अज्ञात रोगले उन्नत जातका १९ बाख्रा मरे

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 9 mins

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १३ जिमिरेमामा आँधीखोला एग्रो फर्ममा अज्ञात रोगका कारण १९ वटा बाख्रा मरेका छन् । शुक्रबार बिहानसम्म सो फर्मका १९ वटा बोयर र क्रस जातका बाख्रा मरिसकेका छन् भने अरु बाख्रा पनि बिरामी देखिएका छन् ।

‘मंगलबार नै प्राविधिक तथा डाक्टरलाई खबर गरे पनि उहाँहरु बिहिबारमात्र फर्ममा आउनुभयो । यद्यपि फोनमा भने कुरा भइरहेको थियो । सो फर्मका सञ्चालक तथा जिल्ला बाख्रापालन व्यवसायी सङ्घ स्याङ्जाका सदस्य शेषकान्त सुबेदीले भन्नुभयो, ‘बाख्रा बिरामी भएको दिन २१ गते नै डाक्टर अनिल गौतमलाई बाख्रा बिरामी भएको र उपचार गरिदिन आग्रह गरेँ । तर डाक्टर गौतमको वालिङतिर जाने काम भएकाले आफू तत्काल आउन नसक्ने जानकारी दिनुभयो । त्यसपछि उहाँकै सल्लाहमा बयरघारीबाट औषधी ल्याएर खुवाइयो । तर पनि बाख्रा मर्ने क्रम भने रोकिएन ।’

बिहिबार पशु सेवा शाखा पुतलीबजारका प्रमुख डाक्टर अनिल गौतम र जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर इन्द्रबहादुर भट्टसहितको टोली उपचारका लागि पुगेको थियो । बाख्रा बिरामी भएर मर्न थालेपछि उहाँले भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा. इन्द्र भट्टलाई समेत फिल्डमा आएर बाख्रा बिरामी हुनुको कारण पत्ता लगाइदिन र उपचारमा सहयोग गर्न अनुरोध गर्नुभयो । तर भट्टले आफू वालिङ जान लागेको बताउँदै पशु प्राविधिक अनिल गौतमलाई बोलाउन भन्नुभयो ।

‘पशु विज्ञ एवं प्राविधिकले समयमा सही उपचार र सल्लाह दिएको भए यत्रो क्षति हुँदैंनथ्यो कि भन्ने लागेको छ तर उहाँहरू उपचारको लागि आउँदै नआएको भन्ने कुरा सत्य होइन । उहाँहरुले प्रयास त गर्नुभयो तर उहाँहरुको पनि केही लागेन । गर्न गर्नुभयो अलि समयमै गरिदिएको भए बाँच्थे होला भन्ने हामी किसानको मनमा परेको हो ।’ सुबेदीले गम्भीर मुद्रामा बताउनुभयो । डा गौतमसहितको टोली आएर अध्ययन गरी ५ वटा बाख्रामा एन्टिबायोटिक चलाउनुभएको सुबेदीले बताउनुभयो ।

प्रारम्भिक अध्ययनमा बाख्राले विषालु घाँस खाएको हुनसक्ने डाक्टरको टोलीको निष्कर्ष थियो । विषालु ब्याक्टेरियायुक्त घाँस खाँदा यस्तै लक्षण देखिने पशु सेवा शाखा पुतलीबजारका प्रमुख डाक्टर अनिल गौतमको भनाइ छ । उहाँले भन्नुभयो, ‘किसानले बिरामी हुनुभन्दा अगाडि जङ्गली घाँस खुवाएको पाइएको छ । बाख्राहरुले कमलो घाँस र दाना धेरै खाएको कारण बाख्रामा देखिने ‘इन्टेरोटोक्सिमिया‘ रोग हुन सक्ने देखिन्छ ।’ उहाँले थप्नुभयो, ‘थप अनुसन्धानका लागि नमुना सङ्कलन गरी भेटेनरी ल्याब्रेटोरी पोखरामा पठाइएको छ । रिपोर्ट आएपछि मात्र एकिन भन्न सकिन्छ ।’

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. इन्द्र भट्टलाई यस विषयमा सोध्दा आफू निरन्तर कृषकको सम्पर्कमा रहेको र उपचारका लागि सुबेदीको फर्ममा पुगी फर्कदै गरेको बताउनुभयो । बाख्राको मृत्युको कारण पत्ता लगाउन नसकिएकाले नमुना संकलन गरि पोखरा पठाउन लागिएको डा. भट्टको भनाइ छ। उहाँले भन्नुभयो, “सुवेदीले भने जस्तो २१/२२ वटा बाख्रा मरेका छैनन् , १०/११ वटा जति मात्रै हो ।“ किसान र विज्ञको तथ्याङ्क बाझिएको छ ।

