नेपालमै सामसुङ टिभी उत्पादन सुरु

Read Time = 4 mins

काठमाडौं । स्मार्टफोन र उपभोक्तामुखी इलेक्ट्रोनिक्सको विश्वव्यापी ब्राण्ड सामसुङले नेपालमा वर्षौंदेखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा टिभी उत्पादन सुरु गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रमबीच ल्याण्डमार्क टेलिभिजन कारखाना उद्घाटन गरेको हो । स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना गरेको यो नै पहिलो हो ।

सामसुङको नयाँ टेलिभिजन कारखाना उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र सामसुङ दक्षिण-पश्चिम एसियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेबी पार्कले संयुक्तरूपमा गर्नुभएको थियो । सो अवसरमा गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालस्थित कोरियाका राजदूत पार्क चोङ सुक, सामसुङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्कलगायतको उपस्थिति थियो ।

सामसुङ दक्षिण-पश्चिम एसियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत पार्कले भन्नुभयो, ‘नेपालमा दुई दशकभन्दा बढी समयदेखि रहिरहेको सामसुङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको छ । हाम्रो साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्ध अझ मजबुत बनाउनेछ र स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यको यो एक अर्को उदाहरण हो । सामसुङले यहाँका जनतालाई रोजगारीका अवसर उपलब्ध गराउनुका साथै दक्ष जनशक्ति निर्माण गर्न पनि कम्पनीले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास दिलाउँछौँ । नेपाल सरकार र स्थानीय निकायहरूले लिएको बलियो लक्ष्य र हामीलाई प्राप्त निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।’

गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोल्छाले भन्नुभयो, ‘सामसुङसँगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावना दर्शाउँछ । विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजारप्रति गहिरो अभिरुचि देखाएको छ । जुन हाम्रा लागि महत्वपूर्ण संकेत हो । यस क्षेत्रलाई प्रवद्र्धन गर्ने उपयुक्त नीतिसँगै हामी देशको अर्थतन्त्रमा रोजगारी, मूल्य अभिवृद्धि र देशको सीमापारिका अवसरका रूपमा धेरै सकारात्मक योगदान परेको देख्न सक्छौँ ।’ टेलिभिजन कारखानाको शिलान्यास अगष्ट २०२२ मा गरिएको थियो । सामसुङले नेपालको बजारमा आफ्नो साझेदारसँग मिलेर हाल उपभोग्य इलेक्ट्रोनिक्स उत्पादन टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ र स्मार्टफोन बिक्री गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?