‘सशस्त्र संघर्ष’मा होमिएका नेताहरू एकै मञ्चमा

डिबी शर्मा
Read Time = 12 mins

काठमाडौं । १० वर्षे ‘सशस्त्र संघर्ष’मा होमिएका माओवादी नेताहरूले फेरि एक हुने बेला आएको बताएका छन् । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी माओवादी नेताहरूले फेरि एक हुने बेला आएको बताएका हुन् । पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट माओवादी आन्दोलनलाई अपराधीकरण गर्ने काम भइरहेको भन्दै उनीहरूले त्यसविरुद्ध एक भएर लड्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’सहित नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका नेताहरू सभागी कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले माओवादी आन्दोलनमाथि चौतर्फी प्रहार भइरहेकोमा आपत्ति जनाएका थिए । त्यसलाई चिर्न सबै माओवादीहरू एक ठाउँमा आउनुपर्ने उनीहरूको भनाइ थियो ।

लामो समयपछि माओवादी नेताहरू एउटै मञ्चमा देखिएका हुन् । तत्कालीन शसस्त्र संघर्षमा एकसाथ रहेका उनीहरू माओवादी शान्ति प्रक्रियामा आएसँगै विभिन्न चिरामा विभाजित छन् । २०६९ सालदेखि मूलरूपमा सशस्त्र संघर्ष गरेको माओवादी विभाजनको क्रम सुरु भएको थियो । त्यसपछि भने माओवादी आन्दोलनबाट आएका नेताहरू झण्डै दर्जन समूहमा विभाजित भएका छन् । २०६९ सालमा मोहन वैद्य, रामबहादुर थापा बादल, विप्लवलगायत नेताहरूको ठूलो समूहले माओवादीबाट विभाजित भई नेकपा-माओवादी गठन गरेका थिए । बादल-किरण बाहिरिएको केही समयपछि डा. बाबुराम भट्टराई पनि माओवादीबाट अलग हुनुभयो । नेकपा-माओवादी पनि लामो समय टिकेन । ‘बुढाहरूबाट क्रान्ति नहुने’ भन्दै विप्लव बाहिरिनुभयो र नयाँ पार्टी बनाउनुभयो । किरणको पार्टी पनि सिंगो रहेन । बादल सहितका केही नेता माओवादीमै फर्के भने किरणको पार्टी अहिलेसम्म पनि अस्तित्वमा छ । विप्लवको पार्टी पनि विभाजनको शिकार बन्यो । माओवादीमा फर्केका बादलहरू अहिले एमालेमा छन् । माओवादी आन्दोलनको टुट, फुट र विभाजनको शृंखला अझै पनि जारी नै छ ।

सबै माओवादीहरू एकैठाउँ केन्द्रित हुने समय आएको छ : प्रचण्ड
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आहृवान गर्नुभएको छ । विभिन्न समूहमा विभाजित माओवादी आन्दोलनका शीर्ष नेताहरूका अगाडि अध्यक्ष प्रचण्डले विभाजित सबै माओवादीहरू एकैठाउँ केन्द्रित हुने समय आएको बताउनुभएको हो । प्रचण्डले विभिन्न भंगालामा विभाजित सबै माओवादीहरू एकताबद्ध हुँदा फेरि सागर बन्ने बताउनुभयो । एकताका लागि सबैसँग कुरा गरिरहेको भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको उहाँको भनाइ थियो । ‘हामी माओवादीहरू सबै एकै ठाउँमा केन्द्रित हुने समय आएको छ । एकताबद्ध हुने समय आएको छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले अपिल गर्दै आएको छु । ठूलो प्रवाहको रूपमा अगाडि बढेका माओवादी आन्दोलन शान्ति प्रक्रियापछि विभिन्न भंगालातिर विभाजित भयो । अब फेरि ती सबै भंगालाहरू एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो ।’ विभाजित सबैले आ-आफ्नो अनुभव समेटेको भन्दै तिनलाई आफ्नै अनुभवको रूपमा लिएर एकताबद्ध हुनुपर्ने उहाँले बताउनुभयो । ‘हामी सबैले सबैका अनुभवलाई हासिल गर्‍यौँ बाबुरामजी, विप्लवजी र किरणजीहरूले हासिल गरेका अनुभवहरू, धर्मेन्द्रजीले हासिल गर्दै हुनुहुन्छ । यी सबैलाई हाम्रा अनुभव भनौँ,’ उहाँले भन्नुभयो, ‘त्यसमा भएका तीतामिठा, राम्रा, नराम्रा सबै हाम्रै हुन् भनेर हामीले आत्मसात गर्न सकेको दिन हामी यति बलियो हुन्छौँ । यति शक्तिशाली हुन्छौँ कि हामीलाई कसैले पनि कमजोर सावित गर्नसक्ने छैन । अब फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भनेर महसुस गर्‍यौँ भने हाम्रो एकतालाई कसैले रोक्न सक्दैन ।’ जनयुद्धको कमाण्डरको हैसियतमा आफू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न दबाब र घेराबन्दीविरुद्ध लडिरहेको प्रचण्डले बताउनुभयो । आफूजस्तै किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरू पनि विभिन्न घेराबन्दीविरुद्ध लडिरहेको उहाँले बताउनुभयो । अब सबै मिलेर लड्नुपर्ने उहाँको भनाइ छ ।

