नेपाललाई विश्वकै खेलकुद हब बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रूपमा विकास गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार काठमाडौंमा आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति संवाद, २०७९’ लाई सम्बोधन गर्दै उहाँले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु । खेलाडीलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयको छलफलमा सहभागी हुने गरेर मैले यस क्षेत्रलाई महत्व दिएको छु । खेल क्षेत्रमा नेपाललाई विश्वकै हब बनाउन सकिन्छ भन्ने ठानेर नै महत्व दिएको हुँ ।’

प्रधानमन्त्री दाहालले प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल एकाइ र खेलमैदान बनाउनुपर्नेमा जोड दिँदै खेल पूर्वाधारको निर्माणबाट मात्रै तल्लो तहदेखि नै खेलाडी उत्पादन र विकास गर्न सकिने बताउनुभयो । ‘पछिल्लो समय नेपालले खेलकुद प्रतियोगितामा जसरी सफलता हासिल गरेको छ, खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीको वृत्तिविकासमा ध्यान दिन सकेमा नेपालले खेल क्षेत्रमा ठूलो फड्को मार्नेछ । यसका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग हुनेछ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, बागमती प्रदेशका खेलकुदमन्त्री कुमारी मोक्तान, कोशी प्रदेशका खेलकुदमन्त्री बुद्धिकुमार राजभण्डारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पूर्वाधार विकासमा तीन तहका सरकारको स्पष्ट नीति र सहकार्यमा जोड दिनुभएको थियो ।

फरक प्रसंगमा प्रधानमन्त्री दाहालले संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यक्षेत्र तोकेअनुसार छिटोभन्दा छिटो स्तरीय ऐनलाई पूर्णता दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । संघीय निजामतीलगायत ऐन छिटो पारित गरेर संविधानको व्यवस्थित कार्यान्वयनमा जाने उहाँको भनाइ थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री दाहालले खेलकुद सामान्य क्षेत्र नभएको बताउनुभएको छ ।
‘खेल क्षेत्र राष्ट्रिय एकतालाई सुदृढ गर्ने क्षेत्र हो । सामाजिक अनुशासन र सद्भावलाई सुदृढ गर्ने क्षेत्र पनि हो । अन्तर्राष्ट्रिय भाइचारामार्फत् मानव जातिलाई नै एउटा हार्मोनीतर्फ लैजाने क्षेत्र पनि हो । खेलकुद सामान्य क्षेत्र होइन । अहिले आर्थिक, राजनीतिक, कूटनीतिकलगायत हरेक दृष्टिकोणले पनि खेल क्षेत्रको महत्व गुणात्मक ढंगले बढ्न गएको छ । मलाई यो कुराको गहिरो हेक्का छ । खेल क्षेत्रको राजनीतिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा के महत्व छ भन्ने कुरामा मलाई राम्रो हेक्का छ ।’

कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले खेलकुद पूर्वाधार बनाउने विषयमा स्पष्ट हुन जरुरी रहेको बताउदै कर्मचारी हस्तान्तरणको विषयमा पनि गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले खेलकुदमा देखिएको नीतिगत र प्रशासनिक समस्याको हल हुन आवश्यक रहेको बताउँदै बागमती प्रदेशले पूर्वाधारको समस्यालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधारलाई प्राथमिकता दिने बताउनुभयो ।

महानगरपालिका फोरमका अध्यक्षसमेत रहनुभएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राष्ट्रिय एकताका लागि, व्यक्तिगत स्वास्थ्यसँगसँगै सामाजिक स्वास्थ्यका लागि पनि खेलकुदलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
राखेपका सदस्य-सचिव टंकलाल घिसिङले उपयुक्त खेल पूर्वाधार भएको अवस्थामा थुप्रै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने बताउँदै खेलकुद पूर्वाधार निर्माणमा सबैको सहभागिता कसरी हुन सक्छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । ‘खेलकुद पूर्वाधार र खेलकुदको दायित्व सिंगो देशको हो । राज्यको हो । राज्यको हो भनेपछि त्यो नागरिकको पनि हो ।

खेलकुदको मूल उद्गमका रूपमा रहेको विद्यालयको पनि हो । विश्वविद्यालयहरूको पनि हो । यसका आंगिक क्याम्पसहरूको पनि हो,’ सदस्य-सचिव घिसिङले भन्नुभयो, ‘यतिमात्र होइन, आमनागरिकलाई स्वस्थ राख्न हजारौँ संख्यामा रोजगार दिन सक्ने औद्योगिक क्षेत्रले पनि किन खेलस्थल नबनाउने । निजी क्षेत्रको पनि दायित्व हो । तीनै तहका सरकारको समान दायित्व हो । खेलकुद पूर्वाधार बनाउनका लागि र खेलकुदको विकासको नीति तयार गर्न यो संवादले सही निष्कर्ष निकाल्ने विश्वास छ ।’
सदस्य-सचिव घिसिङले कार्यक्रमबाट आएको निचोडलाई सफल बनाउन सबैको महत्वपूर्ण र सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?