म्याग्दी । आधा दशक पार गरेको शरीर । १८ वर्षे युवाको जस्तै जोस र जाँगर । बञ्चरेढुङ्गाको भिरालो पाखोमा रहेको घरमा राती सुत्ने बाहेक खेतबारीमा नै वित्छ ५४ वर्षिय हरिलाल घिमिरेको समय । सुर्योदयसँगै खेतबारीमा लगाएको तरकारी खेतीबाट दिनचर्या सुरु गर्ने घिमिरेले राती अबेर घरमा फर्केर खाना खाए पछि मात्र आराम गर्नुहुन्छ ।
३५ वर्ष अघि १९ वर्षको कल्कलाउँदो उमेरमा मनभरी रुमानी कल्पना र शैलानी रहरहरु सजाएर मलेशिया जानुभएका घिमिरेले त्यस पछिका २१ वर्ष खाडी मुलुकहरुमा नै विताउनुभयो ।
मलेशिया,युएई र साउदी अरवमा गरी दुई दशक बढीको समय विताए पनि पैसा कमाउन नसकेपछि थकित तन र विरक्तिएको मन लिएर उँहा गाउँ फर्किनुभयो । ४० वर्षको उमेरमा मुग्लानबाट गाउँ फर्किनुभएका घिमिरेले तरकारी खेती सुरु गरेपछि भने सधैंभरीका लागि छेकियो मुग्लान जाने बाटो ।
जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा हरियाली छाउन थालेको छ ।
म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका घिमिरे गाउँ फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने अहिले उहाँको जीवनमा हरियाली छाएको हो ।
घिमिरेले १४ रोपनी खेत र बारीमा बाह्रैमास तरकारी खेती गर्नुहुन्छ । उँहाले तरकारी खेतीबाट नै वार्षिक रु १० लाख कमाउनुहुन्छ । छोरा,छोरी र श्रीमतीले पनि काममा सहयोग गर्ने हुँदा ज्याला तिरेर अझसम्म कसैलाई काममा लगाउन नपरेको घिमिरे बताउनुहुन्छ ।
हरिलालजस्तै बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका चन्द्रबहादुर कार्की,शोभित सापकोटा र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी खुसीको महक प्राप्त गर्न सफल भएका छन् ।
गाउँकै माटोमा तरकारी, फलफूल र पशुपक्षीपालनमार्फत खुसी र समृद्धि आर्जन गरेका यी पाँच जना मात्रै होइन जिल्लामा कैयौँ युवाहरु छन् । रहरले होओस् वा बाध्यताले नेपालीहरू पैसा कमाउनका लागि दैनिक सयौँ युवा विदेशी भूमिमा जाने गर्दछन् ।
अधिकांश नेपालीहरू विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेका छन् । तर, पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर स्वदेश फर्कनेको पनि लर्को नै छ । आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले ९ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय चन्द्रबहादुर घिमिरेले पनि अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।
“शुरुशुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन” हरिलालले भन्नुभयो “कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि तर, म आफ्नो काममा लागिरहेँ ।”
१४ वर्ष अघि विसं २०६६ सालदेखि व्यावसायिक रुपमा प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएका घिमिरेले १४ रोपनी जग्गामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया,काँक्रो,मुला,धनियाँ, बोडी, बन्दागोभीलगायतका मौसमी तथा बेमौसमी तरकारी लगाउनुभएको छ । तरकारी बिक्री गरेर घिमिरेले वार्षिक रु १० लाखभन्दा बढी कमाइ हुने गरेको बताउनुभयो ।
“यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझें विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ,” घिमिरेले भन्नुभयो “उमेर ढल्केपछि मलाई चेत आयो तर, मैले मेरा छोराहरुलाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो ।”
अहिले घिमिरेको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला,बन्दा,काउली,केराउ,धनिया लगाएतका तरकारी लटरम्मै फलेका छन् । खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुशी र सन्तुष्टि पनि छाएको छ । दुई भाइ छोरा, श्रीमती र आफू गरी परिवारका चार सदस्यले तरकारीको स्याहार गर्ने, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आउनुभएको छ ।
“तरकारी बेचेर नै एक दिनमा रु तीन हजारको आसपासमा कमाइ हुन्छ” घिमिरेले भन्नुभयो “महिनाको सरदर रु ८० हजारदेखि रु १ लाखसम्म आफ्नै घरपरिवारसँग बसेर खेतबारीमा नै कमाइ हुन थालेपछि किन जानूँ विदेश ।”
“२१ वर्ष खाडी मुलुकमा विताउँदा पनि छोराछोरी र श्रीमतीको आङमा गतिलो कपडा र पोषिलो खानेकुरा जुटाउन सकेको थिएन” घिमिरेले विगत सम्झदै भन्नुभयो “अहिले रोजीरोजी खान र लगाउन सक्ने भएका छन्, ऋण माग्न कसैकोमा जानुपरेको छैन ।छोराछोरीको पढाइलेखाइ,ब्रतवन्ध,विवाह सवै खर्च तरकारी खेतीबाट नै जुटेको छ ।”
पछिल्ला सात वर्ष यता म्याग्दीमा व्यवसायिक तरकारी,फलफूल खेती र पशुपंक्षी पालनको लहर नै चलेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लाका ६ वटा स्थानीय तहका ७० जना भन्दा बढी युवा र काम गर्न सक्ने उमेरका व्यक्तिहरु व्यवसायिक खेतीमा लागेका कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । कृषि बजारमा विचौलियाहरुको प्रवेश नहुने र तरकारी तथा फलफूल व्यापारीहरु इमानदार हुने हो भने तरकारी जन्य उत्पादनले म्याग्दी आत्मनिर्भर भैसकेको अगुवा कृषकहरुको भनाइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच