नैतिक र आध्यात्मिक शिक्षाबिना मान्छे अपूर्ण हुन्छ : भट्टराई

हिमालय टाइम्स
Read Time = 29 mins

संस्कारयुक्त शिक्षाकी अभियन्ता अञ्जु भट्टराई अक्षरा स्कुलकी प्राचार्य हुनुहुन्छ । विद्यार्थीलाई संस्कृत र अध्यात्म शिक्षा नपढाएसम्म उनीहरू पूर्ण हुन सक्दैनन् भन्ने मान्यता राख्नुहुने उहाँ एक दशकदेखि संस्कारयुक्त शिक्षामा काम गरिरहनुभएको छ । नैतिक र आध्यात्मिक शिक्षाबिना मान्छे अपूर्ण हुन्छ भन्नुहुने अञ्जु भट्टराईसँग हिमालय टाइम्सका लागि ठाकुर बेलवासेले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

संस्कारयुक्त शिक्षा भनेको के हो ?
नेपाली समाज, अभिभावक र सरकारी सरोकारवाला निकायले समेत अंकगणितका रूपमा मात्रै विद्यार्थीको तहगत अध्ययनको नतिजालाई हेर्ने गरेको छ । राम्रो अंकसहितको प्रमाणपत्रलाई जोड दिने काम नेपाली समाजले गरेको छ । एउटा विद्यार्थीले परीक्षा उत्तीर्ण गर्दा राम्रो अंक ल्याउनुपर्छ, यसमा दुईमत छैन । तर, राम्रो अंक ल्याएको विद्यार्थीको जीवन-व्यवहार कस्तो छ । उसको कौशल, सीप कस्तो छ । उसले मानिससँग कस्तो व्यवहार गर्छ । उसले आफ्ना मातापिता र समाजसँग कसरी व्यवहार गर्छ । टोल, समाज, बस्ती र देशलाई कसरी बुझ्दछ । मानिसलाई कसरी सम्मान गर्छ । उसमा परोपकारी भावना कस्तो छ । यी कुरालाई नेपाली समाजले ध्यान दिँदैन । राम्रो अंक ल्याएको विद्यार्थीको जीवनबाट यी कुराको खोजी हामीले गर्दैनौँ । यसैले त आजकलका युवाहरू मातापिताप्रति जिम्मेवार देखिँदैनन् । देश र समाजप्रति सचेत छैनन् ।

नेपाल सरकारले सामाजिक शिक्षालाई पाठ्यक्रममा राख्यो । विद्यालयहरूले पनि पढाए तर सामाजिक शिक्षा पढेका विद्यार्थीहरूले समाजमा योगदान दिन सकेनन् । यसकारण पढाउनु मात्रै ठूलो कुरा होइन । विद्यार्थीले प्राप्त गरेको अंकले जीवनमा गरिखानका लागि सहयोग गर्न सक्छ । तर, असल नागरिक बनाउन सक्दैन । प्रयोगात्मक ज्ञान र व्यवहारसँगै विद्यार्थीको शुद्ध आचरणमा विकास गर्नु नै संस्कारयुक्त शिक्षा हो । जसका लागि नेपालीसँग संस्कृत र आध्यात्मिक साहित्य काफी छ ।

तपाईंले संस्कारयुक्त शिक्षाको अभियान नै चलाउनुभएको छ, संस्कारयुक्त शिक्षाका बारेमा सरोकारवालालाई बुझाउन कति गाह्रो छ ?
धेरै चुनौती छन् । मैले संस्कारयुक्त गुणस्तरीय शिक्षाको अभियानमात्रै चलाएको छैन । अक्षरा स्कुलका माध्यमबाट व्यवहारमै उतारेको पनि छु । यसकारण मैले त असामान्य दुःख सहेको छु । यो काम गर्न नसकिने भन्ने पनि होइन । हाम्रो एक दशकको प्रयासले राम्रो नतिजा पनि आएको छ । हामीले सोचे जसरी पढाएका विद्यार्थीमा व्यवहार र स्वभावमा परिवर्तन भएको छ । अभिभावक पनि यो अभ्याससँग सकारात्मक हुनुहुन्छ । तथापि असल र सफल विद्यार्थी उत्पादन गर्न विद्यालयमात्रै पूर्ण होइन रहेछ । परिवार, घर, समाज र देशको पनि महत्वपूर्ण हात हुन्छ । र, अन्तर्राष्ट्रिय परिवेशले पनि केही प्रभाव पार्ने गर्छ ।

