पुर्खाको नासोलाई भविष्यको हाँसो नबनाऊँ !

Read Time = 15 mins

✍️ घनश्याम कोइराला

हामीभन्दा अघि हाम्रा पुर्खा थिए । पुर्खाबाट हामीले धेरै विषय उपहारजस्तै पाएका छौं । हाम्रो, समुदाय, धर्म, संस्कृति, नाम, थर आदि पहिचान हामीले पुर्खाबाट नै पाएका हौं । अहिले कस्तो चाहिन्छ, त्यो अहिले नै बनाउने हो । भोलि कस्तो बनाउने त्यो वर्तमानमा बाँचिरहेकाहरूले सोच्ने र गर्ने काम हो । तर, यसो गरिरहँदा विगतलाई धिक्कारेर, सरापेर होइन, विगतप्रति कृतज्ञ भएर गर्नुपर्दछ । अहिले पुर्खाको सांस्कृतिक नासोलाई भविष्यका लागि हाँसोको विषय नबनाउन ध्यान दिनुपर्ने हुन्छ । आफूले केही नगर्ने विगत र पुर्खालाई अपमान गर्ने काम नहोस् भन्नेतर्फ सदैव सावधान हुनुपर्दछ ।

कुनै पनि नियम, सिद्धान्त, विचार, धर्म, संस्कृति, परम्परा सबै परिस्थितिमा उस्तै रहन सक्दैनन् । कुनै एउटा खास परिस्थितिका लागि बनाइएका विधि अर्को परिस्थितिमा उसैगरी कामलाग्ने नहुन सक्दछन् । तिनीहरूमा आवश्यक परिवर्तन भइरहनुपर्दछ । कतिपय विषय भने पूरै परिवर्तन नै गर्नुपर्छ भन्ने हुँदैन अपितु, तिनीहरूका तत्काल औचित्य नभएका प्रसंगहरू छोडिदिएमात्र पुग्छ । तर, यसो गर्न मानिसले ती विषयमा वा तिनका बारेमा जानेको भने हुनै पर्दछ । कुनै विषय जान्दै नजानी, बुझ्दै नबुझी समर्थन, अवलम्बन या विरोध आफैंमा अन्धविश्वास हुन्छ । हामीले के कुरा भुल्न हुँदैन भने अन्धविश्वासको क्षेत्र भनेको धर्म-संस्कृतिमा मात्र हुँदैन, विज्ञानमा आधारित अन्धविश्वास पनि उत्तिकै असरदार हुन्छ ।

हाम्रो संस्कृति परम्पराबाट आएको हो । हाम्रो संस्कृति धर्मसँग जोडिएको छ । धर्म आजा-पूजासँग जोडिएको छ । आजा-पूजा स्वच्छतासँग जोडिएको छ । स्वच्छता प्रकृतिसँग जोडिएको छ । प्रकृति मानव जीवनसँग जोडिएको छ ।

कुनै पनि विषयलाई एउटामात्र कोणबाट हेर्ने हो भने विषय वा वस्तुको समग्रता थाहा पाउन सकिँदैन । हरेक विषय वा वस्तुलाई एकभन्दा बढी कोणबाट हेरियो भने यिनका धेरै पक्ष हेर्न, बुझ्न सकिन्छ । वस्तुलाई हेरिन्छ, विषयमा छलफल, बहस गर्न सकिन्छ । त्यसैले हाम्रो संस्कृतिमा वादे वादे जायते तत्वबोध ! अर्थात्, वाद-विवाद, अन्तक्रियाबाट नै वास्तविकताको जानकारी हुन सक्दछ भनिएको छ । यो विषय अन्यत्र त लागू हुन्छ नै धर्म-अध्यात्म, संस्कृतिका सन्दर्भमा पनि उत्तिकै कामलाग्दो छ । कुनै पनि विषयलाई एकातिरबाट मात्र हेरियो भने अर्को पाटो देखिँदैन र त्यो पूर्ण दृष्टि हुँदैन ।

हाम्रो समाजमा प्रचलित सनातन संस्कृति अत्यन्त विज्ञानसम्मत र जीवनोपयोगी छ र कालजयी छ । जीवनको हरेक पक्ष यसमा देख्न पाइन्छ । तर के पनि सत्य हो भने हाम्रा संस्कृतिका आधार जति विज्ञानसम्मत र जीवनोपयोगी छन्, यिनको अनुसरणमा उत्तिकै उदासीनता र अविश्वास पनि बढ्दै गएको छ । कतिपय विषयको औचित्य समयसापेक्ष हुन्छ । औचित्य गुमिसकेका व्यवहार बदल्न संस्कृति बाधक हुँदैन भन्ने बुझ्न र बुझाउने जिम्मेवारी पुर्खाको नभई हाम्रो । उहिलेको प्रवन्ध अहिले अमिल्दो हुनसक्दछ, यसमा परिवर्तन, परिमार्जन र परिष्कार गर्दै सामयिक, विश्वसनीय र अनुकरणीय बनाउनेतर्फ सबै सनातन संस्कृतिप्रेमीहरूको दायित्व हो । यसो गरेरमात्र भान्सादेखि भगवानसम्मको परनिर्भताबाट मुक्त हुन सकिन्छ ।

