जीवनको उत्तराद्र्धमा सर्वोच्च पदमा

डिबी शर्मा
Read Time = 14 mins

काठमाडौं । रामचन्द्र पौडेल वि.स. २००१ साल असोज २९ गते तनहुँको व्यास नगरपालिका-८ (साबिक मिर्लुङ, बाहुनपोखरा)मा जन्मिनुभएको हो । मध्यमवर्गीय किसान परिवारमा जन्मिनुभएका पौडेलको स्थायी बसोबास व्यास नपा-८, बेलथुम्की, तनहुँमा छ । हाल उहाँ काठमाडौं महानगरपालिका-१६ बोहराटार, बालाजुमा बस्नुहुन्छ । आमा ऋषिमाया र पिता दुर्गाप्रसाद पौडेलबाट जन्मिनुभएका पौडेलका श्रीमती सविता पौडेल र पाँच सन्तान छन् । उहाँका चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा) र एक छोरा (चिन्तन पौडेल) हुनुहुन्छ ।

संस्कृत साहित्यमा शास्त्री (२०२४) र नेपाली साहित्यमा स्नातकोत्तर (२०२७) गर्नुभएका पौडेल २०१६ सालदेखि राजनीतिमा लाग्नुभएको थियो । २०१६ मा हिमालयन छात्र संघ स्थापना (पोखरामा) गर्नुभएका पौडेल २०१७ साल जेठ/असारमा पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दै गर्दा नेपाल संस्कृत छात्र संघको काठमाडौं अधिवेशनमा प्रतिनिधि हुनुभएको थियो । २०१७ पुस १ गते जननिर्वाचित संसद् भंगगरी प्रधानमन्त्री बिपी कोइरालालगायत नेतालाई जेलमा राखिएपछि उहाँ प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुभयो । नन्दीरात्रि माविबाट एसएलसी उत्तीर्ण गर्नुभएका पौडेल सोही विद्यालयमा विद्यार्थी संघको संस्थापक अध्यक्ष हुनुभयो । २०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको सचिव हुनुभयो । विद्यार्थी कालमै उहाँ गण्डकी छात्र संघको संस्थापक अध्यक्ष (२०२३), प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव (२०२४), नेपाल विद्यार्थी संघको संस्थापक (२०२७)समेत हुनुभयो ।

नेपाली कांग्रेसको राजनीतिमा भने उहाँ २०३४ सालदेखि संलग्न हुनुभएको हो । २०३४ सालमा नेपाली कांग्रेस तनहुँको सदस्य र २०३६ सालमा जिल्ला उपसभापति हुनुभयो । पौडेल कांगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख (२०४०), केन्द्रीय केन्द्रीय सदस्य (२०४३), केन्द्रीय महामन्त्री, (२०६२-२०६४), केन्द्रीय उपसभापति (२०६४-२०७२) र संसदीय दलको नेता (२०६४-२०७०)समेत हुनुभयो । २०७२ सालमा कांगे्रस केन्द्रीय कार्यवाहक सभापति हुनुभएका पौडेल हाल वरिष्ठ नेता हुनुहुन्थ्यो ।

१४ वर्ष जेलजीवन
लामो समय नेपाली राजनीतिमा सक्रिय पौडेल थुपै्रपटक जेलसमेत पर्नुभयो । उहाँ राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म पटक-पटक गरी १४ वर्षभन्दा बढी जेलजीवन बस्नुभयो । भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र संघर्षमा संलग्न भएको आरोपमा २०१८ मा काठमाडौंबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत बस्नुभएको थियो । त्यसपछि उहाँ पटक-पटक गिरफ्तार हुनुभयो । विद्यार्थी आन्दोलनका क्रममा एक वर्ष बन्दी (२०२१) हुनुभएको थियो । डिआइजी काण्डमा गिरफ्तार भई नक्खु जेलमा रहँदा पहिलोपटक गिरिजाबाबुसँग (२०२३) भेट भएको थियो । प्रजातान्त्रिक समाजवादी युवा संघको महासचिव भएको आरोपमा पोखरामा गिरफ्तार गरी करिब १५ महिना हिरासत (२०२४), प्रजातान्त्रिक समाजवादी युवा संघको संगठन विस्तारका लागि पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा पुनः एक वर्ष काठमाडौंमा जेलमा (२०२५/२०२६), नेपाल विद्यार्थी संघ स्थापनामा नेतृत्व गरेको आरोपमा काठमाडौंमा तीन महिना हिरासत, रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा (२०२८) मा गिरफ्तार गरी निरन्तर चार वर्ष (२०३२ सम्म) बन्दी बनाइएको थियो । त्यस्तै, कांग्रेसको पटना सम्मेलन (सन् १९७७) मा सक्रिय रहेको भनी २०३४ मा गिरफ्तार, १० महिना हिरासत, जनमत संग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहकै अवस्थामा २०३६ मा गिरफ्तार, ६ महिना हिरासत, पञ्चायती व्यवस्थाअन्र्तगत २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन कांग्रसेको निर्णयअनुसार बहिष्कार अभियानमा सक्रिय रहँदा पक्राउ र ६ महिना हिरासत रहनुभयो ।