माओवादीलाई जिस्क्याउने काम भइरहेको छ, मिलेर आवाज उठाउनुपर्छ : भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीलाई जिस्क्याएको टिप्पणी गर्नुभएको छ । माओवादी अध्यक्ष प्रचण्डको तीन वर्षअघिको सामान्य भनाइलाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताउनुभयो । अहिले चौतर्फी आक्रमण भइरहेको छ । माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ,’ उहाँले भन्नुभयो, ‘बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? जिस्केको होइन ? यस्ता कुरामा सहकार्य गर्न सक्छौँ नि । हामी सबै मिलेर किन आवाज निकाल्दैनौँ ? किन सडकमा निस्किन सक्दैनौँ ?’

माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको भन्दै यसविरुद्धमा सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक रहेको उहाँको भनाइ थियो । ‘हामीले एकैपटक पार्टी एकता मात्रै भनेर गलो मिलाउनुभन्दा पहिला निमर्मतापूर्वक कसले के गल्ती गरेको छ छलफल गरौँ । त्यसपछि मिल्न सक्नेहरू एक ठाउँमा आऊँ, एउटा पार्टी बनाऔँ,’ उहाँले भन्नुभयो, ‘पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ ।’ विभाजित माओवादीहरू अब मिलेर जानुपर्ने बेला आएको उहाँको भनाइ छ ।

माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहोरिन्छ : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी आन्दोलनलाई अपराधीकरण नगर्न चेतावनी दिनुभएको छ । माओवादीलाई अपराधी बनाउने कुरा आफूहरूलाई स्वीकार्य नहुने उहाँले चेतावनी दिनुभयो । माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाउने तागत आफूसँग रहेको उहाँको चेतावनी थियो । माओवादीलाई अपराधी बनाए इतिहास दोहर्‍याउनेसमेत उहाँले चेतावनी दिनुभयो । ‘आज सारा माओवादीले बिगार्‍यो, भत्कायो, अपराधीहरू, लुटेराहरू, भाषणैपिच्छे भन्नेहरू छन् । अपराधी को हो ? दुई सर्य वर्षसम्म जनता चुसेर अर्बौं सम्पत्ति थुपार्ने सामन्तहरू अपराधी हुन् । हामी अपराधी होइनौँ । अपराधी बनाएर व्याख्या गर्न खोजिए सह्य हुँदैन,’ उहाँले भन्नुभयो, ‘माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ । लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन । माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ । दोह¥याउन सकिन्छ, हेक्का राखौँ । हामी एक भएर उठ्यौँ भने २०६० सालको माओवादी ब्युँताउन सकिन्छ ।’
अधुरो क्रान्ति सम्पन्न गर्न सबै कम्युनिष्ट शक्तिहरू मिल्नुपर्छ : बास्तोला
नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले देशमा अधुरो क्रान्ति सम्पन्न गर्न सबै कम्युनिष्ट शक्तिहरू मिल्नुपर्ने बताउनुभएको छ । वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीहरू एकजुट हुनुपर्ने उहाँको भनाइ छ । ‘हामी सबै माओवादीहरू एक ठाउँमा हुन जरुरी छ । तर, के को निम्ति ? जानको निम्ति, नेपालमा अधुरो रहेका शहीदका सपनाहरू पूरा गर्नको निम्ति, अधुरो क्रान्ति सम्पन्न गर्ने कुरा हो,’ उहाँले भन्नुभयो, ‘अहिले फेरि ०५२ सालको जस्तो पनि सम्भव छैन । नयाँ तरिकाले गर्नुपर्ने छ । नयाँ तरिकाले हामी अगाडि बढ्नुपर्ने छ । त्यसको निम्ति हामी सबै एकठाउँमा आऊँ । नेपालमा क्रान्ति कसैले रोक्न सक्दैन ।’ नेपालमा जसले जति नारा लगाए पनि राजतन्त्र नफर्किने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?