विवादमा दाङको फोरलेन सडक

विवेक खड्का दाङ, संवाददाता
Read Time = 9 mins

दाङ । घोराही तुलसीपुर सडकखण्डको बिजौरी बजारमा स्थानीय व्यवसायीको पहिलो दैनिकी सडकमै पानी चारिसकेपछि सुरु हुन्छ । डिल्ली फेन्सी स्टोरका सञ्चालक डिल्ली डाँगी भन्नुहुन्छ, ‘हाम्रो सटर त्यो बेला खुल्छ, जब सडकमा पानीले चिसो बनाउनु पर्दछ, नत्र पसलभित्र धुलोले धेरै सामान बिगारिदिन्छ । नारायणपुर क्षेत्रमा पनि नियति यस्तै छ । सबैले निर्माण कम्पनीलाई धिक्कारिरहेका हुन्छन्, सबैले जनप्रतिनिधिलाइ सरापिरहेका हुन्छन् । कहिले चक्काजाम समेत गर्छन् त कहिले स्थानीय सरकारको ध्यानाकर्षण गराउँछन् तर चारलेनको गुजुल्टो फुक्लिन सकेको छैन ।

यही सडकखण्डमा पर्ने पत्रेखोला पुल पार गरिसक्दा उकालैमा एक जना महिलाले दिनदिनै पाइप लगाएर सडकमा पानी चारिरहन्छिन् । त्यसो नगरे उनको आँगनमा धुलोले बसिसक्नु हुँदैन । उनले धोएका कपडा सुकाउन पाउँदिनन् । तरकारी बाली धुलोले पूरै छोपिदिन्छ । डालेघाँस बाख्राले खाइदिन्नन् ।

घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्मको सडकलाई स्तरोन्नति गर्न ३३ महिनामा काम सक्ने गरी भएको ठेक्का सम्झौताको पटक–पटक म्याद थपिए पनि अब अन्तिम म्याद भुक्तानी हुन असार मसान्तसम्म मात्रै छ ।

ठेक्का लिने भारतको मुम्बई स्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका सञ्चालक आफै काममा नआउँदा नेपाली पेटी ठकेदारहरूको बदमासीले यो सडकको बेहाल अवस्था आयो । कतिपय सडक किनारामा बस्ने वृद्धवृद्धा क्षयरोगका शिकार समेत भएका छन् । धेरैलाई दम र फोक्सोको समस्या बढिरहेको छ । पैदल यात्रुदेखि मोटरसाइकल यात्रुहरूले दैनिक सास्ती व्यहोरिरहेका छन् ।

ठेक्का रद्द गर्न चारलेन परियोजना कार्यालयले निर्माण कम्पनीलाई सम्पर्कमा आउन गत महिना चौधदिने पत्र काटेको थियो तर महिना दिन पुग्दा पनि निर्माण कम्पनी सम्पर्कमा आउनसकेको छैन । सडकमा सहुलियत ऋण लगानी पनि भारतकै एक्जिम बैंकले गर्ने शर्त छ । कूल बजेट एक करोड २१ लाख युएस डलरको हो । यो अनुदान होइन, सशर्त सहुलियत ऋण मात्रै हो । ठेक्का रद्द गरेमा पनि यो सशर्त सहुलियतको ऋण रोकिने अवस्था छैन तर ठेक्का रद्द गर्न नेपाल सरकारका अधिकारीहरूलाई कम चुनौती छैन ।

करोडौँ रूपैयाँ लेबरहरूलाई भुक्तानी गर्न बाँकी छ । सडक किनारामा पर्खाल लगाउने क्रममा सोनापुर सिमेन्ट उद्योगबाट ल्याइएका हजारौँ बोरा सिमेन्टको बिल भुक्तानी हुन बाँकी छ । यस बीचमा ५ पटक फेरिएका पेटी ठेकेदारहरूकै लेनदेनको हरहिसाब मिलिसकेको छैन । नदीजन्य पदार्थ कहाँबाट कति उठाइयो, केही हिसाबकिताब छैन । सबैभन्दा ठूलो समस्या भनेको सडक किनारामा भएका कटान भएका रूखहरूको हो । कति रूख काटिए ? ती काठ कहाँ छन् वा कहाँ बेचिए ? त्यसको हिसाबकिताब वन कार्यालयले पाउनसकेको छैन ।

