नदी नियन्त्रणका लागि ग्याविन पर्खाल निर्माण

Read Time = 4 mins

म्याग्दी । म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटलाई कटानबाट जोगाउनका लागि म्याग्दी नदी किनारामा ग्याविन जाली भरेर पर्खाल लगाइएको छ । सातवर्ष अघि २०७२ सालदेखि बगरफाँटलाई नदी कटानबाट जोगाउनका लागि संरक्षणको काम हुँदै आएको छ । चालु आव २०७९/०८० मा पनि खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीको १० लाखमा ११२ थान जाली भरेर करिब ५० मिटर लम्बाइ र ३० मिटर उचाइको पर्खाल निर्माण कार्य सम्पन्न भएको छ ।
त्यसअघि गत आर्थिक वर्ष २०७८/०७९ मा खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीकै १५ लाख लागतमा १२३ थान तीन लिएर जाली भरेर पर्खाल निर्माण गरिएको बगरफाँट बस्ती संरक्षण आयोजनाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । त्यसैगरी, आर्थिक वर्ष २०७७/०७८ मा खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीमार्फत गण्डकी प्रदेश सरकारले २० लाख र आर्थिक वर्ष २०७६/०७७ मा गण्डकी प्रदेश सरकारकै ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करिब दुई किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटबन्ध गरिएको अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो ।

बगरफाँट क्षेत्रको रातढुंगादेखि पलाँसेसम्मको क्षेत्र म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको थियो । बस्ती संरक्षणका लागि म्याग्दी नदी किनारको यस क्षेत्रमा ग्याविन जाली लगाउनुबाहेक अर्को विकल्प नरहेकाले नदीको धार परिवर्तन गरी नदीजन्य वस्तुहरूलाई बगरफाँटतर्फ स्थानान्तरण गर्दै ग्याविन जाली लगाइएको हो । करिब दुई सय घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहे पनि बर्खामा भने नदी कटानका कारण सधैँ जोखिममा रहने गरेको स्थानीयले बताएका छन् ।

२०७५ सालमा स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त १० लाखबाट नदीजन्य वस्तुहरूको स्थानान्तरण गराई उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम सुरु गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । त्यसअघि पनि विभिन्न निकायहरूको सहयोगमा नदी किनारामा ग्याविन जाली लगाउने काम गरिएको थियो ।

अध्यक्ष कार्कीका अनुसार त्यतिखेर म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका-६ डम्मराका बासिन्दाहरूको आपसी सहमतिमा म्याग्दी नदीको करिब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्य वस्तु (ढुंगा, गेगर, बालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको थियो । नदीले बगरफाँटको करिब १५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइ सकेको छ भने खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र, पलासे र जरुवा उच्च जोखिममा परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?