सरकार भन्छ- ‘मुस्ताङ जाऊ’ : पर्यटक भन्छन्- ‘बाटो त बनाऊ’

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । नेपाल आउने विदेशी पर्यटक,धार्मिक पर्यटक र नेपाल घुम्न चाहने आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य हो मुस्ताङ ।

सरकारले मुस्ताङ देखाएर,नेपाल भ्रमण वर्ष लगाएतका राष्ट्रिय कार्यक्रमहरु बनाएर विदेशी पर्यटकहरुलाई नेपाल बोलाउने गर्दछ ।
हवाइ मार्गभन्दा स्थल मार्गबाट धेरै पर्यटकहरु मुस्ताङ जाने गर्दछन् । तर,मुस्ताङ जाने र फर्कने क्रममा पर्यटक र तीर्थयात्रीहरुले सही नसक्नुको सास्ती खेप्न वाध्य हुन्छन् । कारण हो कालीगण्डकी करिडोर नामाकरण गरिएको स्तरोन्नतिको अवस्थामा रहेको बेनी–जोमसोम–कोरला सडक ।

कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको मालढुङ्गादेखि मुस्ताङको लोमान्थाङसम्मको आठ ठाउँमा स्तरोन्नतिको काम भइरहेको कालीगण्डकी करिडोर आयोजना मालढुङ्गा–जोमसोम प्रमुख जगत प्रजापतीले बताउनुभयो ।
आयोजना प्रमुख प्रजापतीका अनुसार सडक निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थहरू ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल आदि इत्यादिको अभावले सडकको काम तीब्ररुपमा हुन नसकेको हो ।

“सडक स्तरोन्नतिका लागि ठाउँ ठाउँमा राखिएका निर्माण सामाग्री, भत्काइएको सडक मर्मतमा ढिलाइ लगाएतका कारण सडक साघुरो र जोखिमयुक्त भएकोले ज्यानकै बाजी राखेर मुस्ताङ आउजाउ गर्न वाध्य हुनु पर्ने अवस्था रहेछ” रसियन पर्यटकहरुलाई मुस्ताङ घुमाएर बेनी फर्किनुभएका पर्यटक पथप्रदर्शक डग्नुम लामाले बताउनुभयो ।
“मुस्ताङ घुम्दा रमाएका पर्यटकहरु बाटोमा सास्ती भोग्दा भने निरास हुने गर्छन्,सरकारले भ्रमणका लागि मुस्ताङ त बोलाउँछ,तर बाटो किन बनाउँदैन भने पर्यटकहरुले हामीसँग प्रश्न गर्छन्” लामाले भन्नुभयो ।

१४ जना साथीहरुसँग मुस्ताङ घुमेर फर्कन लाग्नुभएका नवलपुरको गैडाकोट नगरपालिका १२ हर्कपुरका प्रकाश ज्ञवालीले बेनीमा यस संवाददातासँग भन्नुभयो “त्यस्तो सुन्दर ठाउँ (मुस्ताङ)मा जान र फर्कने र दैनिक सयौं विदेशी पर्यटकहरुको आवतजावत हुने सडकको अवस्था अत्यन्तै दयनीय रहेछ,सडक स्तरोन्नतिका लागि निर्माण कम्पनि र सरकार दुवै उदासिन बनेको देखियो,यस्तो सडक देखाएर सरकारले विदेशी पर्यटकरुलाई मुस्ताङ घुम्ने निम्ता कसरी दिन सकेको होला ?”

