महासंघको ५७ औँ साधारणसभा सुरु

Read Time = 11 mins

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभा मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय मुलुकको समग्र आर्थिक सूचकमा सुधार हुँदै गएको दाबी गर्नुभयो । राजस्वमा सुधार भएको, रेमिट्यान्समा सुधार भएको, विदेशी मुद्राको सञ्चिति उत्साहजनक अवस्थामा पुगेको जिकिर गर्दै उहाँले आगामी बजेट, नीति तथा कार्यक्रम उत्पादनमूलक क्षेत्रलाई सहुलियत दिने आउने बताउनुभयो । निजी क्षेत्रको समस्या समाधान गरेरमात्रै अर्थतन्त्रका समस्या समाधान हुने भन्दै प्रधानमन्त्री दाहालले राष्ट्र बैंक, अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयबीच समस्या समाधान गर्न पटक–पटक छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्थतन्त्र सुधार गर्न सम्पूर्ण तागत लगाइरहेको छु, जसले गर्दा अर्थतन्त्रमा सुधार भएको छ । राजस्व डेढ अर्ब, रेमिट्यान्स एक खर्ब संकलन भइरहेको छ, बैंक ब्याजदर घटाउन सरकारले काम गरिरहेको छ, राज्य निजी क्षेत्रसँग सहकार्य गर्न र संविधानमा उल्लेख भएका व्यवस्था कार्यान्वयन गर्न तल्लीन छ ।’

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताउनुभयो । नेपालको समग्र अर्थतन्त्रलाई विश्लेषण गर्ने हो भने आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले अल्पकालीनमा पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित रहेको बताउनुभएको हो । मन्त्री महतले भन्नुभयो, ‘हामी सबैमा कमी कमजोरी छ । त्यसलाई सुधार गरेर अघि बढ्नुपर्छ । हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब परेको छ । केही अप्ठ्यारो सिर्जना भएका छन् । सरकार, अर्थ मन्त्रालय र म अर्थमन्त्रीले यो दबाब र अप्ठ्यारालाई गम्भीरतासाथ लिएका छौँ । तर पनि समग्रमा निराश हुनुपर्ने कारण छैन । बाहृय सञ्चिति, विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले गर्दा हामी आत्तिहाल्नुपर्ने छैन । यो परिवेशमा पनि सात अंकभन्दा माथि आर्थिक वृद्धि छ । अन्तर्राष्ट्रिय परिस्थितिको आर्थिक विकास र रूपान्तरणको समस्या छ । उद्योग व्यवसायमा लगानीको समस्या छ । ती समस्या हल गरेर एउटा सकारात्मक आर्थिक वातावरण सिर्जना गर्न हामी सक्षम छौँ भन्ने मलाई विश्वास छ ।’

अर्थमन्त्री महतले साधारण खर्च हदैसम्म कम गरेर समयमै खर्च गर्ने पद्धति अघि बढाएर राज्यको सेवा प्रवाह प्रभावकारी बनाइने, सरकारभन्दा पनि निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउने भएकाले कानुनी अप्ठ्यारा हटाउने, प्रतिस्पर्धी वातावरण सुनिश्चित गर्ने, वैदेशिक लगानी सहज बनाउने, प्रशासनिक झन्झट हटाउने कुरामा सरकार तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान र दक्षताको उपयोग गर्ने, पुँजीगत खर्च अझ बढाएर लैजान सरकार क्रियाशील हुनेछ । निजी क्षेत्रलाई लगानीमा जुन समस्या छ, बजार मन्दीबाट गुज्रिरहेको छ, सटरहरू बन्द भइरहेका छन्, खुलेकाहरू पनि घाटामा चलिरहेका छन् । यसका केही कारण छन्, उद्योग व्यवसायी यसबारे जानकार छन् ।’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सहयोगबिना सरकारले काम गर्न नसक्ने भन्दै निजी क्षेत्रका सबै समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।

