बागदरबार-सिंहदरबार टकराव थप बढ्ने संकेत

डिबी शर्मा
Read Time = 11 mins

काठमाडौं । काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको टकराव थप बढ्ने देखिएको छ । आवश्यक सहयोग नगरेको भन्दै महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)एकपछि अर्को गरी संघीय सरकारविरुद्ध खनिन थालेपछि टकराव थप बढ्ने देखिएको हो । आवश्यक सहयोग नगरेको भन्दै मेयर साह संघीय सरकारको निरन्तर आलोचना गर्दै आउनुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आउनुभएका साह पछिल्लो समय संघीय सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आउनुभएको छ । सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्नै नचाहेको उहाँको भनाइ छ । भौतिक रूपमा बागदरबार-सिंहदरबारको दूरी धेरै नभए पनि महानगर सिंहदरबार पुग्न धेरै कसरत गर्नुपर्ने उहाँले टिप्पणी गर्नुभयो । ‘नौ महिनामा पटक-पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ,’ उहाँले भन्नुभएको छ, ‘स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका मुद्दा अगाडि बढ्दैनन् । सुनेको नसुनै हुन्छ भने दूरदराजका स्थानीय तहहरूमा भएको नीतिगत अप्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरू सम्बोधनको अवस्था कस्तो होला ?’ सिंहदरबारले स्थानीय सरकारको अस्तित्व नै स्वीकार नगरेको उहाँको टिप्पणी छ । ‘स्थानीय समस्याहरू स्थानीय तहमा नै समाधान हुन सकून् । संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस्,’ उहाँले भन्नुभएको छ, ‘देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ तर, न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौं आइरहनु पर्ने अवस्था छ, यो नहोस् ।’

फोहोर नउठाउने निर्णय लहडमा गरिएको होइन, बाध्यता हो : मेयर बालेन
काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन छोडेको छ । महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेनले फोहोर नउठाउने घोषणा गरेपछि सिंहदरबारको फोहोर उठ्न छोडेको हो । सिंहदरबारको फोहोर उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिले फोहोर उठाएको छैन । सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक पाँच टन फोहोर उठ्ने गरेको थियो । संघीय सरकारले बारम्बार प्रयास गर्दा पनि कुरा नसुनेपछि बाध्य भएर फोहोर उठाउन छोडेको मेयर साहले स्पष्ट पार्नुभएको छ । सिंहदरबारको फोहोर नउठाउने निर्णय लहडमा अनायासै नगरिएको उहाँले स्पष्ट पार्नुभएको छ । ‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो,’ उहाँले भन्नुभएको छ, ‘यो दबाब आवश्यक छ भन्नेमा सायदै दुईमत रहला ।’

महानगर र सरकारबीच द्वन्द्व बढ्नुका कारण
काठमाडौं महानगरको मेयरमा साह निर्वाचित भएदेखि नै संघीय सरकारसँग राम्रो सम्बन्ध छैन । स्वतन्त्रबाट मेयरमा निर्वाचित हुनुभएका साह सुरुवातदेखि नै संघीय सरकारसँग रुष्ट हुनुहुन्थ्यो । जुन शृंखला नौ महिनादेखि जारी छ । यसका निश्चित कारण छन् । उहाँ निर्वाचित हुँदै गर्दा काठमाडौंमा फोहोर थुप्रिएको थियो । जसलाई व्यवस्थापन गर्न निकै सकस परेको थियो । फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको उहाँको आरोप थियो । यो सुरुवात थियो । त्यसपछि महानगर र सिंहदरबारबीच निरन्तर यस्तो टकराव छ । मेयर साहका अनुसार यसका मूलतः १४ वटा कारण छन् ।