अहिले समाजमा नकारात्मक कुराहरूको प्रभाव ज्यादै प्रभावशाली र बलियो छ । यसकारण सकारात्मक काम गर्नका लागि तीन गुणा प्रयास गर्नुपर्ने हुन्छ । सकारात्मक काम गर्न असम्भव छैन । धेरै ठूलो मिहिनेत, कामप्रतिको निष्ठा र विश्वासले सफलता प्राप्त हुन्छ । हामी त्यसका उदाहरण पनि हौँ ।

ज्ञानको सबैभन्दा ठूलो स्रोत भनेकै संस्कृत हो । साथै मानवीय चेतनाको स्रोत भनेको आध्यात्मिक शिक्षा हो । संस्कृत र अध्यात्म शिक्षालाई पढाउन सकेनौँ भने हामीले पूर्ण विद्यार्थी उत्पादन गर्न सक्दैनौँ । एउटा पूर्ण व्यक्ति बनाउनका लागि नैतिक र आध्यात्मिक शिक्षा आवश्यक हुन्छ । नैतिक र आध्यात्मिक शिक्षाबिना मान्छे अपूर्ण नै हुन्छ ।

संस्कारयुक्त शिक्षाको अभ्यासको परिणाम कस्तो छ ?
यो कुनै तुलना गर्न मिल्ने या नाप्न मिल्ने विषय त होइन । तर, हाम्रा विद्यार्थीहरूमा व्यावहारिक र व्यावसायिक ज्ञान दुवै छ । उनीहरूसँग अंकसहितको प्रमाणपत्र पनि छ र विनम्रतासहितको व्यवहार पनि छ । उनीहरू समाज र देशप्रति उत्तरदायी छन् । जीवनप्रति सादगी र सचेत छन् । संस्कार आफैंमा अमूर्त विषय पनि हो । यसका लागि धेरै कुराको संयोजन हुनुपर्छ । नैतिकता र इमान्दारिता आत्मिक कुरा हो । यसकारण यसलाई नाप्न पनि मिल्दैन । तर, व्यवहारमा देखिने कुरा भने पक्कै हो ।

संस्कारयुक्त शिक्षा प्राप्त र नेपाली समाजमा चलनचल्तीको शिक्षा प्राप्त विद्यार्थीको आचरण, व्यवहार र स्वभावमा फरक हुन्छ ?
केही हदसम्म उनीहरूका बीच सोच्ने तरिका र शैली फरक हुन्छ । मानिसप्रति गर्ने व्यवहार भिन्न हुन्छ । बालबालिकालाई जस्तो सिकायो त्यस्तै त सिक्ने हुन् । संस्कारयुक्त शिक्षामा मानवता पढाइन्छ । मातापिताको महत्व पढाइन्छ । हरेक धर्मका राम्रा कुराको चर्चा गरिन्छ । देश र समाज पढाइन्छ । यी नपढेका विद्यार्थी र पढेका विद्यार्थीमा फरक त देखिन्छ नै । सिकाइ संस्कारबाट शिक्षित विद्यार्थीहरू समस्यालाई समाधान गर्न सक्षम हुन्छ । यसकारणले विद्यालयले सिकाइ संस्कारलाई विशेषरूपमा लिनुपर्ने रहेछ । विद्यालयभित्रको संस्कारले विद्यार्थीमा विशेष प्रभाव पार्ने भएका कारण विद्यालयको संस्कार महत्वपूर्ण मानिन्छ ।

