तुइनबाट खसेर बर्सेनि अकालमै ज्यान गुमाउँदै नागरिक

दुई वर्षभित्र विस्थापित गर्ने लक्ष्य आठ वर्षसम्म पनि भएन पूरा

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । शनिबार दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एकजनाको मृत्यु भएको छ । शनिबार दिउँसो तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता हुनुभएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको हो । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित दुम्लिङ नजिकै नेपाल-भारत जोड्ने तुइनबाट खसेर भण्डारी बेपत्ता हुनुभएको थियो । दिउँसो बेपत्ता हुनुभएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदीपारि भारततर्फ फेला परेको हो । महाकाली पारि भारततर्फ रहनुभएकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै हुनुहुन्थ्यो ।

भण्डारीकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किंदै हुनुहुन्थ्यो । जसोदा सामान किनमेल गरी दार्चुला सदरमुकाम खलंगाबाट भारतीय भूभाग धारचुला हुँदै घर फर्किंदै गरेको ब्याँस गाउँपालिका-२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिनुभएको छ । नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किन लाग्नुभएको थियो । सिङ्दलसिंहको शव भारतीय भू-भागमा फेला परेकाले भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी छन् । उहाँकी श्रीमतीको भने चार वर्ष अघि निधन भएको बताइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ असोज २०७२ मा पहिलोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदा दुई वर्षभित्र तुइन विस्थापन गरिसक्ने निर्णय गर्नुभएको थियो । ओली नै २०७४ फागुन ३ मा दुईतिहाइ बहुमतसहित दोस्रोपटक प्रधानमन्त्री हुनुभयो । दुईतिहाइको बहुमतसहित ओलीले ४१ महिना मुलुकको शासनसत्ताको बागडोर सम्हाल्नुभयो । तर, पहिलो कार्यकालमा घोषणा गर्नुभएको तुइन विस्थापनको आफ्नो प्रमुख लक्ष्यमा पूर्णत विफल हुनुभयो । ओलीपछि दुई/दुईपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको बागडोर सम्हालिसक्नु भएको छ । तुइन विस्थापित गर्ने घोषणा भएको करिब आठ वर्ष बितिसक्दा पनि न त तुइन विस्थापित भएका छन् न त तुइनबाट खसेर नागरिकको अकालमै ज्यान जान रोकिएको छ ।

यसअघि गत असार अर्थात् २०७९ असार २३ गते दार्चुलाको ब्याँस गाउँपालिका-२, दुम्लिङका १७ वर्षीय सचिन बुढाथोकी भारतबाट महाकाली तरेर नेपाल तर्फआउने क्रममा तुइनबाट खसेर बेपत्ता हुनुभएको थियो । २०७८ साउन १५ मा भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा खुस्काइदिएपछि महाकाली नदीमा खसेर ब्यास गाउँपालिका-२, मालघाटका ३३ वर्षीय जयसिंह धामी बेपत्ता हुनुभएको थियो । नेपाल तर्फको मालघाटबाट भारतको धार्चुलामा पर्ने गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँड्नुभएका धामी तुइनबाट नदी पार गर्नेक्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीले लठ्ठा खुस्काइदिएपछि महाकालीमा खस्नुभएको थियो । घटनामा दोषीमाथि कारबाहीको लागि नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको थियो । तर, घटना सामसुम पार्न माफी माग्ने काम भए पनि यस्ता घटना दोहोरिन नदिने विश्वासिलो प्रतिबद्धता भारत सरकारबाट नआएको टिप्पणी हुँदै आएको छ ।

६४ वर्षमा दार्चुलाका मात्रै करिब ६५ नागरिक तुइनबाट खसेर महाकालीमा बिलाएका छन् । ०१६ यता तुइनबाट महाकालीमा खसेकामध्ये शनिबारको घटनाबाहेक ब्याँस गाउँपालिका-५ का दिलीपसिंह धामी र वीरसिंह धामीको शव मात्रै भेटिएको तथ्यांक छ । उहाँहरू ०५८ मा सोही वडाको ठण्डापानीस्थित तुइनबाट खस्नुभएको थियो । यीसहित ब्याँस–५ का मात्रै १९ जना जिल्लाका विभिन्न तुइनबाट खसेर बेपत्ता छन् । जिल्ला प्रहरी दार्चुलाको तथ्यांकअनुसार ब्याँस-२ का मात्रै सबैभन्दा धेरै २४ जना तुइनबाट खसेर बेपत्ता भएका छन् ।