पहिलो महानगरले अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी रोक्न गृह मन्त्रालय विभिन्न सहमति गरेको थियो । तर, कुनै सहमति कार्यान्वयन नभएको उहाँको भनाइ छ । उहाँका अनुसार गृह मात्र होइन कुनै पनि मन्त्रालयले सहमति कार्यान्वयन गरेका छैनन् । परराष्ट्र मन्त्रालयसँग विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार, शिक्षा मन्त्रालयसँग सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा विभिन्न चरणमा कुरा हुँदा काम अगाडि बढेको छैन । स्वास्थ्य मन्त्रालयसँग सरकारी अस्पताल सरसफाइ, बिमालगायत विषयमा बजेट व्यवस्थापन गर्न पहल गरेको, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँग एयरपोर्टको नक्सा पास, पेप्सीकोला क्षेत्र डुबानको समाधानलगायत विषयमा पटक-पटक पहल गरे पनि काम नभएको उहाँले बताउनुभयो । अर्थ मन्त्रालयसँग तीनकुनेको जग्गा र याङ«ी र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडांैमा मेलम्चीको पानी ल्याउने कार्यक्रमबारे पहल गरेको उहाँले बताउनुभयो । सहरी विकास मन्त्रालयसँग काठमाडौंमै फोहोर, खोला करिडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अण्डर पास, बञ्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापनलगायत विषयमा चार मन्त्रीसँग पटक-पटक पहल गर्दा पनि कुनै काम नभएको उहाँले बताउनुभयो । त्यस्तै, भौतिक पूर्वाधार मन्त्रालयसग रिङरोड विस्तार, उपत्यका यातायात प्राधिकरण गठन, सूचना तथा सञ्चार मन्त्रालयसँग पोलमा तार व्यवस्थापनबारे, ऊर्जा मन्त्रालयसँग सडक बत्ती व्यवस्थापनबारे, खानेपानी मन्त्रालयमा मेलम्चीको पानी र पाइप व्यवस्थापनलगायत विषयमा पहल गरेको उहाँको भनाइ छ । उहाँका अनुसार भूमिसुधार मन्त्रालयसँग सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षणबारे पहल, संघीय मामिला मन्त्रालयसँग तीनकुने विवाद, कर्मचारी सरुवाबारे र कृषि मन्त्रालयसँग मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षणबारे पहल गरिएको पनि काम नभएको उहाँले बताउनुभयो ।

मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ कि मिल्दैन ? : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? भन्दै प्रश्न गर्नुभएको छ । अझ सार्वजनिक रूपमा सामाजिक सञ्जालमार्फत त्यसो भन्न मिल्छ कि मिल्दैन ? भन्दै उहाँले प्रश्न गर्नुभएको छ । ‘म धेरै टिप्पणी गर्न चाहन्नँ । काठमाडौं महानगरका मेयरका बारेमा म अहिले व्यक्तिगत रूपमा कुनै टिप्पणी गर्न चाहन्नँ । समन्वय भनेको चाहिँ स्थानीय सरकारले वा अर्को कुनै सरकारले यसो गर्दिनुस् भन्नेलाई समन्वय भनिँदैन,’ श्रेष्ठले सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै भन्नुभयो, ‘सहयोग गर्ने कुरामा हामीमा कुनै दुविधा छैन । तर, त्योचाहिँ औचित्य पुष्टि हुने गरेर समझदारीमा समन्वय हुन्छ ।’

तत्काल महानगरसँग संवाद गर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न आग्रह गर्नुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा महानगरपालिकासँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । महानगरपालिकाले राखेका जायज मागहरूलाई पूरा गर्नुपर्ने उहाँको भनाइ छ । सांसद थापाले काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको छलफलमा काठमाडौंका जनप्रतिनिधिहरूलाई पनि सम्मिलिन गराउनुपर्ने बताउनुभयो । ‘बागदरबार र सिंहदरबारबीच टकराव देखिएको छ । महानगरपालिकाले फोहोर नउठाउने भनेको छ,’ उहाँले भन्नुभयो, ‘म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, कुनै विलम्ब नगरी काठमाडौं महानगरपालिकासँग छलफल गरियोस् । संवाद गरियोस् । जुन-जुन विषय अहिले सल्ट्याउनुपर्ने हो सल्ट्याइयोस् । जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो समझदारी गरियोस् । जायज मागहरू पूरा गरियोस् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?