अख्तियारद्वारा बस्नेतलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेत लगायतलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार कृष्णबहादुर बस्नेत, उनकी श्रीमती सविता गौली बस्नेत, जेठान नवीनकुमार गौली, नवीनकुमारकी श्रीमती शकुन्तला र छोरा शुलभलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको दाबीसहित बिहीबार सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

अख्तियारले १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बिगो कायम गरी उनीहरूको चल अचल सम्पत्तिसमेत जफत गर्न माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, आरोप पुष्टि नहुने ठहर गर्दै विशेष अदालतले २०७९ साल पुस १ गते सफाइ दिने फैसला गरेको थियो ।

शाखा अधिकृत तारा र कार्यालय सहयोगी दीपा घुस रकमसहित नियन्त्रणमा
उद्योग बिभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी (करार) दीपा थापालाई घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ । कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापालाई सेवाग्राहीबाट बाह्र हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको सैतीस हजार पाँच सय पैतीस रुपैयाँ सहित शाखा अधिकृतको कार्यकक्षबाट बिहीबार नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?