कार्यविधिबिना नै स्वकीय सचिवलाई तलबभत्ता

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीको एक पालिकाले कार्यविधिबिना नै स्वकीय सचिवलाई तलब भत्ता दिँदै आएको छ । जिल्लाको सुर्नया गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिवलाई कार्यविधिबिना तलब भत्ता भुक्तानी गरिरहेको पाइएको हो । अध्यक्ष अम्मरबहादुर कुँवरको स्वकीय सचिवलाई मासिक ३४ हजार र उपाध्यक्ष मञ्जु बोहराको स्वकीय सचिवलाई मासिक ३२ हजारका दरले तलब भुक्तानी हुँदै आएको छ ।

गत १० पुसमा कार्यपालिकाले अध्यक्ष र उपाध्यक्षका लागि स्वकीय सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । ११ पुसमा करारमा सम्झौता गरिएको भएपनि गएको साउनदेखि नै उनीहरूले तलबभत्ता बुझिरहेका छन् । करार सम्झौता भएको मितिभन्दा अगाडिबाटै स्वकीय सचिवलाई तलब भत्ता दिएको भन्दै यो विषयमा गाउँपालिकाको चर्को आलोचना भएको छ । ऐन नियमविपरीत गाउँपालिकाले हचुवाका भरमा नियुक्ति दिएर राज्यकोषको दुरुपयोग भएको भन्दै स्थानीय नागरिक आक्रोशितसमेत भएका छन् ।

पालिकाले स्वकीय नियुक्त गरेर नियमविपरीत तलब खुवाउनु राज्यकोषको चरम दुरुपयोग भएको स्थानीय प्रकाश भट्टले बताउनुभयो । ‘जनताको कामप्रति जनप्रतिनिधि उत्तरदायी हुनुपर्ने तर यहाँ त सुविधामुखी भएका छन’, अर्का स्थानीय विशाल भट्टले भन्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले कार्यविधि बनाएर स्वकीय राख्न पाउने व्यवस्था भए पनि कार्यविधि नबनेको बताउनुभयो । ‘यो निर्णय म आउनुभन्दा पहिला नै भएको छ । यस विषयमा कमजोरी भएको छ’ उहाँले भन्नुभयो, ‘यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेर अगाडि बढ्छौँ ।’

यो विषयमा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले कार्यविधि नबनाउनु आफूहरूको कमजोरी रहेको स्वीकार्दै तत्कालै यो विषयमा कानुनसम्मत तरिकाले अघि बढ्ने बताउनुभयो । कार्यविधि बनाएर यो विषयमा टुंगो लगाइने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?