खासमा चारलेन प्रमुख चारवटा कारणले बल्झिएको छ । सडक विस्तारका क्रममा हजारौँ रूखहरू काटिए । वरपिपलदेखि मसलासम्मका रूखहरू काटिए । कतिपय स्थानमा सालका रूखहरू पनि कटान भए तर ती काठहरू डिभिजन वन कार्यालयलाई ह्यान्डओभर गर्ने काम निर्माण कम्पनीबाट हुनसकेको छैन । काटिएका काठहरू कसैले सोनापुरको यार्डमा राखिएको आँकलन गरिरहेका छन्, कसैले बीचबाटै काम लाग्ने काठहरू बिक्री भइसकेको बताउँदै आएका छन् । चारलेन परियोजनाको काठ र नदीजन्य पदार्थ राखिएको सोनापुर सिमेन्टको यार्डमा दुईवटा ताला लगाइएका छन् । एउटा सुरुको ठेकेदार अनुप पाण्डेको, अर्को सोनापुर सिमेन्ट उद्योगको ।

प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले यो समस्याकको समाधान केन्द्रीय तहबाटै हुनुपर्ने बताउनुहुन्छ। ‘समस्या स्थानिय लेवलबाट समाधान हुने सम्भावना देखिँदैन, ठेक्का तोड्ने सन्दर्भमा पनि माथिल्लो निकायबाटै निर्णय नभए सम्भव हुँदैन’, प्रमुख जिल्ला अधिकारी बैद्यले भन्नुभयो। यी उल्झनहरू फुकाउन जिल्ला तहमा भएका वार्ता निष्कर्षविहीन भइरहेका छन् । सिडिओ एक्लैले सक्दैनन्, परियोजना प्रमुखले सक्दैनन्, जिल्ला समन्वय समितिको संयोजनले मात्रै पनि असम्भव देखिएको छ । यी उल्झन फुकाउन केन्द्रमा छलफल प्रक्रिया त सुरु भएको छ तर अन्तिम निष्कर्ष निस्कनसकेको छैन ।

अब सबै उल्झन फुकाएर ठेक्का रद्दको अन्तिम टुङ्गो लगाउन परियोजना कार्यालयका प्रमुख र परियोजनाका कन्सल्टेन्ट राजधानीमै वार्तामा छन् तर उल्झन बल्झिइरहेको छ । ‘हामी त्यसैका लागि राजधानीमा एक सातादेखि छलफलमा छौँ तर अन्तिम टुङ्गो लागेको छैन’, घोराही–तुलसीपुर सडक स्तरोन्नति परियोजनाका कन्सल्टेन्ट इन्जिनियर इश्वर अमागाइँ बताउनुहुन्छ । नयाँ प्रक्रियाबाट नगएसम्म यो समस्या ज्यूँका त्यूँ रहने भएकाले यसैमा आफूहरूको ध्यान केन्द्रित रहेको पनि अमागाइँको अभिव्यक्ति छ । विवादको चक्रव्यूहमा फसेको चारलेनको निकाशा सहज होला ?

चारलेनको ठेक्का तोड्ने प्रक्रिया अनुरूप निर्माण कम्पनीलाई परियोजनाले चौधदिने सूचना जारी गरेको थियो तर तीनसाता बित्दा पनि निर्माण कम्पनी सम्पर्कमा आएको छैन । निर्माण कम्पनी किन सम्पर्कमा आउन चाहेको छैन भन्ने पनि नेपाल सरकारका अधिकारीलाई जानकारी छैन । ‘हामी अहिले पनि यही छलफलमा छौँ, ती उल्झनहरूलाई कसरी सल्ट्याउने भनेर तर अन्तिम निष्कर्ष निस्केको छैन’, चारलेन सडक परियोजनाका कल्सल्टेन्ट अमागाइँले बताउनुभयो । परियोजना कार्यालय लमहीका अधिकारीहरूले भने यो विषयमा सम्पर्कमा आउनै चाहँदैनन् । आयोजना प्रमुख आशीष थापाको फोन रिसिभ नै हुँदैन ।

चारलेन स्तरोन्नतिका क्रममा यसै साता फेरि सडकमा पारिएका खाडलमा दुर्घटना भएर थप तीन जनाको मृत्यु भएको छ । प्यूठानबाट दाङ आउँदै गरेका मोटरसाइकल यात्री सडक दुर्घटनामा निधन भयो । करिब चारलेन सडक निर्माण सुरु भए यता सडक दुर्घटनामा परेर कम्तिमा ३० जनाको निधन भइसकेको छ । सडक धुलाम्मे र हिलाम्मे हुने अवस्थामा छ । तुलसीपुर र घोराही उपमहानगरपालिकाका युवा व्यवसायीको पहलमा सडकका खाडलहरू त पुरिए तर दीर्घकालीन रूपमा यसरी पुरिएका खाडलबाट सहज यातायातको परिकल्पना गर्न सकिँदैन । ठेक्का तोड्ने सूचना निकालेर पनि सरकारी अधिकारीहरू निर्णयविहीन अवस्थामा छन् । न ठेक्का तोडिएको छ न नयाँ प्रक्रिया सुरु भएको छ । यसले जिल्लाबासीलाई निकै सास्ती दिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?