महासंघ अध्यक्ष शेखर गोल्छाले महासंघमा आफ्नो कार्यकाल चुनौतीपूर्ण रहेको भन्दै कोरोना महामारीलगायत रुस र युक्रेनका कारण काम गर्ने वातावरणमा असहज परिस्थिति आएको बताउनुभयो । राजनीतिक अस्थिरताका कारण आफ्नो कार्यकालमा तीन प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने स्थिति आएको उहाँको भनाइ थियो ।

अध्यक्ष गोल्छाले भन्नुभयो, ‘हामीभन्दा कमजोर मुलुक आर्थिकरूपमा समुन्नत भइसके तर हामी पछि धकेलिनुपरेको छ, उद्यम व्यवसाय चल्न सकेनन् भने बैंकहरू चल्न सक्दैनन् भनेर बैंकहरूले हेक्का राख्नुपर्छ, निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउनेलगायत पर्चा सबैले देखिने गरी संसद् र संसद्बाहिर राख्न आग्रह छ । जिडिपीमा ८१ प्रतिशत योगदान निजी क्षेत्रको रहेको छ ।’
बैंकर्स संघसँग छलफल गरेर धेरै ठाउँका विवाद समाधान गरिएको बताउँदै अध्यक्ष गोल्छाले व्यापार घाटा थेग्न नसक्ने अहिलेको अवस्था तत्काल समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बिजुली किन सस्तो हुन सकेन, ब्याज किन धेरै उतारचढाव हुन्छ ? यो विषयमा सरकारले सोच्नुपर्ने भइसकेको छ । विदेशी कम्पनी स्वदेश आएर सञ्चालन हुँदा नाफा भए पनि विदेशी लगानीका कम्पनी आउन मानेका छैनन् ।’ महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको बताउनुभयो । उहाँले भन्नुभया,े ‘आर्थिक गतिविधि शिथिल छन् । आपूर्ति प्रणाली खलबलिएको छ । उद्योगी÷व्यवसायी समस्यामा छौँ । विकास खर्च अत्यन्त न्यून छ । राजस्वले साधारण खर्चसमेत धान्न सकिरहेको छैन तर सबै सरोकारवालाले बेलैमा विचार पु¥याउने हो भने अहिलेको आर्थिक समस्या पार लगाउन गाह्रो पनि छैन ।’

बुधबारसम्म चल्ने साधारणसभाले महासंघमा नयाँ नेतृत्वसमेत चयन गर्नेछ । विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्षमा चयन हुनुहुनेछ । वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन हुनेछ । लुम्बिनी प्रदेश र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ सदस्य पदमा सर्वसहमति भएको छ भने बाँकी ६१ पदमा लागि एक सय १६ जनाको उम्मेदवारी परेको महासंघले जनाएको छ । वरिष्ठ उपाध्यक्ष पदमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यस्तै, वस्तुगततर्फको उपाध्यक्ष पदका लागि हेमराज ढकाल, मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनले उम्मेदवारी दिएका छन् । जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी, दिनेश श्रेष्ठ, एसोसिएटतर्फको उपाध्यक्षमा भरतराज आचार्य र ज्योत्सना श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।

उत्कृष्ट करदाता सम्मानित
साधारणसभाका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । निर्यात कारोबारमा सबैभन्दा बढी आयकर तिर्ने शिवशक्ति घ्यू उद्योग प्रालि, बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंक, पर्यटनतर्फ सबैभन्दा बढी आयकर तिर्ने मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ सबैभन्दा बढी आयकर तिर्ने हंसराज हुलास चन्द एण्ड कम्पनी रहेका छन् ।

त्यस्तै, मध्यस्तर करदातातर्फ सबैभन्दा बढी आयकर तिर्ने नेपाल स्टक लिमिटेड, रेमिट्यान्स कम्पनीतर्फ सबैभन्दा बढी आयकर तिर्ने आइएमई लिमिटेड, शिक्षा सेवातर्फ नोबल मेडिकल कलेज, विशेष उद्योगतर्फ राजेश मेटल उद्योग, सबैभन्दा बढी अन्तःशुल्क तिर्ने सूर्य नेपाल प्रालि र सबैभन्दा बढी मूल्य अभिवृद्धिकर तिर्ने गोर्खा ब्रुअरी प्रालि रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?