ताइवानी जलक्षेत्रमा युद्धपोत र आकाशमा चिनियाँ लडाकु विमान

Read Time = 4 mins

ताइपेई । ताइवानको जल र हवाई क्षेत्रमा सैनिक अभ्यास अन्त्य भएपछि पनि टापु वरपर युद्धपोत र लडाकु विमान आज पनि तैनाथ गरेको छ । मंगबार ताइवानको जलक्षेत्रमा नौवटा चिनियाँ युद्धपोत र हवाई क्षेत्रमा २६ वटा लडाकु विमान देखिएका ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । स्थानीय समयानुसार मंगलबार बिहान ११ बजेसम्म चिनियाँ विमान र युद्धपोत आफ्नो जल र हवाई क्षेत्र वरपर तैनाथ थिए ।

सोमबार तीनदिने सैन्य अभ्यास समाप्त गरेको बेइजिङले मंगलबार पनि युद्धपोत र लडाकु विमान आफ्नो वरपरको क्षेत्रमा तैनाथ गरेर युद्धको आभास दिइरहेको छ । ताइवानका राष्ट्रपति साई इङ वेनले क्यालिफोर्नियामा अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकाथीलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले गत शनिबारदेखि सैन्य अभ्यास सुरु गरेको थियो ।

राष्ट्रपति साईले आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा अमेरिकी सभामुखलाई क्यालिफोर्नियमा भेट्नुभएको थियो । गत अगष्टमा तत्कालीन सभामुख न्यान्सी पेलीसीको ताइपेई भ्रमणपछि गरिएको सैन्य अभ्यासभन्दा तुलनात्मक रूपमा पछिल्लो अभ्यास सानो थियो ।

राष्ट्रपति साई र सभामुख म्याकार्थीबीचको कुनै पनि बैठक आफूलाई अमान्य हुने उल्लेख गर्दै चीनले यदि उहाँले भेटवार्ता गरेमा त्यसविरुद्ध लड्न दृढ उपाय अवलम्बन गर्ने चेतावनी दिएको थियो । देशको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कुनैपनि गतिविधि सहृय नहुने चीनले बताएको थियो ।

आफ्नै संविधान र सरकार भएको ताइवान एक स्वशासित टापु हो । चीनले यसलाई आफूबाट अलग भएको आफ्नै प्रान्तका रूपमा लिएको छ चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।
चीनले सोमबार आफ्नो सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको बताएको थियो । ताइवानी रक्षा मन्त्रालयले सोमबारनै टापु वरपर १२ वटा चिनियाँ युद्धपोत र ९१ वटा विमान तैनाथ गरिएका दाबी गरेको थियो । ताइवानी सेनाले आफ्नो सुदृढीकरणको प्रयासलाई निरन्तरता दिने बताउँदै आएको छ ।

सन् १९७९ मा वासिंटनले बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गरे पनि ताइपेइको अन्तर्राष्ट्रिय सहयोगी एवं साझेदारका रूपमा वासिङ्टन उभिएको छ । अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि भएको छ । यस्तो पृष्ठभूमिमा रहेको ताइवान र अमेरिकाबीचको सम्बन्ध अनौपचारिक भए पनि औपचारिक सम्बन्ध जत्तिकै महत्वपूर्ण एवं अर्थपूर्ण रहेको अमेरिका-ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स लीले बताउनुभएको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?