विश्वकै दुर्लभ ‘लोन्डेसी गुराँस’ म्याग्दीको नारच्याँङमा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । विश्वकै दुर्लभ प्रजाती मानिएको लोन्डेसी गुराँस म्याग्दीको एउटा जंगलमा भेटिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँ पालिका ४ मा पर्ने जैविक विविधताले युक्त नारच्याङ गाउँको शिरान र अन्नपूर्ण हिमालको फेदमा पर्ने भुस्केट मेला जंगलमा उक्त दुर्लभ गुराँस भेटिएको हो ।

अन्नपूर्ण हिमालको आधार शिविर पुगेर बुधवार नारच्याङमा फर्किएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङका वडा अध्यक्ष लोकबहादुर फगामी आफ्नै वडाको जंगलमा विश्वकै दुर्लभ ‘लोन्डेसी’ प्रजातिको गुराँस देखेर दङ्गै पर्नुभयो ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको ‘भुस्केट मेला’ जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस पहिलो पटक देख्दा यसको संरक्षण कसरी गर्ने होला भन्ने कुरा मनमा खेलीरहेको उहाँले बताउनुभयो ।

पाँच वर्ष अघि २०७५ सालमा नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलभन्दा माथिल्लो क्षेत्रमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको भन्ने कुरा सुन्नुभएका फगामीले अहिले आफूले प्रत्यक्ष देखे पछि यसको संरक्षणका लागि गाउँपालिकासँग समन्वय गरेर वडाले योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बिहीवार साँझ हिमालयटाइम्ससँग कुरा गर्दै वडाअध्यक्ष फगामीले भन्नुभयो ‘पाँच वर्ष अघि नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइले अनुसन्धान गर्दा वातावरणविद् कुलप्रसाद लिम्बू र कमल मादेनले नारच्याङको जङ्गलमा भेटिएको नयाँ प्रजातिको गुराँस ‘लोन्डेसी’ नै भएको पुष्टि गरेका थिए’ फगामीले भन्नुभयो, ‘तर,त्यतिबेला हामीहरुले पत्याएनौं र संरक्षणको कुनै प्रयास पनि भएन, आगामी आइतवार वा सोमवार विशेष वैठक वोलाएर यसको संरक्षणका लागि आवश्यक योजना बनाउँछौं ।’

वडाअध्यक्ष फगामीका अनुसार नारच्याङको हुमकला सामुदायिक वन भन्दा माथि र अन्नपूर्ण हिमालको आधारशिविर भन्दा तलको क्षेत्रमा यो प्रजातिको गुराँस देखिएको छ ।

समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा बढीको उचाइमा मात्र पाइने यो प्रजातिको गुराँस मुस्ताङ, मनाङलगायतका उच्च हिमाली भेगका जङ्गलमा पनि नभेटिएको तर त्योभन्दा कमको नारच्याङको जङ्गलमा भेटिएकाले वातावरणविद्समेत आश्चर्यमा परेका उहाँको भनाइ छ ।

वडाअध्यक्ष फगामीका अनुसार यो गुराँसको बोटको उचाइ करीब पाँच सेन्टिमिटर मात्र हुने गर्छ । पहेँलो र गुलाबी मिश्रण भएजस्तो देखिने यसको रङ हुन्छ भने फूल अत्यन्त सानो हुन्छ ।

नारच्याङको जङ्गलमा भेटिएको यस्तो दुर्लभ प्रजातिको गुराँसको संरक्षणमा वडा कार्यालयले अझै व्यापकरूपमा खोजी अनुसन्धान गर्ने र संरक्षणका उपाय अपनाइने वडाध्यक्ष फगामीले बताउनुभयो ।

चार वर्ष अघि २०७६ सालमा मिस्त्रीखोला जलविद्यूत आयोजनाको वातावरण एकाइमा कार्यरत शिव पूर्जाको पहलमा ‘लोन्डेसी’ संरक्षणको कुरा उठे पनि त्यस पछि वातावरण एकाइ प्रोजेक्ट नै समाप्त भएको र त्यहाँ कार्यरत शिव पूर्जा लगाएतका वातावरण क्षेत्रका जानकारहरु पनि विदेश लागेकाले कुनै पहल हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?