म्याग्दीको कालीपुल बसपार्कमा अपाङ्गमैत्री टर्मिनल भवन निर्माण

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीको कालीपुल बसपार्कमा अपाङ्गमैत्री टर्मिनल भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङको रु दुई करोड ७५ लाखको लागतमा निर्माण गरिएको उक्त भवन बेनी नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ ।

बेनी नगरपालिका–८ कालीपुल बसपार्कलाई ब्यवस्थित रुपमा संचालनका लागि गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण गरिएको हो ।

देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन विसौनीको रुपमा प्रयोग हँुदै आएको कालीपुल वसपार्कमा यात्रुहरुलाई सहज सुविधाका लागि टर्मिनल भवन निर्माण गरिएको बेनी नगरपालिका मेयर सुरत केसीले बताउनुभयो ।

सघन सहरी तथा भवन आयोजना कार्यालय बागलुङले शुभ कन्स्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेअनुसार सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गर्न लागिएको आयोजनाकी इन्जिनियर विना साकटुले जानकारी दिनुभयो ।

‘सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतिक्षालयलगायतको सुविधा टर्मिनल भवनमा छ,’ उहाँले भन्नुभयो ।

आयोजनाले भवन हस्तान्तरण गरेर नगरपालिकाको स्वामित्वमा आएमा टिकट काउण्टरको रुपमा प्रयोग गरिने नगर प्रमुख सुरत केसीले बताउनुभयो । उहाँले टर्मिनल भवनमामात्र टिकट काउण्टर राख्न पाउने बताउनुभयो । आगामी दिनमा टर्मिनल भवनबाहेक अन्य सार्वजनिक क्षेत्रमा काउण्टर राख्न नगरपालिकाले नदिने नगरप्रमुख केसीको भनाइ थियो ।

‘भवनभित्र आवश्यक पूर्वाधार निर्माण नगरले गर्छ । सबै यातायात व्यवसायीको टिकट काउण्टर सञ्चालन भवनमा भएमा यात्रुलाई सहज हुन्छ,’ मेयर केसीले भन्नुभयो, ‘भवनमा काउण्टर राख्नका लागि यातायात व्यवसायीलाई आवेदनका लागि नगरले सूचना सार्वजनिक गरेको छ ।’

बेनीदेखि काठमाडौं, पोखरा, सुनौली, हिमालपारिको जिल्ला मुस्ताङ र देशको विभिन्न स्थानबाट आउने र जाने सवारीसाधनको पार्किङस्थल कालीपुल बसपार्क हो । यातायातको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना अव्यवस्थित संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित फराकिलो रूपमा सञ्चालन गर्न नगरपालिका लागिपरेको छ ।

बसपार्क निर्माण गर्ने २०७४ को सहरी विकास मन्त्रालयले २१ करोड लागत अनुमानमा बसपार्क गुरुयोजना बनाउने डीपीआर तयारी पारेको थियो ।

गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघ सरकारको सहकार्यमा बजेट विनियोजनबाट पूर्वाधार निर्माणले निरन्तरता पाएको छ । २०६४ सालमा पर्वत र म्याग्दी जोड्ने कालिगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सुरु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?