लमा र ज्ञवालीले भनेजस्तै मुस्ताङ जाने सडकको अवस्था अत्यन्त दयनीय नै रहेको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । “सरकारले निर्माण कम्पनिलाई दोष दिन्छ,निर्माण कम्पनिले सरकारलाई” शेरचनले भन्नुभयो “दुईवटा निकायहरुको बीचमा समन्वय नहुँदा सास्ती चाँही पर्यटकहरुले भोग्नु परेको छ, यस्तै अवस्था अझै केही समय रहिरहने हो भने मुस्ताङ घुम्ने पर्यटकहरुको चाहना हुँदाहुँदै पनि सडककै कारण मोहभङ्ग हुनसक्छ ।”
निर्माण कम्पनिका ठेकेदारहरुका अनुसार सडक निर्माणका लागि आवश्यक कच्चा पदार्थ कालीगण्डकी नदीबाट निकाल्न नपाउँदा काममा असर परेको हो ।

सर्वोच्च अदालतले २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन नगर्न भनेको छ ।
नेपाल सरकारले जारी गरेको आई.ई.ई रिपोर्टमा उल्लेख भएको आधारमा राष्ट्रिय गौरवको आयोजना भएकोले कालीगण्डकी नदीबाट नै आवश्यक कच्चा पदार्थ झिक्न पाउने र सोही मूल्यांकनको आधारमा ठेक्का सम्झौता भएको निर्माण कम्पनीले बताउँदै आएका छन् ।

कालीगण्डकी नदीको तीरै तीर जाने कोरिडोरमा कालीगण्डकीकै निर्माण सामग्री उपयोग गर्ने भनिएको भए पनि सर्वोच्च अदालतमा परको रिटका कारण निर्माण सामाग्री प्रयोग गर्न नपाएकोले काम प्रभावित भएको आयोजना प्रमुख प्रजापतीको भनाइरहेको छ । सर्वोच्च अदालतले पनि समयमा नै फैसला दिन नसक्दा अन्योलको अवस्था उत्पन्न भएको पाइएको छ ।

आयोजना प्रमुख प्रजापतीले मालढुङ्गादेखि कोरलासम्मको खण्डमा करिब ७२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो । निर्माण सामग्रीको अभावले काम सुस्त गतिमा मात्रै चलेका उहाँले बताउनुभयो । ढुङ्गा नपाएका कारण निकै समस्या भइरहेको छ भने उपलब्ध भएका सामग्रीबाट आर.सी.सी.को काम चलिरहेको उहाँको भनाइ छ । बेनी–गलेश्वरको काम तीव्र रूपमा भइरहेको उहाँले बताउनुभयो ।  त्यसैगरी गलेश्वरदेखि तातोपानीसम्मको खण्डको ५/६ किलोमिटर सडक कालोपत्रे भइसकेको उहाँले जानकारी दिनुभयो ।

आयोजना प्रमुख प्रजापतीका अनुसार केही भागमा कालोपत्रेको तयारी भइरहेको छ भने काभ्रे भिरमा पनि ढलानको काम चलिरहेको छ । काभ्रेदेखि घाँसासम्मको सडक अत्यन्तै जोखिमयुक्त मानिन्छ । रुप्से झरनामा पनि बेली ब्रिज निर्माणको काम चलिरहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी मुस्ताङको जोमसोममा ढलानको काम भइरहेको उहाँको भनाइ छ । तर, मालढुङ्गादेखि बेनीसम्मको सडकको काम भने निर्माण कम्पनिले छोडेको छ । उक्त सडक खण्डको अहिलेसम्म करिब २०/२५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

छिमेकी देश चिन र भारत दुवैलाई छुने र नेपालको आयात निर्यातमा महत्त्वपूर्ण काम गर्ने राष्ट्रिय गौरवको आयोजना हो ‘कालीगण्डकी कोरिडोर’। व्यापार र पर्यटनका लागि देशकै महत्त्वपूर्ण रहेको यही सडकको काम गरिरहेको एपेक्स खड्का कृष्ण जे.भि.ले काम छाडेको अवस्था छ । उसले आफ्ना कामदारहरू कोहीलाई अन्य ठाउँका काममा पठाएको छ त कोहीलाई घर फिर्ता गरिदिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको काम पूरा गर्नको लागि कालीगण्डकी नदी उत्खनन गर्नु बाहेकका विकल्पबाट काम सक्न मुस्किल रहेको निर्माण सम्वद्ध व्यक्ति र स्थानीयको भनाइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?