मधेशको मसिहा भन्नेहरूले मधेसी जनता ठग्नेबाहेक केही गरेनन् : ओली

‘पैसा बाँडेर द्वन्द्वपीडितको समस्या समाधान हुँदैन, न्याय दिनुपर्छ’

फाइल तस्बिर

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशको मसिहा भन्नेहरूले मधेसी जनता ठग्नेबाहेक केही नगरेको आरोप लगाउनुभएको छ । बुधबार बाराको गढीमाईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले विकास गर्न नसक्ने बताउनुभएको होे । ओलीले मधेशमा हुलाकी राजमार्ग कसले बनायो ? भन्दै प्रश्नसमेत गर्नुभयोे । ‘मधेशमा हुलाकी राजमार्ग कसले बनायो ? मधेशका मसिहा त धेरै देखिए तर मधेशका कुनै पनि मसिहाले मधेशका जनता ठग्नेबाहेक केही गरेनन्’, ओलीले भन्नुभयोे, ‘बनाउन त एमालेले बनायो । एमालेको सरकार भएर हुलाकी राजमार्ग बनेको हो । मधेसीको पहाडीको सरकारले होइन ।’

उहाँले जसपाका अध्यक्ष उपेन्द्र यादव मोरङ, सुनसरी, सप्तरी हुँदै सिधा जनता देखेर बारा आएको आरोप लगाउनुभयो । ‘उहाँले जितेर के गर्नुहुन्छ ? मन्त्री खानुहोला । उहाँलाई कांग्रेस र माओवादीले छाडेका बेला एमालेले साथमा लिएर हिँड्यो । माथि पुगिसकेपछि उहाँको भूमिका त बेग्लाबेग्लै हुँदै गयो’, ओलीले यादवप्रति कटाक्ष गर्दै भन्नुभयो, ‘दिउँसो रुद्राक्षको माला जपेको छ, बेलुका बेलुका भुत्ल्याउनु पनि परेन जिउँदै...त्यो खालको भूमिका पनि देखियो । कुरा हामीसँग राम्रो गर्नुहुन्छ, षड्यन्त्र अन्त गएर गर्नुपर्छ । अहिले उहाँ देश लुट्न बनेको दश दलीय गठबन्धनको एक सदस्य हुनुहुन्छ ।’ अध्यक्ष ओलीले सबल र बलियो राष्ट्रिय शक्ति निर्माणमा एमालेलाई साथ दिन बारा २ का मतदातालाई आग्रह गर्दै एमाले आउँदा सेल्फी खिच्न नभई बाटो बनाउन, घर बनाउन र सिँचाइ गर्न आउने गरेको बताउनुभयो ।

ओलीले पैसा बाँडेर द्वन्द्वपीडितको समस्या समाधान नहुने पनि उल्लेख गर्नुभयो । उहाँले पीडितलाई न्याय दिनुपर्नेमा जोड दिनुभएको हो । ‘सरकारले गर्नुपर्ने कामको लागि ध्यान दिएको छैन, देश र समाजमा सरकारले अपराध बढाउन खोजेको छ,’ उहाँले भन्नुभयो, ‘सरकारले समस्या समाधान नगरी षड्यन्त्रमा लागेको छ । सरकारको स्थायित्व छैन ।’ सरकारले देशमा भ्रष्टाचार र अपराधीरकण बढाएको उहाँको आरोप छ ।

सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनुपर्ने र सरकार–माओवादी द्वन्द्वपीडितलाई संक्रमणकालीन न्यायअन्तर्गत न्याय दिनुपर्ने उहाँको भनाइ थियो । प्रतिनिधिसभा सदस्यका लागि बारा–२ मा वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी ओली महागढीमाई नगरपालिकाको बरियारपुरमा बुधबार पुग्नुभएको हो । उक्त निर्वाचन क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सिके राउत लगायतले चुनावलक्षित गतिविधि बढाएसँगै ओली पनि पहिलोपटक सिमरा विमानस्थल हुँदै यहाँ आइपुग्नु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?