डा.राजु अधिकारीका तीन कृति लोकार्पण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । डा.राजु अधिकारीद्वारा लिखित तीन पुस्तक, ‘परिवार सुख’, ‘संस्कारी बन्ने काइदा’ र ‘हजुरलाई विशेष उपहार’ एकसाथ लोकार्पण गरिएको छ । काठमाडौंको पेप्सीकोलास्थित अक्षरा स्कुलमा आयोजित एक विशेष समारोहमा संस्कृतिविद् डा.गोविन्द टण्डन, साहित्यकार डा.तुलसी भट्टराई र प्रमुख निर्वाचन आयुक्त एवं साहित्यकार दिनेशकुमार थपलियाले यी कृतिको लोकार्पण गर्नुभएको हो ।

कृति लोकार्पणपछि डा.गोविन्द टण्डनले अधिकारीको पुस्तक ‘संस्कारी बन्ने काइदा’माथि आफ्ना विचार राख्नुभएको थियो । यो पुस्तक अहिलेको समयमा अति नै सान्दर्भिक रहेको उहाँको भनाइ थियो । यस्तै, प्रमुख निर्वाचन आयुक्त थपलियाले अधिकारीको पुस्तक ‘हजुरलाई विशेष उपहार’बारे समीक्षा गर्नुभएको थियो । पुस्तक पढ्दै गर्दा उपहार होस् त यस्तो भन्ने अनुभूति हुने उहाँले बताउनुभयो ।

कुनै पनि उपहारको मूल्य त्यसको उपयोगितामा निहीत हुने र बाहिरी आवरणमा मात्र ध्यान दिन नहुनेमा पुस्तकले जोड दिएको थपलियाको भनाइ थियो । त्यस्तै, साहित्यकार डा.तुलसी भट्टराईले अधिकारीको पुस्तक ‘परिवार सुख’को समीक्षा गर्नुभएको थियो । उहाँले पछिल्लो समय परिवारमा आइरहेको बेमेलले समाजलाई भड्खालोतिर लगिरहेको अवस्थामा अधिकारीको यस पुस्तकले आदर्श परिवार निर्माणमा सघाउ पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा लेखक डा.राजु अधिकारीले लोकार्पित किताबहरूमा एउटाले भित्री जीवनलाई सिंगार्ने, अर्कोले बाहिरी जीवन सिंगार्ने र तेस्रोले सबैले सबैलाई जोड्ने अर्थात् आफूले अरूसँग जोड्ने काम गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?