सुवेदीले ५० लाखको लगानीमा विगत ४ वर्षदेखि व्यवसायिक बाख्रापालन गर्दै आउनु भएकाे छ । करिब एक दशक समय कतारमा वैदेशिक रोजगारीमा बिताएका ४४ वर्षीय सुवेदीले बाख्रापालनबाटै परिवार पाल्दै आउनुभएको छ । उहाँको खोरमा सानाठूला गरि करिब ५० वटा बाख्रा थिए। तर ३ दिनको बिचमा १९ वटा बाख्रा मरिसकेका छन् । बाख्रा बिरामी हुनुको कारण थाहा पाउन नसकेका परिवार अहिले एकदमै चिन्तामा छ्न् । हिजो बिहिबारमात्रै फिल्डमा आएको डा. भट्ट सहितको टोलीले विषाक्त घाँस र दानाको कारण बाख्राको मृत्यु भएको बताएको पीडित कृषक सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी सामान्य कृषक हौं । बाख्रा पाल्न, स्याहार सुसार गर्न जानेका छौं । रोगको कारण पत्ता लगाउने र उपचार गर्ने काम विज्ञ र प्राविधिकको हो तर उहाँहरूले पनि सक्नुभएन ।’अब यत्रो क्षति भएपछि मैले बाख्रा पालेर परिवार कसरी पाल्ने हो ? म जस्तो सामान्य किसानका लागि १० लाख बढीका बाख्रा मरेपछि के हालत हुन्छ ? अब त म डुबेँ ।’ लगानी गरेर फल खाने बेलामा बाख्रा यसरी मर्दा आफू निकै ठुलो चिन्ता परेको उहाँले सुनाउनुभयो ।

‘भएका बाख्रा भकाभक मरे । पाठापाठी समेत टुहुरा भए । यस्तो दुःख अरू कुनै कृषकलाई पनि नपरोस् ।’ कृषककी आमा गौरा सुवेदीले गहभरी आँसु पार्दै भक्कानिएर भन्नुभयो, ‘हाम्रो सबै लगानी डुब्ने भयो । मेरो जेठो छोराको दुःख देखेर म राम्रोसँग बोल्न पनि सकेकी छैन । अब ठूलाबडाले हाम्रो दुः ख कसरी बुझ्लान् र बाबू ।’

बाख्रा व्यवसायी संघ स्याङ्जाका सदस्य उदय जि टी ले सुवेदीको बाख्रा फर्ममा भएको अकल्पनीय क्षतिले वरपरका सबै बाख्रापालक कृषक चिन्तित भएको बताउनुभयो । उहाँले मरेका सबै बोयर जातका उन्नत बाख्रा भएको कारण फर्ममा ठूलो क्षति भएको बताउनुभयो । जिटीका अनुसार सुवेदीको फर्ममा अष्ट्रेलियाबाट करिब २ लाख ५० हजार खर्चेर ल्याएको शुद्ध बोयर जातको बोकासहित १९ वटा बाख्रा मरेका छन् । जिटीले बताउनुभयो, ‘पशु प्राविधिकहरुले समयमै उपचार गरिदिएको भए बाँच्थे होलान् भन्ने हामीलाई परेको छ । तर उहाँहरुले पनि रोग पत्ता लगाउन र मर्नबाट बाख्रा जोगाउन सक्नुभएन ।

शेषकान्तका ७३ वर्षीय बुबा डण्डापाणी सुबेदीले भक्कानिएर भन्नुभयो, ‘यो देशमा किसानी गरेर कोही उँभो लाग्दैन । जसलाई पर्यो पर्यो । अब हाम्रो दुःख कसैले बुझ्दैन । यत्रो डुब्दा सरकारले पनि क्षतिपूर्ति दिनुपर्छ ।’ तर आफूलाई सरकारले सहयोग गर्छ भन्ने विश्वास भने नलागेको उहाँले बताउनुभयो ।

वडा नं १३ का वडा अध्यक्ष जुद्द बहादुर थापाले सुबेदीको फर्ममा भएको क्षति भएको देख्दा आफू पनि दुःखी भएको बताउनुभयो । १९ वटा बाख्रा मरिसकेको पुष्टि गर्दै उहाँले भन्नुभयो, ‘उहाँ मेहनती र इमानदार किसान हो । आवश्यक क्षतिपूर्तिको व्यवस्था मिलाउन मैले प्रयास गरिरहेको छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?