चार दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध, सदरमुकाममा दैनिक उपभोग्य खाद्यान्नको अभाव हुन थाल्यो

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । कुनै दिन दिनभर उडान भर्दै आएका जहाजले चारदिन यता हिमाली जिल्ला  हुम्लामा उडान भर्न छोडेका छन् । सडक सञ्जालसँग नजोडिएको हुम्लामा अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवा चार दिनदेखि अवरुद्ध भएको छ ।

नेपालगञ्ज, सुर्खेतबाट निजी तथा सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सले समेत उडान भर्न छोडेको हो । चारदिनसम्म हवाई सेवा सञ्चालनमा नआउँदा जिल्ला बाहिर जाने यात्रु सिमकोटमै अलपत्रमा रहेका छन् भने नेपालगञ्ज र सुर्खेतदेखि हुम्ला पुग्ने यात्रु समेत जिल्ला बाहिरै रोकिनु परेको छ ।

हुम्लामा उडान भर्दै आएका निजी एयर सिता, तारा र समिटले पूर्वमा उडान भर्दा यहाँका यात्रुलाई जिल्ला बाहिर जान समस्या बनाएको हो । पछिल्लो समय नाफामुली पूर्वका जिल्लामा उडान भर्दै आएका जहाजले चारदिन यता हुम्लामा उडान ठप्प गरेका हुन् ।

शुक्रबार र शनिवार मौसममा आएको खराबीका उडान हुन नसकेपनि हुम्ला उडान भर्दै आएका जहाजले यतिबेला पूर्वमा उडान भरिरहेका कारण उडान हुन नसकिरेहेको छ । हाल हुम्ला मात्र नभएर कर्णालीका हिमाली जिल्लामा उडान  भएकाे छैन । उडान नहुँदा दुवैतर्फका यात्रु मर्कामा परेका छन् ।

चार दिनयता दैनिक उपभोग्य सामान पनि ढुवानी हुन नसकेको पसल व्यवसायीले बताउने गरेका छन् । यहाँ प्रायः दैनिक उपभोग्य सामान नेपालगञ्ज हुँदै सदरमुकाम आउने गर्छ ।

उडान नभएपछि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी भएर आउने हरियो तकारी, कुखुराको मासु नआएपछि सिमकोटलगायत आसपासका क्षेत्रमा मासुको समेत अभाव देखिएको छ । यस्तै दैनिक उपभोग्यवस्तुको समेत अभाव हुन थालेको व्यवसायीले बताएका छन् ।

हवाई सेवा रोकिएकाले हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै निर्माण सामग्रीहरू नेपालगन्ज र सुर्खेतमै रोकिएका छन् ।

लगातारको हवाई सेवा बन्दले जिल्लाबाट नेपालगन्ज र सुर्खेत जाने र हुम्ला आउने यात्रुहरू अलपत्र परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?