कृपा र सोनुलाई राइजिंगस्टारको उपाधि

Read Time = 4 mins

काठमाडौं । क्रियटिभ वल्र्ड नेपालको आयोजनामा सम्पन्न भएको सातौं राइजिंगस्टार प्रतियोगितामा जुनियरमा कृपा गौतम र सिनियरमा सोनु महताराले उपाधि चुम्न सफल हुनुभएको छ । काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न भएको प्रतियोगितामा इपिएस स्कुल, मीन भवनमा कक्षा ५ मा अध्ययनरत कृपा गौतम र सिनियरमा नेशनल एकेडेमी, शंखमूलमा कक्षा ७ मा अध्ययनरत सोनु महतारा विजयी हुनुभएको हो ।

विजेताद्वयले जनही नगद पचास हजार रुपैयाँको चेकसहित अवार्ड, क्राउन र विभिन्न उपहार प्राप्त गर्नुभएको छ । यस्तै मोष्ट ट्यालेन्टेड अवार्डसमेत उहाँहरूको पोल्टामा पर्न सफल भएका छन् । यस्तै, प्रतियोगितामा फष्ट रनरअपको उपाधि जुनियरमा पवन प्रकृति हाइस्कुल, इमाडोलमा कक्षा ५ मा अध्ययनरत आकृति खापुङ र सिनियरतर्फ ग्रामर पब्लिक स्कुलमा कक्षा ७ मा अध्ययनरत सृजा शाहले प्राप्त गर्नुभयो ।

सेकेण्ड रनरअपको उपाधिमा जुनियरमा इडनब्रिज एकेडेमी, धापासीमा कक्षा ३ मा अध्ययनरत आलियाना अलि र सिनियरमा केएमसी स्कुल, कक्षा ९ मा अध्ययनरत एरिका अधिकारीले आफ्नो पोल्टामा पार्नुभयो ।

कार्यक्रममा टप थ्रीदेखि टप सेभेन सम्म र विभिन्न विधामा अन्य २४ जनालाई सबटाइटल अवार्ड उपाधी प्रदान गरिएको थियो भने चार जना अभिभावकलाई वेष्ट प्यारेन्ट्स अवार्डबाट समेत सम्मानित गरिएको थियो ।

प्रतियोगिताको निर्णायकमा प्याब्सन काठमाडौंका उपाध्यक्ष रीता राई (दाहाल), प्रभु बैंकका चिफ म्यानेजर मन्जयराज पाण्डे, राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बम बानियाँ, गायक अशोक मुकारुङ, मिस मंगोल २०२२ की विजेता पासाङ डोल्मा शेर्पा, डान्सिङस्टारका विजेता छिरिङ शेर्पा, राइजिंगस्टार सिजन चारका विजेता अस्मिता अधिकारी र राइजिंगस्टार सिजन पाँचका विजेता प्रशुन बडाल रहनुभएको थियो ।

शैक्षिक सत्रको अन्त्यमा हुने लामो बिदाको सदुपयोग गर्दै विद्यार्थी भाइबहिनीमा लुकेर रहेको प्रतिभा, बौद्धिक क्षमता र सुन्दरतालाई राष्ट्रियस्तरको कार्यक्रममार्फत प्रस्तुत गर्ने प्लेटफर्मको रूपमा राइजिंगस्टार कार्यक्रम विगत नौ वर्षदेखि आयोजना गरिँदै आएको कार्यक्रमका कार्यकारी व्यवस्थापक संगीतकार एवं प्राज्ञ शान्तिराम राईले बताउनुभयो ।

प्याब्सन काठमाडौंको सहकार्यमा सम्पन्न भएको प्रतियोगितामा ८७ जना काठमाडौंका विभिन्न स्कुलमा अध्ययन गर्ने कक्षा २ देखि ९ सम्मका विद्यार्थीले विभिन्न चरणको अडिशन राउण्डबाट छनौट भएर अन्तिम प्रतिस्पर्धाका लागि सहभागी भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?