शनिवारको घटनासहित २६ वर्षको अवधि महाकाली नदीका तुइनबाट खसेर मात्र २७ जनाले ज्यान गुमाइसकेका छन् भने अन्य नदी तथा खोलाका तुइनले पनि यो अवधिमा धेरैको ज्यान लिइसकेको छ । तुइन विस्थापनको नीति पूर्ण कार्यान्वयन हुनु त कता हो कता तुइनबाट मृत्यु हुनेको एकीकृत अभिलेखसमेत सरकारसँग छैन । १९७ किमि लम्बाइको नेपाल-भारत सीमा लम्बाईमध्ये महाकाली नेपाल-भारत सीमावर्ती नदी हो । घरायसी र दैनिक उपभोग्य वस्तु किनमेल गर्नसमेत भारतीय बजारमा जानुपर्ने बाध्यता छ । सहजै वारपार गर्न पायक पर्ने ठाउँमा पुल छैनन् । निर्माण योजनामा रहेका पुल पनि समयमै नबन्दा तुइनबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ । झोलुंगे पुल नहुँदा तुइनको भरमा वारपार गर्नुपर्ने स्थानीयको बाध्यता छ ।

त्यसो त दार्चुलाबाहेक अरू जिल्लामा पनि तुइनबाट खसेर नागरिकले ज्यान गुमाउने गरेका छन् । पछिल्ला केही वर्षका मात्रै घटना हेर्ने हो भने २०७७ साउन ६ मा हेटौँडाका ७७ वर्षीय कृष्णप्रसाद पराजुलीले सामरी र राप्ती खोलाको दोभान नजिकै टाँगिएको तुइनबाट खसेर ज्यान गुमाउनुभयो । त्यही महिनाको साउन १९ मा लमजुङको दोर्दी खोला तर्ने क्रममा तुइनबाट खसेर दोर्दी गाउँपालिकाकी फूलमाया गुरुङ बेपत्ता हुनुभयो । २०७२ पुसमा दार्चुलाकै सुन्सेराका ५५ वर्षीय चन्द्रसिंह कुँवर तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता हुनुभएको थियो । अरू थुप्रै स्थानमा विद्यार्थीदेखि मेलापात र घाँस दाउरा गर्दा पनि तुइनकै भर पर्नुपर्ने बाध्यता हटेको छैन । महाकाली, कर्णाली, सेती, कालीगण्डकी भेरीलगायत ठूला नदी हुन वा स्थानीय खहरे र ठूला खोला, आवश्यकताअनुसार पायक पर्ने ठाउँमा पुल नबन्दा ज्यान गुमाउनुपरेका दुःखदायी घटना मात्र होइन, नदी तथा खोलाबाट तुइनमार्फत दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छैन ।