विद्यालयको संस्कार भनेको के हो त ?
विद्यालयको वातावरण । विद्यालयको मान्य, मूल्यता । र, विद्यालयमा गरिने आचरण अनि व्यवहार नै विद्यालयको संस्कार हो । शिक्षकले विद्यार्थीसँग कसरी बोल्ने भन्ने पनि विद्यालयको संस्कारभित्र पर्दछ । विद्यालयले आफ्ना विद्यार्थीहरूलाई अंकमा पनि अब्बल र आचरणमा पनि अब्बल बनाउन सक्नु नै विद्यालयको संस्कार भन्ने बुझ्नुपर्छ । विद्यालयले विद्यार्थीलाई अधिकार, कर्तव्य र निष्ठा अर्थात् उत्तरदायी शिक्षा दिनुपर्छ । नेपाली समाजमा अभ्यासमा रहेको शिक्षाले अधिकार माग्न सिकायो । तर, कर्तव्य, निष्ठा अर्थात् उत्तरदायी शिक्षा दिन सकेको छैन । यसैले समाज हामीले खोजेको जस्तो मानवीय पनि छैन । संस्कारले व्यवहारलाई नै बुझाउँछ । यो भनेको विद्यालयको वातावरण हो ।

संस्कारयुक्त शिक्षा लिएका विद्यार्थीको आचरण कस्तो हुँदो हो ? अक्षरा स्कुलकै विद्यार्थीको कुरा गरौँ ।
हामीले उत्पादन गरेका विद्यार्थीहरू कुनै पनि क्षेत्रमा नेतृत्वमा पुगेर समाजमा योगदान दिने समय अझै आएको छैन । उनीहरूले नेतृत्वमा पुगेर काम गरेको हेर्न बाँकी नै छ । तर, हाम्रो स्कुलबाट एसइई पास गरेर ११-१२ अध्ययन गरेका विद्यार्थीहरूलाई देखिरहेका छौँ । उहाँहरूमा उत्तरदायी, सबैको भावनालाई कदर गरेर सबैलाई सम्मान गर्ने र नेतृत्वमा जान तयार हुने स्वभाव देखिन्छ । विनयशील स्वभाव नै उहाँहरूको उच्चतम् गुण हो । उत्सुक र सबैबाट सिक्न चाहने र आशावादी स्वभाव उहाँहरूसँग छ । अक्षरा स्कुलबाट एसइई पास गरेर बाहिर गएका विद्यार्थी नेपालमा मात्रै होइन, विश्वमा नै सक्षम देखिएका छन् ।

संस्कारयुक्त शिक्षामा तपाईंहरूले के कुरा पढाउनुहुन्छ ?
संस्कारभित्र सेवाभाव चाहिन्छ । १ कक्षा देखि १० कक्षासम्मका विद्यार्थीलाई हामीले घर, समाज र देशसँग जोडिएका सेवाभावका कुराहरू सिकाउँछौँ । पढाउँछौँ । हामीले कक्षा ३ देखि संस्कृत विषयलाई पढाएका छौँ । संस्कृत शिक्षाले गुरु र मातापितालाई भगवान् भनेर सिकाएको छ । भाषाको जननी नै संस्कृत भएका कारण संस्कृत पढाउँदा विद्यार्थीको भाषा राम्रो हुन्छ । साथै संस्कृतले जस्तो नैतिक शिक्षा दिने अर्को कुनै भाषा र विषय छैन । हामीले विद्यालय सुरु भएपछि र विद्यालय बन्द हुने समयमा गुरुबन्दना गराउने गर्छौँ । गुरु र मातापितालाई सम्मान गर्न सिकाउने शिक्षा दिन सकिएन भने हामीले दिएको शिक्षा कति फलदायी होला ? हामी यो कुरामा सचेत छौँ । विद्यार्थीको सोच र विचार विकासमा हामीले विशेष ध्यान दिएका छौँ । विद्यार्थी र शिक्षकलाई ध्यान र योगाको व्यवस्थासमेत गरेका छौँ । हामीले विद्यालयलाई पूर्ण शाकाहारी बनाएका छौँ । ‘जंकफुड’ निरुत्साहन गर्नका लागि पनि शाकाहारी खानालाई जोड दिएका हौँ । आन्तरिकरूपमा आचार, विचार र व्यवहारलाई लागू गर्न विशेष पाठ्यक्रम बनाएका छौँ । जसको प्रयोगात्मक सिकाइले हाम्रा विद्यार्थी सरल अनि सफल बन्नुहुनेछ । बन्नुभएको छ ।

नेपालको समग्र शिक्षालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन प्रविधि, प्रवृत्ति, प्रकृति र संस्कृतिलाई पढाउन जरुरी छ ।

तपाईंहरूले यो शैलीको शिक्षा सोचिरहँदा, मुलुकको समग्र शिक्षाको अवस्था कस्तो छ ?
सरकारको सानो तथ्यांकलाई हेर्ने हो भने कक्षा एकमा १२ देखि १३ लाख विद्यार्थी अध्ययनका लागि भर्ना भएका देखिन्छन् । एसइईमा आइपुग्दा पाँच लाखको हाराहारीका विद्यार्थी परीक्षामा सामेल देखिन्छन् । मास्टर डिग्रीसम्म पुग्दा त २० प्रतिशत विद्यार्थीहरू पनि निरन्तर हुन गाह्रो देखिन्छ । यति धेरै विद्यार्थीहरूले अध्ययनलाई किन निरन्तरता दिन सकेनन् या चाहेनन् भन्ने कुरालाई अध्ययन गर्न जरुरी छ । सरकारले तयार गरेको शिक्षाका १२ वटा उद्देश्य अत्यन्तै राम्रा त छन् । तर, व्यवहारमा कार्यान्वयन गर्नमा सरकार सफल देखिएन । यसले शिक्षामा सरकारको असफलता प्रष्ट पार्छ । सबै विद्यालय सञ्चालकहरूले ध्यान दिनुपर्ने कुरा के छ भने शिक्षाले एउटा विद्यार्थीको जीवनमा सर्वाङ्गीण विकास गर्नुपर्छ । यसैकारणले सरकारले पनि सर्वाङ्गीण शिक्षाको अवधारणा ल्याएको हो । तर, व्यवहारमा कार्यान्वयन हुन सकिरहेको छैन । अंक र विषयगत ज्ञानलाई जोड दिने परिपाटी भएका कारण सर्वाङ्गीण शिक्षा ओझेलमा पर्‍यो ।

सर्वाङ्गीण शिक्षा र संस्कारयुक्त शिक्षाको सम्बन्ध कस्तो हुन्छ ?
संस्कारयुक्त शिक्षाले नै एउटा विद्यार्थीको जीवनमा सर्वाङ्गीण विकास हुने हो । हाम्रा सनातन वैदिक कुराहरूलाई हामीले पढाउन सक्यौँ भने एउटा पूर्ण र नैतिकवान मानिस उत्पादन गर्न सक्छौँ । आफ्ना मातापितालाई सेवा गरेका श्रवणकुमारका कथा विद्यार्थीलाई पढाउन सक्दा उनीहरूमा आफ्ना मातापिताप्रति पैदा हुने भाव भिन्न हुन्छ । एउटा देश बिगार्नु छ भने शिक्षा बिगारे पुग्छ । हामी त्यही बाटोमा त छैनौँ भन्ने मेरो चिन्ता हो । नेपाली शिक्षाबाट नैतिक, संस्कृत र इतिहास शिक्षा हटाएर शिक्षालाई निकै कमजोर बनाइएको छ । आफ्ना पूर्वजहरू र आफ्नो नैतिकता सिक्न नपाएपछि त त्यो मान्छे अत्यन्तै कमजोर बन्छ । उसमा राष्ट्रियता र मानवीयता हुँदैन ।