प्रजातन्त्रको पुनःस्थापनाका लागि कांग्रेसले गरेको सत्याग्रह (२०४२) सफल बनाउन सक्रिय रहेको आरोपमा गिरफ्तार र नौ महिना हिरासत (२०४२), २०४६ सालको जनआन्दोलनमा कांग्रेसका विभिन्न विभाग तथा शाखाहरूबारे पत्रपत्रिकामा प्रकाशन गरी सार्वजनिक गरेको आरोपमा तीन महिना हिरासत (२०४५) बहुदलीय व्यवस्थाको पुनःस्थापनार्थ संगठन विस्तार र आन्दोलन तयारीको सिलसिलामा बागलुङ जेलमा पाँच महिना हिरासत (२०४६), शाही कदम (२०५९) पछि करिब एक वर्ष नजरबन्द र हिरासत (२०५९) दोस्रो जनआन्दोलन २०६२/२०६३ का दौरान पटक–पटक गिरफ्तार र गृहबन्दीमा समेत पर्नुभयो ।

सभामुखदेखि पटक-पटक मन्त्री
पौडल तनहुँबाट ६ पटक निर्वाचित हुनुभयो । सुरुमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित (२०४८) हुनुभएका पौडेल त्यसपछि क्षेत्र नम्बर २ बाट २०५१, ०५६, ०६४ र ०७० मा प्रतिनिधिसभा र संविधानसभा सदस्यमा निर्वाचित हुनुभयो । २०७४ सालको निर्वाचनमा पराजित हुनुभएका पौडेल पुनः क्षेत्र नम्बर १ बाट गत निर्वाचन (२०७९)मा निर्वाचित हुनुभयो । तनहुँबाट ६ पटक निर्वाचित हुनुभएका पौडेल थुप्रैपटक लाभको पदमा समेत पुग्नुभयो । उहाँ पहिलोपटक स्थानीय विकासमन्त्री नियुक्त (२०४८ जेठ १५ देखि २०५१) हुनुभएको थियो । त्यसका अलावा उहाँ कृषिमन्त्री (२०४९ साउनदेखि २०५१), उपप्रधान तथा सूचना/सञ्चारमन्त्री, स्थानीय विकासमन्त्री (२०५६), उपप्रधान तथा गृहमन्त्री (२०५६/२०५८), शान्ति समितिको संयोजक (२०६१/२०६२) र शान्ति तथा पुनर्निर्माण मन्त्री (२०६३/२०६४)समेत हुनुभयो । पौडेल २०५१ सालमा प्रतिनिधिसभाको सभामुखसमेत हुनुभएको थियो ।

नेपालका सबै जिल्ला भ्रमण
पौडेलले मानव अधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार, जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ को सम्मान (२०२० सन्)समेत पाउनुभएको थियो । उहाँका दर्जनौँ पुस्तकसमेत प्रकाशित छन् । नेपाली कांग्रेसको संक्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद एक अध्ययन (२०४७), नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, नेपाली कांग्रेस के भन्छ ?, आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५, नेपाली कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद, २०७५, कृषि क्रान्ति र समाजवाद, राजनीतिको राजमार्ग (२०७९), नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्रलगायत दर्जन बढी पुस्तक प्रकाशित छन् । नेपालका सबै जिल्ला पुग्नुभएका पौडेलले भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्विजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का लगायतका देशको भ्रमण गर्नुभएको छ ।

स्वच्छ छवि र सादा जीवन
समाजवादी चिन्तक र प्रयोगकर्ताका रूपमा चिनिनुहुने पौडेल स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी मानिनुहुन्छ । स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता पौडेल कांगे्रसभित्र समन्वयकारी, मध्यमार्गी नेताका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँले तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैँ मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह गर्नुभएको कांग्रेस नेताहरू बताउँछन् । द्वन्द्वरत माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गर्नुभएका पौडेल विस्तृत शान्ति सम्झौताका मस्यौदाकारसमेत हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीमा १७ पटक हार
२०६७ असारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि करिब सात महिनासम्म नयाँ सरकार गठन हुन सकेन । २०६७ साउन ५ गतेदेखि पुस २८ गतेसम्म भएको प्रधानमन्त्रीको निर्वाचन भइरह्यो । कांग्रेसबाट रामचन्द्र पौडेल, तत्कालीन एकीकृत माओवादीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेबाट झलनाथ खनाल प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्थ्यो । सात पटकसम्म यी तीन जनाबीच प्रतिस्पर्धा भयो । तर, संवैधानिक प्रावधानअनुसार मत संख्या कसैले पुर्‍याउन सकेनन् । आठौँ पटकको निर्वाचनमा प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिरिनुभयो । तत्कालीन एकीकृत माओवादीले खनाललाई सहयोग गर्‍योे । प्रधानमन्त्रीको प्रतिस्पर्धामा पौडेल र खनाल बाँकी हुनुहुन्थ्यो । त्यो बीचमा पौडेलले १६ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्नुभयो । त्यसपछि निर्वाचनसम्बन्धी नियमावली परिवर्तन गरिएको थियो । नियमावली परिवर्तन गरिएपछि भएको प्रधानमन्त्रीको निर्वाचनमा पौडेललाई हराउँदै २०६७ माघमा एमालेका खनाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।

२०४८ पछि पदीय हिसाबले उहाँलाई मन्त्रीदेखि उपप्रधानमन्त्री र सभामुख पदसम्म मिल्यो । तर, प्रधानमन्त्री र कांग्रेसको सभापति पद भने उहाँले चाहेर पनि पाउनुभएन । सरकार पार्टीको एक नम्बरमा पुग्न नसक्नुभएका पौडललाई जीवनको उत्तराद्र्धमा राज्यको मर्यादाक्रममा एक नम्बरको पद मिलेको छ । त्यो पदमा पुगेपछि मुलुककै अभिभावकत्व र संविधानको संरक्षकको जिम्मेवारी बहन गर्नुपर्छ । गणतान्त्रिक मुलुकको तेस्रो राष्ट्रपति पौडेललाई सफलताको शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?