राउटे समुदायको व्यवस्थापन गर्न माग

हिमालय टाइम्स
Read Time = 2 mins

दैलेख । जङ्गलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ ।

तीनैतहको सरकारले राउटे समुदायको उचित व्यवस्थानमा उच्च प्राथकिता दिन आग्रह समेत गरिएको छ । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले भन्नुभयो, “राउटे समुदायको इतिहासलाई ख्याल गर्दै उनीहरूको वास्तविक समस्या पहिचान गर्नुपर्छ । सरकारले टोली परिचालन गरेर उनीहरूलाई आवश्यक पर्ने कुरा जिन्सी सामान प्रदान गर्नुपर्छ । नगद कारोबार बन्द गर्नुपर्छ । तीनै तहका सरकारले यो विषयमा गम्भीर हुनुपर्दछ ।”

दैलेख उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजु श्रेष्ठले मदिरा सेवनका कारण राउटे समुदायको अवस्था दयनीय बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले पौष्टिक आहार प्रवर्द्धनसँगै उनीहरूले उत्पादन गर्ने सामग्रीको प्रभावकारी बजारीकरणमा विशेष ध्यान दिनुपर्छ । ”
सुशासनकर्मी युवराज शाहीले राउटे समुदायलाई कुलतबाट जोगाउन सबैले ध्यान दिनुपर्नेमा जोठ दिनुभयो । उनीहरुलाई विस्तारै-विस्तारै आत्मनिर्भर अभियानमा जोड्न उहाँले सुझाव दिनुभयो ।

स्थानीय पदम थापाले राउटे समुदायलाई उत्पादनमा जोड्दै जुन स्थानमा जान्छन् सोही स्थानमा पुगेर उनीहरूलाई नगद प्रवाहको विकल्पमा आवश्यक लत्ताकपडा, खाद्यान्न, औषधिलगायतका वस्तुको सहज उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ तीनै तहका सरकारले विशेष निगरानी गर्ने टोली परिचालन गर्नुपर्छ । नत्र राउटेको अस्तित्व सङ्कटमा पर्न सक्छ ।” रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?