आर्थिक वर्ष २०७६/७७ भित्र देशबाट तुइन विस्थापित गरिसक्ने योजना तत्कालीन केपी शर्मा ओली सरकारले घोषणा गरेको थियो । त्यसअघि २०७५ साउन १८ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत योजना तथा अनुगमन शाखाले सबै स्थानीय तहलाई पत्र पठाउँदै विभिन्न स्थानमा रहेका नदी, खोला वारपार गर्न सुरक्षित उपाय नभएको अवस्थामा निर्माण गरिएका तुइनलाई झोलुंगे पुलले प्रतिस्थापन गरी तुइन निर्माण कार्य रोक्न निर्देशन दिएको थियो । तुइन हटाउन २०७३ मा सरकारले ‘सार्वजनिक तुइन विस्थापन कार्यविधि’ नै जारी गरेको थियो । त्यसको दुई वर्षपछि मन्त्रिपरिषद्को २०७५ भदौ २९ को बैठकले तुइनको प्रयोग रोकथाम, नियन्त्रण, निरुत्साहित गर्न तथा तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको उद्धार तथा सहायतासम्बन्धी कोष सञ्चालन नियमावली-२०७५ ल्याएको थियो । तर, मानवीय क्षति हुने गरी बर्सेनि घटना दोहोरिने क्रम अहिले पनि रोकिएको छैन । नेपालमा छैटौँ पञ्चवर्षीय योजना सुरु भएदेखि सरकारी अभिलेखमा तुइन उल्लेख गरिएको छ । सातौँ पञ्चवर्षीय योजनामा तुइनको अध्ययन सुरु गरिएको छ । पछिल्लोपटक ०७२ देखि सरकारले तुइन विस्थापन अभियानलाई गति दिए पनि दार्चुलामा मात्रै अझै आधा दर्जन तुइन छन् ।

ट्युबबाट महाकाली तर्दा पाँचजनाले ज्यान गुमाए
महाकालीले सीमा छुट्याएका दार्चुलाका सीमा क्षेत्रका स्थानीयले खाद्यान्नलगायत दैनिक आवश्यकता सरसामानको जोहो विगतदेखि भारतबाटै गर्दै आएका छन् । आउजाउका लागि नजिक तुइन नहुनेले गाडीको ट्युब प्रयोग गरेर महाकाली वारपार गर्ने गरेका थिए । यसक्रममा पाँचजनाले ज्यान गुमाएका छन् । उनीहरू सबै लेकम गाउँपालिकाका हुन् । ०६९ मा ३२ वर्षीय दामोदर जोशी र ३० वर्षीय अर्जुन पन्तले लेकम-३ खन्याघाटमा ट्युब तर्ने क्रममा ज्यान गुमाउनुभयो । त्यसको तीन वर्षअघि ०६६ मा ३५ वर्षीय शिवराज पन्तले लेकम-३ स्थित गौडेगाडाबाट ट्युबमा महाकाली तर्दातर्दै ज्यान गुमाउनुभयो । ०६१ मा १७ वर्षीय गणेश धामी र ४८ वर्षीय मणिदत्त जोशीले पनि लेकम-३ स्थित पुलघाटबाट ट्युबमा महाकाली तर्ने क्रममा ज्यान गुमाउनुभयो ।

तुइन विस्थापनको समस्या
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन व्यवस्थापनको योजना त्यसपछिका सरकारले पनि निरन्तरता दिएका छन् । २०७९ साल मंसिरमा सम्पन्न आमनिर्वाचनपछि बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका सहरी विकास मन्त्री विक्रम पाण्डेले पनि तुइन विस्थापनलाई मुख्य एजेण्डाअन्तर्गत राख्नुभएको थियो । तर, मन्त्री पदमा बहाल रहेको अवधिसम्म पाण्डेले योजनाको ठोस काम अगाडि बढाउन भने सक्नुभएन ।

सरोकारवालाहरूले तुइन भएका केही स्थानमा पुलको सम्भाव्यता नहुन तुइन विस्थापनको पहिलो चुनौती रहेको औँल्याएका छन् । भारतीय सीमा भएको क्षेत्रमा भने भारतले लिखित सहमति जनाए पनि व्यक्तिले आफ्नो जग्गा प्रयोगका लागि मन्जुरी नजनाउनुले अर्को समस्या रहेको सरकारी अधिकारीहरूको भनाइ छ । भारतीय क्षेत्रमा मजदुरलगायत आफूले आवश्यक परेको समयमा जान नपाउनु र सामान खसाल्न नपाउनुलाई थप चुनौतीका रूपमा देखा परेको छ । कोरोनाभाइरसको महामारी र संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका कारण पनि तुईन विस्थापन गरेर पुल निर्माणको काम प्रभावित भएको सरकारी निकायको जिकिर छ । भौगोलिक कठिनाइका कारण पनि तुइन विस्थापनको कामले पूर्णता नपाएको सरकारी निकायको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?