सन्दीपको सानदार प्रदर्शनमा नेपाल समूह विजेता

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सन्दीप लामिछानेको सानदार प्रदर्शनमा नेपाल काठमाडौंमा जारी एसिसी प्रिमियर कपको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह ‘ए’को विजेता बनेको हो । सन्दीप लामिछानेले ब्याटिङपछि बलिङमा उत्कृष्ट प्रदर्शन गरेको खेलमा जितका लागि १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमा समेटियो ।

कतारका जाहिर इब्राहिम र खुराम शाहजादले १५-१५ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । यस्तै, कमरान खान आठ, इमाल लियानागे ६, जाहिर इब्राहिम १५ रनमा आउट हुनुभयो । त्यसबाहेक आमिर फारुकले १४ र वलिदले तीन रन जोड्नुभयो । नेपालका सन्दीप लामिछानेले ९.१ ओभरमा तीन मेडनसहित १४ रन खर्चेर पाँच विकेट लिनुभयो । सोमपाल कामीले सात ओभरमा एक मेडनससहित २४ रन खर्चेर तीन विकेट लिनुभयो । उहाँहरूबाहेक स्पिनर ललितनारायण राजवंशीले पाँच ओभरमा २७ रन खर्चेर तीन विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौकासहित ४२ रनमा नट आउट पारी खेल्नुभयो । एक समय २८ ओभरमा १११-९ को अवस्थामा रहेको नेपाललाई सन्दीपले अन्तिम विकेटमा ललित राजवंशीसँग ४६ रनको साझेदारी गर्दै उक्त स्कोरमा पुर्‍याउनुभएको थियो ।

सन्दीपको यो कुनै पनि अन्तर्राष्ट्रिय खेलको उच्च प्रदर्शन हो । यसअघि सन्दीपले टियु क्रिकेट मैदानमै २०१९ नोभेम्बरमा मेरिलेबोन क्रिकेट क्रिकेट क्लब (एमसिसी) विरुद्ध पहिलो इनिङमा २१ बलमा दुई चौका र चार छक्कासहित ३९ रनको पारी खेल्नुभएको थियो । नेपालका लागि रोहित पौडेलले ३६ बलमा दुई चौकासहित २७ रन बनाउनुभयो । यस्तै, आसिफ शेखले २७ बलमा दुई चौकासहित १९ रन बनाउनुभयो । नेपालका ओपनर कुशल भुर्तेल दुई रनमै आउट हुनुभयो । यस्तै, भीम सार्की ६, कुशल मल्ल तीन, सोमपाल कामी ११ रनमा आउट हुनुभयो ।

कतारका बायाँ हाते तीव्र गतिका बलर आमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर चार विकेट लिनुभयो । क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर तीन विकेट लिनुभयो । गयान मुनाविराले सात ओभरमा ३८ रन खर्चेर दुई विकेट हात पार्नुभयो । यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा कुवेतले हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनायो । समूह ‘बी’ बाट कुवेत समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

जितका लागि २७३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ निर्धारित ५० ओभरमा २४२ रनमा अल आउट भयो । हङकङका कप्तान निजाकत खानले ९७ बलमा एक चौका र दुई छक्कासहित ६० रन बनाउनुभयो । हङकङका तल्लोक्रमका ब्याटर यासिन मुर्तजाले ४३ बलमा दुई चौका र तीन छक्कासहित ४३ रन बनाउनुभयो । कुवेतका शाहरूख क्युदुसले आठ ओभरमा २७ रन खर्चेर तीन विकेट लिनुभयो ।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । कुवेतको जितमा शिराज खानले ९५ बलमा चार चौका र एक छक्कासहित ६७ रन बनाउनुभयो । हङकङका स्पिनर एहसान खानले १० ओभरमा एक मेडनसहित ४९ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो ।

कुवेतले शनिबार सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपालसँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह ‘ए’ को उपविजेता ओमान र समूह ‘बी’ को विजेता युएईबीच प्रतिस्पर्धा हुनेछ । फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?