नैतिक र आध्यात्मिक शिक्षा दिन सकियो भने एउटा विद्यार्थी संस्कारयुक्त हुने रहेछ, हो ?
ज्ञानको सबैभन्दा ठूलो स्रोत भनेकै संस्कृत हो । साथै मानवीय चेतनाको स्रोत भनेको आध्यात्मिक शिक्षा हो । संस्कृत र अध्यात्म शिक्षालाई पढाउन सकेनौँ भने हामीले पूर्ण विद्यार्थी उत्पादन गर्न सक्दैनौँ । एउटा पूर्ण व्यक्ति बनाउनका लागि नैतिक र आध्यात्मिक शिक्षा आवश्यक हुन्छ । नैतिक र आध्यात्मिक शिक्षाबिना मान्छे अपूर्ण नै हुन्छ । सर्वाङ्गीण विकासमा शारीरिक, सामाजिक, भावनात्मक र बौद्धिक क्षमताको विकास यी चार आयाम छन् । यसमा नैतिकता र अध्यात्म जोडियो भने हाम्रो शिक्षा संस्कारयुक्त बन्छ र विद्यार्थी पूर्ण संस्कारी बन्छन् । अक्षरा स्कुलले शिक्षाका सर्वाङ्गीण विकासका चार आयामसँगै संस्कृत, अध्यात्म र नैतिक शिक्षा पनि जोडेर पढाउने भएका कारण हाम्रा विद्यार्थीहरू पूर्ण छन् भन्ने दाबी गरिरहेका छौँ । संस्कृति नभए संस्कार आउँदैन । हाम्रो देश विविधताले भरिएको छ । एकअर्काका धर्म र परम्परालाई जान्न र सम्मान गर्न जरुरी छ । हरेक संस्कृतिमा वैज्ञानिक पक्षहरू रहेका छन् । संस्कृतिभित्रै सुसंस्कार लुकेका हुन्छन् । यसकारण विद्यार्थीलाई सुसंस्कार पढाउनु अर्को महत्वपूर्ण कुरा हो ।

विकास त मानिसको चेतनासँग पनि जोडिन्छ नि । दुर्भाग्य नेपालमा राम्रा मानिसहरू शिक्षक हुन तयार हुनुहुन्न ।

संस्कृति विषय र अध्यामलाई धर्मसँग लगेर जोड्नेहरू पनि छन् नि ?
पहिला-पहिला अभिभावकहरूका केही प्रश्नहरू थिए । हामीले उहाँहरूलाई बुझाउन सफल भयौँ । अध्यात्म भनेको धर्म होइन । हिन्दू, इस्लाम या क्रिश्चियन यस्ता धर्मका बारेमा हामी पढाउँदैनौँ । तर, यी र यस्ता धर्ममा भएका राम्रा पक्षहरू विद्यार्थीले थाहा पाउनुपर्छ । हामीले उनीहरूलाई हरेक धर्मका राम्रा पक्ष सिकाउँछौँ । सबै धर्मको लक्ष्य सेवा नै हो । धर्मभित्र रहेको सेवाभाव विद्यार्थीलाई पढाउनु आजको आवश्यकता पनि हो । संस्कृत भाषा भनेको भाषाको पनि जननी हो । संस्कृत भाषा हरेक जात र धर्मावलम्बीका लागि अत्यन्तै उपयोगी छ ।

भाषा शुद्धताको विकासमा संस्कृतको पढाइले राम्रो गर्छ । संस्कृत भाषाको विज्ञानका बारेमा अन्तर्राष्ट्रिय जगत्मा पनि अध्ययन/अध्यापन भइरहेको छ । संस्कारयुक्त शिक्षा हाम्रो देशका लागि नयाँ भए पनि अन्य देशका लागि यो नयाँ होइन । शिक्षाबाटै देशको आधुनिक विकास हुने हो । संस्कारयुक्त शिक्षा प्रदान गरेकै कारण आज बेलायत, अमेरिका, जापानजस्ता देशहरू विश्वमा अग्रणी छन् । संस्कारयुक्त शिक्षले नै त हो काममाथिको लगन, समयमाथिको सचेतना, समाजप्रतिको उत्तरदायित्व सिकाउने । यो कुरा विकसित देशहरूमा मात्रै छ । कारण उनीहरूले संस्कारयुक्त शिक्षा पढाए । संस्कारयुक्त शिक्षामा निकै ठूला-ठूला अनुसन्धान र खोजहरू पनि भएका छन् । अनेकन् ग्रन्थहरू प्रकाशित छन् । सामाजिक संस्कारका अभियन्ता लेभ भ्याकेस्कीले सामाजिक संस्कारमा ठूलो अध्ययन गरेका छन् । यस्तै, मार्टिन स्लेभले सकारात्मक संस्कारको अध्ययन गरेका छन् । यसरी धेरै विद्वान्ले यो विषयलाई आफ्नो खोजको विषय बनाएको देखिन्छ । जुन देशले आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो इतिहास पढाउन सक्छन्, ती देशका नागरिक देशप्रति समर्पित हुन्छन् । सदाचारी र नैतिकवान हुन्छन् । हामीले त संस्कृत र हाम्रा ऋषिमुनिको जीवनप्रतिको साधना र समाजप्रतिको योगदान पढाउन सकेमा विश्वका उकृष्ट नागरिक जन्माउन सक्छौँ । नागरिकले नै हो देश विकास गर्ने ।