हाम्रो संस्कृति परम्पराबाट आएको हो । हाम्रो संस्कृति धर्मसँग जोडिएको छ । धर्म आजा-पूजासँग जोडिएको छ । आजा-पूजा स्वच्छतासँग जोडिएको छ । स्वच्छता प्रकृतिसँग जोडिएको छ । प्रकृति मानव जीवनसँग जोडिएको छ । प्रकृतिमा देवता छन् अर्थात् कल्याणकारी तत्व छ । यी देवता, जसले जीवनलाई सन्तुलित पार्दछन् । हाम्रा धर्ममा ईश्वर छन् । ईश्वरका विषयमा अनेकौं मान्यता, अनेकौं धारणा छन् । ईश्वरको सार र स्वरूपका विषयमा अनेकौं मतहरू छन् । यस विषयमा मत-मान्यता र धारणा बनाउने स्वतन्त्रता छ । ईश्वरको अस्तित्वका विषयमा द्वैत, अद्वैत, द्वैताद्वैत, विशिष्टाद्वैत आदि मान्यता छन् । समग्रतामा ईश्वरमा सृष्टि, स्थिति र लय अर्थात् बनाउने, बचाउने र नष्ट गर्ने शक्ति छ । यसका माध्यम, विधि, प्रक्रिया फरक-फरक छन् । धर्ममा उपासना छ । उपासनाका विधि छन् । उपासनामा सिद्धि छ, सफलता छ । धर्ममा यज्ञ छन् । यज्ञ अनेक छन् । यज्ञमा कर्मशीलता छ । कर्मशीलतामा अन्तर्निभरता छ । अन्तर्निभरतामा जिम्मेवारी छन् । जिम्मेवारीका लागि कर्तव्य निर्धारित छन् । यी सबैलाई जोडेर हेरौं त, हाम्रा पुर्खाले स्थापित गरेका चलनचल्ती कति रसिला छन्, आल्हादकारी छन् ।

संस्कृतको अर्को एउटा महत्वपूर्ण भनाइ उल्लेख गरौं : ‘शरीरमाद्यं खलु धर्मसाधनम् ।’ अर्थात् ‘सबै प्रकारका कर्तव्य निर्वाहका लागि शरीर पहिलो हो’ भनिएको छ । यसरी शरीरलाई प्राथमिकतामा राखिएको छ । शरीरको लागि खानपान आवश्यक हुन्छ । यस्तो खानपानमा ६ रस/स्वादको सन्तुलन आवश्यक पर्छ । मानसिक स्वास्थ्यको लागि भाव रसहरूको प्रावधान सुझाइएको छ । यस्ता अनेकानेक विषय त छन् नै, सधैं गरिने नित्यकर्ममा पनि साह्रै महत्वका विषय छन् ।

हाम्रो संस्कृतिमा बिहान उठ्नासाथ ‘प्रभाते करदर्शनम्’ भनेर करदर्शन (हात हेर्ने) प्रावधान छ । हातको महत्व के कति छ, सबैलाई थाहा छ । त्यसपछिको कर्म हुन्छ, भूमि वन्दना । ओछ्यानबाट उठेर भुइँमा टेक्नुअघि ‘पादस्पर्श क्षमस्व मे’ अर्थात् गोडाको छुआइका लागि मलाई क्षमा गर्नुहोला । पृथ्वीको महिमासँगै दिनको प्रारम्भ विनयशीलता प्रकट गरेर हुन्छ । कर्मशील र विनयशील हुने अभ्यास ओछ्यान नछोड्दै हुन्छ ।

शौचका नियम छन् । स्नानको अनिवार्यता छ । चिसो कपडाले, अरुले प्रयोग गरेको कपडाले शरीर पुछ्न नहुने विषय छ । खाने वस्तुहरू सोझै हातले पस्कन नहुने विषय छ । जप-सन्ध्या अनिवार्य गरिएको प्रसंगमा राखिएका प्रावधान महत्वपूर्ण छन् । साह्रै धेरै प्रसंग रहेकोले सबै यहाँ लेख्न सम्भव भएन । थप चर्चा गर्दै गरौँला । ‘अपवित्र पवित्रो वा ......’ आदि मन्त्रपूर्वक सन्ध्यास्थल र प्रयोग गरिने भाँडालगायत सबै वस्तुको जलद्वारा शुद्धीकरण गरिन्छ । गोमय (गोबर), गोमूत्र (गहुँत) आदिबाट शुद्धीकरणको प्रावधान छ ।
सुमुखं सम्पुटं चैव विततं विस्तृतं तथा ।
द्विमुखं त्रिमुखं चैव चतुष्पञ्चमुखं तथा ।।
षण्मुखाधोमुखं चैव व्यापकाञ्जलिकं तथा ।
शकटं यमपाशं च ग्रथितं चोन्मुखोन्मुखम् ।।
प्रलम्बं मुष्टिकं चैव मत्स्यः कूर्मो वराहकम् ।
सिंहाक्रान्तां महाक्रान्तं मुद्गरं पल्लवं तथा ।।
(सुमुख, सम्पुटं, वितत, विस्तृत, द्विमुख, त्रिमुख, चतुर्मुख, पञ्चमुख, षण्मुख, अधोमुख, व्यापकाञ्जलि, शकट, यमपाश, ग्रथित, उन्मुखोन्मुख, प्रलम्ब, मुष्टिक, मत्स्य, कूर्म, वराहक, सिंहाक्रान्त, महाक्रान्त, मुद्गर, पल्लव ।) यी सबै हातका व्यायाम हुन् । यसबारे आजका मानिसहरूलाई थाहा नहुन सक्दछ । कुनै दिन हातको यस्तो व्यायामबारे चिकित्सकीय सुझाव आयो भने सबैले यसको खोजी गर्न सक्नेछन् । पहिले पहिले योग भनेर हाम्रा पुर्खाले गर्दै आएका योगअभ्यास अहिले ‘योगा’ बनेर उपस्थित हुँदा ग्राहृय बनेको देखिन्छ । यसरी प्रातःसन्ध्या गर्ने समयमा हातका २४ प्रकारका व्यायाम गर्न भनिएको छ । श्वास-प्रश्वासको नियमितताको लागि र यस विधिबाट अक्सिजन प्राप्त गरी कार्बन डाइअक्साइड बाहिर फ्याँकेर शरीरको आन्तरिक शुद्धीकरण गर्न प्राणायामको प्रावधान छ ।

