इयु रिकन्ट्रक्सन बैंकमा लगानी गर्न इच्छुक

Read Time = 4 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग युरोपियन युनियन(इयु) प्रतिनिधिमण्डलका राजदूत एमएस नोनी डिपरेजले शुक्रबार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा इयुबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्नेबारेमा छलफल भएको थियो । गुणस्तरीय शिक्षा, मौसम परिवर्तन र नवीकरणीय ऊर्जा क्षेत्रमा इयुले सहयोग उपलब्ध गराउँदै आएको छ ।

युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा काम गर्न इच्छुक रहेको अर्थमन्त्री डा. महतले बताउनुभएको छ । इयुको सहयोग नेपालका लागि महत्वपूर्ण रहेकाले ऊर्जा, भौतिक पूर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्रको विकास गर्न नेपालले चाहेको उहाँको भनाइ थियो । समन्वयको दायरा फराकिलो बनाउँदै दक्ष मानवीय जनशक्ति उत्पादन क्षेत्रमा सहयोग गर्न इयु उत्साहित भएको मन्त्री डा. महतको जिकिर छ ।

यसैबीच अर्थमन्त्री डा. महतसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले पनि भेट गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या अर्थमन्त्री डा. महतसमक्ष राखेका थिए । अध्यक्षको नेतृत्व सम्हाल्नुभएका डा. बद्री केसीले ज्ञापनपत्र पढेर मन्त्री डा. महतलाई सुनाउनुभएको थियो ।

शुक्रबारदेखि अध्यक्षको नेतृत्व सम्हाल्नुभएका डा. केसीसहित तीनैजना अध्यक्ष कुल आचार्य र रविना थापाले संयुक्तरूपमा मन्त्री डा. महतलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । एनआरएनएले लगानीमैत्री वातावरण, नागरिकताको निरन्तरतालगायतका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको हो । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणपछि केही जटिलता आएको स्मरण गर्दै मन्त्री डा. महतले एनआरएनएको नागरिकताको हकमा संविधानमा भएको व्यवस्थालाई छिटो कार्यान्वयनमा नल्याउँदा व्यावहारिक कठिनाइ भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ, सरकारले एनआरएनएलाई निराश हुने काम कहिल्यै गर्दैन । लगानी गर्न चाहने साथीहरूले कुनै कारणबाट निरुत्साहित हुनुपर्दैन ।’ लगानीमैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत् सम्बोधन गरिने उहाँको भनाइ थियो । भेटमा एनआरएनए संस्थापक महासचिव भीम उदास, वर्तमान कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्वउपाध्यक्ष रामेश्वर साह, सोनाम लामा, युके पूर्वअध्यक्ष योगेन क्षेत्रीलगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?