै ढकालले व्यावसायिक यात्राका क्रममा धेरै सहज र असहज परिस्थिति आउने हुँदा चुनौती सामना गर्दै अघि बढ्न पनि ढकालले सुझाव दिनुभयो । उहाँले बैंकको ब्याजदरका विषयमा महासंघतर्फबाट आफूहरूले राज्यका विभिन्न निकायमा पटक–पटक कुरा उठाएको भन्दैै पछिल्लो समय राज्यले पनि केही विषय सम्बोधन गरेकाले वातावरण सहज बन्दै गएको दाबी गर्नुभयो ।

एउटा बैंकको सञ्चालक भएको नाताले आफू उपस्थित हुने धेरै कार्यक्रममा पटक–पटक बैंकको ब्याजदरको विषय उठाउने गरेको भन्दै उहाँले धेरै व्यवसायी साथीलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र बैंकको ब्याजदर परिवर्तन हुने भ्रम रहेको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘धेरै व्यवसायी साथीलाई कुनै एउटा बैंकको सञ्चालकले घटाइदिने हो भने ब्याजदर घट्न सक्छ भन्ने लागेको देखिन्छ । तर, म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंक वा बैंकको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा होइन । ब्याजदर निर्धारणमा आन्तरिक तथा बाहृय धेरै कुराको प्रभाव रहन्छ । त्यसै पनि निक्षेपको ब्याज बढ्दा अहिले बैंक तथा वित्तीय संस्थाको लागत पनि बढेको छ ।’

कालो मोसोविरुद्ध बैंक तथा वित्त कर्मचारी
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालो मोसो दलिएकोमा बैंक तथा वित्तीय क्षेत्रका २० हजार बढी कर्मचारीले विरोध जनाएका छन् । एनआइसी एसिया लघुवित्त जाजरकोट शाखा कार्यालयका कर्मचारीलाई नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले कालो मासो दलेपछि बैंक तथा वित्तीय क्षेत्रका ५१ वटा संस्थाका कर्मचारी विरोधमा उत्रिएका हुन् । नेपालका बैंक, बीमा, लघुवित्त, पुँजी बजार तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत २० भन्दा बढी कर्मचारी संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघले प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

पछिल्लो समय केही समूह तथा व्यक्तिहरूले बैंक, लघुवित्त तथा अन्य वित्तीय संस्थाका विषयमा आमजनमानसमा नकारात्मक सन्देश प्रवाह हुने खालका भ्रामक तथा गलत प्रचार-प्रसार गरिरहेको भन्दै संघले खेद प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘बंैक तथा वित्तीय क्षेत्रमा सेवा प्रदान गरिरहेका कर्मचारीलाई कालो मोसो दल्नुपर्ने एवं धम्कीपूर्ण अभिव्यक्तिसमेत विभिन्न प्रेस मिडियामार्फत् आइरहेको र वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि अभद्र व्यवहार तथा भौतिक आक्रमणसमेत भइरहेको सन्दर्भमा एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई कालो मोसो दलिएको घटनाप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

राज्यले अत्यावश्यक सेवाअन्तर्गत राखेको वित्तीय संस्थामा कार्यरत कर्मचारीमा वर्तमान परिप्रेक्ष्यमा त्रासपूर्ण वातावरण सिर्जना भइरहेको अवस्था रहेको भन्दै कानुनविपरीतको अराजक घटना समयमै रोकिनुपर्ने संघले माग राखेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विरोधका नाममा जबरजस्ती कानुन आफ्नो हातमा लिई हुने अराजक गतिविधि समयमै नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान केन्द्रित गर्दै यस्ता अराजक गतिविधि सञ्चालन गर्न प्रेरित गर्ने तथा सञ्चालन गर्ने समूह तथा व्यक्तिलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न तथा कर्मचारीलाई बिनात्रास सुरक्षित तवरले निर्वाधरूपमा कार्य गर्ने वातावरण सिर्जना गरियोस् भनी सम्बन्धित निकायसँग संघ जोडदार माग गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?