महासंघको निर्वाचनका लागि देश दौडाहामा उद्यमी व्यवसायी

Read Time = 4 mins

काठमाडौं । यतिबेला नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले उद्यमी व्यवसायीका गतिविधि तीव्र भएका छन् । आगामी चैत २८ र २९ गते हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचनका लागि पदाधिकारीको उम्मेदवारी दिने तयारीमा रहेका उद्यमी व्यवसायी अहिले देश दौडाहामा छन् । हालसम्म दुई प्रदेशको नेतृत्व चयन भइसकेको छ भने पाँचवटा प्रदेशमा प्रदेशस्तरीय नेतृत्वको निर्वाचन हुन बाँकी छ । प्रदेश निर्वाचनबाटै आफ्नो पकड स्थापित गर्ने गरी केन्द्रीय पदाधिकारीका आकांक्षी सक्रिय भएर लागेका छन् ।

महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुनेछन् । विधानबमोजिम वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासंघको आगामी कार्यसमितिको अध्यक्ष हुनुहुनेछ । त्यसैले यो निर्वाचनले महासंघको वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्षमा आउने नेतृत्व चयनका हिसाबले बढी महत्व राख्छ ।

यसपटक वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने गरी व्यवसायी उमेशलाल श्रेष्ठ, रामचन्द्र सांघाई र अञ्जन श्रेष्ठले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिनुभएको छ । उमेशलाल श्रेष्ठ यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा पराजित हुनुभएको थियो । रामचन्द्र संघाई एसोसिएट समूहबाट र अञ्जन श्रेष्ठ वस्तुगततर्पmबाट वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्छ ।

प्रदेश अध्यक्षमा बागमती प्रदेशमा व्यवसायी दिलसुन्दर श्रेष्ठ र मधेश प्रदेशमा अशोक टेमानी निर्विरोध निर्वाचित हुनुभएको छ । सुदूरपश्चिम प्रदेशमा चैत ११ गते निर्वाचन गर्ने तयारी छ भने बाँकी चार प्रदेशमा २५ गते निर्वाचन हुँदैछ ।

महासंघका महानिर्देशक गोकर्ण अवस्थीका अनुसार यसपटकको साधारणसभा तथा निर्वाचन कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउने गरी सचिवालयले आफ्ना गतिविधिलाई केन्द्रित गरिरहेको छ । महासंघले नेपाल बार एसोसिएसनका पूर्वमहासचिव लिलामणि पौडेलको संयोजकत्वमा निर्वाचन कमिटी पनि नियुक्त गरिसकेको छ ।

महासंघले उम्मेदवारी मनोनयनका लागि वरिष्ठ उपाध्यक्षका लागि पाँच लाख रुपैयाँ, उपाध्यक्षका लागि तीन लाख रुपैयाँ, कोषाध्यक्षका लागि दुई लाख र केन्द्रीय सदस्यका लागि ७५ हजार रुपैयाँ मनोनयन शुल्क निर्धारण गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष र दुई पूर्वअध्यक्षसहितको आठजनाको पदाधिकारी समूह रहन्छ । त्यस्तै, ११८ जिल्ला नगर उद्योग संघको प्रतिनिधित्व गर्दै १८ जना केन्द्रीय सदस्यले कार्यसमिति सदस्य पाउँछन् भने एसोसिएटतर्पm १९ केन्द्रीय सदस्य र वस्तुगततर्फ १२ केन्द्रीय सदस्य रहन्छन् । दुईदेशीय संघबाट एकजना र मनोनीत पाँचजना केन्द्रीय सदस्य रहने व्यवस्था छ । त्यस्तै, प्रत्येक प्रदेशस्तरबाट दुई-दुईजना गरी १४ जना केन्द्रीय सदस्य रहने प्रावधान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?