विद्युत् समस्या दुई साताभित्रै समाधान हुने दाबी

Read Time = 6 mins

काठमाडौं । उद्योगमा अघोषित लोडसेडिङसँगै उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएपछि नेपाल विद्युत् प्राधिकरणले भने विद्युत् आपूर्ति समस्या अल्पकालीन भन्दै छिट्टै समाधान हुने दाबी गरेको छ । प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको जिकिर गरेको हो । बिनाजानकारी उद्योगको विद्युत् आपूर्ति कटौती गरिएको भन्ने उद्योगीबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा क्षेत्रका पत्रकारहरूसँगको भेटमा सो क्षेत्रमा देखिएको समस्या १०/१५ दिनमा समाधान हुने भन्दै समस्या बुझिदिन उद्योगीलाई आग्रह गर्नुभयो ।

यस वर्ष हिउँ÷पानी नपरेर सुक्खायाम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको, धनुषाको ढक्केबर सबस्टेसनबाट थप विद्युत् पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको, सप्तरीको रूपनी सबस्टेसनको बे्रकर चुँडिएको र कटैया-कुशहवा १३२ केभी प्रसारण लाइनमार्फत् भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा मागअनुसार आपूर्ति गर्न समस्या भएको उहाँले बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङका अनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत् आयोजनाको जडित क्षमता करिब दुर्ई सय मेगावाट भए तापनि हिउँ/पानी नपर्दा अहिले करिब ३० मेगावाटमात्र उत्पादन भई काबेली करिडोर प्रसारण लाइनमार्फत् प्रवाह भइरहेको छ तर एक-दुर्ई दिनदेखि ती आयोजनाबाट विद्युत् उत्पादन बढ्दै गएकाले उद्योगमा अहिले नियमित विद्युत् आपूर्ति भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगलाई विद्युत् काटेका छैनौँ, लाइटिङ लोडमा मात्र चलाऊ भनेका थियौँ, काबेली करिडोरमा उत्पादन बढ्नासाथ उद्योगलाई विद्युत् आपूर्ति दिन सुरु गरिसकेका छौँ, अहिले देखिएको अल्पकालीन समस्या हो, ठूलो समस्या होइन, अब १०/१५ दिनमा मनसुन सुरु हुने अनुमान गरिएकाले खोलानालामा पानीको वहाब बढेसँगै विद्युत् उत्पादन वृद्धि हुन्छ ।’

त्यसपछि आन्तरिकरूपमा खपत गरी अतिरिक्त भएको विद्युत् जेठको पहिलो हप्ताबाट भारततर्फ निर्यात सुरु गरिने उहाँले बताउनुभएको छ । यस वर्ष करिब एक हजार दुई सय मेगावाट विद्युत् निर्यात स्वीकृतिका लागि भारतीय निकायहरूमा आयोजनाहरूको सूची पठाइसकेको घिसिङको भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङका अनुसार हाल प्रणालीमा विद्युत््को उच्चतम् माग एक हजार सात सय ५० मेगावाट पुगेको छ । औसत माग एक हजार तीन सय मेगावाट र आधार माग एक हजार दुई सय ७५ मेगावाट रहेको छ । तराईमा गर्मी बढ्दा खेतमा सिंचाइ गर्न सिंचाइको लोड अत्यधिक बढेको छ । झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र विद्युत् माग ८० मेगावाट पुगेको छ ।

प्राधिकरणले कुलेखानी जलाशयलाई २४सै घण्टा पूर्ण क्षमतामा चलाएको छ । आन्तरिक उत्पादनले विद्युत् माग धान्न नसकेपछि दैनिकरूपमा औसतमा पाँच सय मेगावाट आयात गरिएको छ । गत वर्षभन्दा यस वर्ष आयोजनाको जडित क्षमता बढे पनि पानी/हिउँ नपर्दा विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको छ । प्राधिकरणका विद्युत््गृहबाहेक निजी क्षेत्रका जलविद्युत्गृहको विद्युत् उत्पादन जडित क्षमताको करिब १४ प्रतिशतमात्र रहेको प्राधिकरणको अनुमान छ ।

कार्यकारी निर्देशक घिसिङले आगामी वर्षको गर्मी मौसममा अहिलेको जस्तो समस्या आउन नदिन अहिले ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन र हेटौंडा-भरतपुर-बर्दघाट-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइन निर्माण जति सक्दो छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो । उल्लेखित लाइन बनेपछि ढल्केबरबाट पूर्व र पश्चिम विद्युत् प्रवाहका लागि प्रसारण लाइनको समस्या नहुने उहाँको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?