शौचका नियम छन् । स्नानको अनिवार्यता छ । चिसो कपडाले, अरूले प्रयोग गरेको कपडाले शरीर पुछ्न नहुने विषय छ । खाने वस्तुहरू सोझै हातले पस्कन नहुने विषय छ । जप-सन्ध्या अनिवार्य गरिएको प्रसंगमा राखिएका प्रावधान महत्वपूर्ण छन् ।

कुनै पनि जप-जाप पाठका क्रममा न्यास गरिन्छ । न्यास भनेको विश्वास हो, जग हो, सम्पत्ति हो, न्यास भनेको स्थापना हो । शरीरलाई र शरीरप्रतिको यो मान्यताको विज्ञान साह्रै महत्वपूर्ण छ । हातका सबै औंलाहरूलाई क्रमशः छुँदैजाने विधि करन्यास (हात) मा हुन्छ । त्यस्तै हृदय आदि गरी शरीरका सबै अङ्ग छुने अङ्गन्यास हुन्छ । यसरी शरीरका सबै अंगको सुनिश्चिततापछि दिङ् (पूर्वादि दिशा) न्यास हुन्छ । हातका औंला, सिंगो शरीर, सबै दिशाहरू, आकाश, धर्ती सबैतर्फ ध्यान दिएर अर्थात् सबैको अवस्था सुनिश्चित गरी दिन प्रारम्भ हुन्छ । यसमा केही अन्धविश्वास छैन ।

खाना खाँदा पनि निश्चित विधि छन् । खान बसिसकेपछि आफ्नो भागको भोजनलाई चारैतिर पानी घुमाएर यो उत्पादन र उपलब्ध गराउने दृश्य-अदृश्य, ज्ञात-अज्ञात सबैलाई स्मरण गरिन्छ । अनि भनिन्छ : भूपतये स्वाहा ! राजालाई समर्पण गर्दछु । भूवनपतये स्वाहा ! संसारका मालिकलाई समर्पण गर्दछु । भूतानां पतये स्वाहा ! सम्पूर्ण प्राणीहरूका संरक्षकलाई अर्पण गर्दछु । यी मन्त्रले भनेको के हो ? मैले खाँदै गरेको खान्की राज्यलाई करचुक्ता गरिएको हो ।

मैले खाँदै गरेको खान्की संसारप्रतिको दायित्वमा योगदान गरिसकिएको हो । मैले खाँदै गरेको खान्की सबै प्राणीहरूप्रतिको दायित्व पूरा गरेको हो । यसरी सबै प्रतिको दायित्व पूरा गरिसकेपछि मात्र आफूले भोजन गर्ने आशय स्पष्ट छ । राज्यलाई तिर, अन्तर्राष्ट्रलाई तिर र स्वेच्छिक दान गर । हामी यही गरिरहेका पनि छौं । तर, यस्तो पद्धतिको आधार अन्धविश्वासमा आरोपित छ ।

यस्ता प्रतीकात्मक विषय हाँसो र खिसिट्युरीका विषय होइनन् । बरू, आज मैले खाइरहेको अन्न/खाद्यमा मैले अनिवार्य रूपमा योगदान वा दायित्व पूरा गर्न बाँकी रहेको त छैन ? यसरी सधै भान्सामा नै हाम्रा पिता–पुर्खाले यस्ता विषय स्मरण गर्ने रीति चलाएका थिए । यहीँबाट नैतिकता र दायित्वशीलतालाई बलियो बनाएका थिए । हाम्रा संस्कृतिका यी पक्ष पुर्खाको नासो हुन्, यिनलाई विकृत पारेर भावी पुस्ताका लागि हाँसोका विषयका रूपमा परिणत नदिऊँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?