संस्कृति विषय र अध्यात्मलाई पढाउने सोच कसरी आयो ?
हामीले आफ्नी आमालाई पढाउन सकिरहेका छैनौँ । आमा भनेको हाम्रो देश हो । भाषा हो । संस्कृति हो । पूर्वीय संस्कार र संस्कृतिमा हुर्किएका हामीले आफ्ना सन्तानलाई ऋषिमुनिका योगदान र क्षमता नपढाउने हो भने धेरै ठूलो कुरा गुमाउँछौँ । सबैभन्दा पहिला परिवार, समाज, देश पढाउनुपर्छ । अनि विश्व पढाउने हो । हामीसँग विश्वले लोभ गर्ने संस्कार र संस्कृति छ । पूर्वीय सभ्यताबाट दीक्षित भएको हाम्रो इतिहास हामीले किन नपढाउने ? यस्ता धेरै कुराले मलाई संस्कृति विषय र अध्यात्मलाई पढाउन प्रेरणा दियो ।

हामीले आफ्नी आमालाई पढाउन सकिरहेका छैनौँ । आमा भनेको हाम्रो देश हो । भाषा हो । संस्कृति हो । पूर्वीय संस्कार र संस्कृतिमा हुर्किएका हामीले आफ्ना सन्तानलाई ऋषिमुनिका योगदान र क्षमता नपढाउने हो भने धेरै ठूलो कुरा गुमाउँछौँ ।

संस्थागत विद्यालयहरूले शिक्षाका नाममा व्यापार गरेका छन् भन्ने पेचिलो आरोप छ । यसलाई तपाईं कसरी लिनुहुन्छ ?
हरेक पेशामा सेवाभाव हुनु जरुरी छ । शिक्षा त झन् नितान्त सेवामुखी पेशा हो । तर, यसो भन्दाभन्दै पनि संस्थागत विद्यालय चलाउनेहरूलाई सरकारले कुनै किसिमको सहुलियत अथवा अनुदान दिने गरेको छैन । संस्था सञ्चालन गर्न पैसा चाहिन्छ । हामीलाई चाहिने पैसा भनेको विद्यार्थीको विकास र विद्यालयको संरचनालाई बलियो बनाउनका लागि हो । अनुभवमा र सिकाइमा आधारित शिक्षा महँगो पनि हुन्छ । हामीले राम्रो वातावरणमा शिक्षा दिनका लागि आधुनिक भौतिक पूर्वाधारसँगै दक्ष शिक्षकहरूको पनि व्यवस्था गर्नुपर्छ । यसका लागि चाहिने भनेकै पैसा हो । यसैकारण निजी विद्यालयले पैसा असुले भनेर आरोप लगाउनुको कुनै अर्थ छैन । एउटा विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि धेरै कुराको जोहो गर्नुपर्ने हुन्छ । यसकारण निजी विद्यालयको शिक्षा महँगो पनि हुन्छ । तर पनि सबै शिक्षाप्रेमीले बुझ्नुपर्ने कुरा के हो भने शिक्षा व्यवसायभन्दा सेवा बढी हो । सेवाभाव नभएका मानिसहरू शिक्षा क्षेत्रमा लाग्नु राम्रो होइन ।

