पुलिस, आर्मी, सुदूरपश्चिम र मधेश प्रदेश सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोली आर्मी, पुलिस, सुदूरपश्चिम र मधेश प्रदेश पुगेका छन् । शनिबार लिग चरणका सबै समीकरण पूरा हुँदा अंक तालिकाका आधारमा समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल पुलिस छन् । समूह ‘बी’ तर्फ पहिलो सुदूरपश्चिम प्रदेश र दोस्रो मधेश प्रदेश रहेका छन् ।

प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेल आर्मी र मधेश प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगरको शहीद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ५-३ गोलले पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशीले २ गोल, धिरेन्द्रबहादुर, शेरबहादुर चन्द र महेश नेपालीले समान १-१ गोल गर्नुभएको थियो । मधेश प्रदेशका विशला क्षेत्री, रुपक दाहाल र रुपेश राईले समान १-१ गोल गर्नुभयो । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली हुनुभयो ।

त्यस्तै, अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशले २-२ गोलको बराबरी खेलेर अंक बाँड्दै लिग चरणबाट बाहिरिएका छन् । गण्डकीका संगम जेटी र असिम बाहेकले गोल गर्नुभयो । कर्णालीका लागि जीवन राउतले २ गोल गर्नुभएको थियो । खेलको म्यान अफ द म्याच कर्णालीका जीवन राउत हुनुभयो ।

शुक्रबार राती भएको खेलमा साबिक विजेता त्रिभुवन आर्मीले पूर्वविजेता गण्डकी प्रदेशलाई ८-१ को फराकिलो गोल संख्यामा पराजित गरेको छ । आर्मीका रोमन रानाले ३ गोल, काशीराजले २ गोल, देवसिंह धामी र प्रदीप राजवंशीले समान १-१ गोल गर्नुभयो । गण्डकीका असिम बाहेकले एक गोल फर्काउनुभयो । खेलको म्यान अफ द म्याच आर्मीका नितिश न्यौपाने हुनुभयो ।

नेपालमा पहिलो पटक रात्रीकालीन हक्की खेल शुक्रबार राती भएको छ । प्रतियोगिताका संयोजक तथा पूर्वअन्तर्राष्ट्रिय खेलाडी रञ्जन थापाका अनुसार हक्कीलाई रात्रीकालीन बनाउन सकिने आधार तयार गर्ने क्रममा पहिलो पटक विराटनगरमा खेल सम्पन्न भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?