नेपालको विद्यालय तहको शिक्षा विश्व बजारमा बिक्ने खालको छ कि छैन ?
समग्र नेपालको शिक्षाको कुरा गर्ने हो भने विश्व बजारमा जान अझै धेरै मिहिनेत गर्नुपर्छ । अक्षरालगायत केही विद्यालयबाट उत्पादन भएका विद्यार्थीको मात्रै कुरा गर्ने हो भने ती विद्यार्थीले विश्व बजारमा सजिलै प्रतिस्पर्धा गरेका थुप्रै उदाहरण छन् । नेपालको समग्र शिक्षालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन प्रविधि, प्रवृत्ति, प्रकृति र संस्कृतिलाई पढाउन जरुरी छ । नेपालको शिक्षामा यी कुरा कम छन् । अक्षराले यिनै कुरा पढाएको छ ।

एउटा विद्यालय राम्रो बनाउन के कुरा चाहिन्छ ?
विद्यालयको वातावरण, (पेडागोजी) विद्यार्थीलाई कसरी सिकाउने । बालमैत्री वातावरण कसरी बनाउने । र, दक्ष शिक्षक एउटा विद्यालयका लागि चाहिने यी आधारभूत कुरा हुन् । दुर्भाग्य नेपालमा राम्रा मानिसहरू शिक्षक हुन तयार हुनुहुन्न । यसका लागि सरकार र समाजले प्रोत्साहन दिन सकेको छैन । विश्वका धेरै देशमा शिक्षकलाई अत्यन्तै सम्मान गरिन्छ । निकै दक्ष मानिसहरूले मात्रै शिक्षालाई पेशा बनाउन सक्छन् । तर, नेपालमा शिक्षण पेशालाई हेयको दृष्टिले हेर्ने चलन छ । शिक्षकको आयस्रोत राम्रो छैन । यस्तो वातावरण हामीले पनि सिर्जना गर्न सक्नुपर्छ ।

मुलुकमा दुई थरीका विद्यार्थी उत्पादन हुनुलाई कसरी हेर्ने ?
शिक्षा सबैको पहुँचमा नपुगेसम्म चेतनाको तह समान हुन सक्दैन । समग्र व्यक्तिलाई समान शिक्षाको पहुँच दिने काम सरकारको हो । सरकार यसमा कमजोर देखिन्छ । निजी विद्यालयहरूले त आफ्नो शिक्षाको गुणस्तरमात्रै हेर्ने हो । व्यक्ति–व्यक्तिबीचको अन्तर त लुगामा पनि छ । गाडी चढ्नेमा पनि छ । हरेक कुरामा अन्तर हुन्छ । प्रतिस्पर्धामा पुगेर सबैले राम्रो गर्न सक्नुपर्छ ।

नेपाल सरकार शिक्षाका प्रति कति सचेत र चिन्तित देख्नुहुन्छ ?
नेपाल सरकारले शिक्षालाई केन्द्रमा राखेर काम गरेको जस्तो मलाई लाग्दैन । जबसम्म शिक्षाको विषय मुख्य मुद्दा बन्दैन तबसम्म देश विकास हुन सक्दैन । विकास त मानिसको चेतनासँग पनि जोडिन्छ नि ।

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Raj thapa
Raj thapa
2023-04-04 8:05 am

निकै राम्रा कुरा पढ्न पाइयो । धन्यवाद

कमला प्रसाईँ  थप सामग्री : https://ehimalayatimes.
कमला प्रसाईँ  थप सामग्री : https://ehimalayatimes.
2023-04-04 9:50 am

यो समयमा संस्कृत भाषा पढाउनु निकै राम्रो हो । तर महंगो शुल्क तिरेर कसरी संस्कृत पढाउने ।

कमला प्रसाईँ
कमला प्रसाईँ
2023-04-04 10:27 am

संस्कृत पढाउनु निकै राम्रो हो । तर महंगोमा कसरी संस्कृत पढाउनु । 

रिलेटेड न्युज

छुटाउनुभयो कि ?