किशोरीहरुलाई आत्मरक्षा र क्षमता विकास तालिम, हिंसाविरुद्ध प्रतिकारको प्रतिवद्धता

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीका विद्यालयहरुमा अध्ययनरत किशोरीहरुले आफ्नो सुरक्षा आँफै गर्ने संकल्प सहित हिंसा विरुद्ध प्रतिकारको प्रतिवद्धता सहित आत्मरक्षा तालिम लिएका छन् ।

समाजमा हुने शारीरिक, मानसिक, भावनात्मक, यौनजन्यलगायत हिंसाकोविरुद्ध सशक्त रुपमा प्रतिकार गर्नका लागि किशोरीहरुलाई आत्मरक्षाको तालिम दिइएको हो ।

सामाजिक विकास कार्यालय म्याग्दी र सम्वन्.न्धित स्थानीय तहको आयोजना, मिलन म्याग्दीको व्यवस्थापन र जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये चारवटा स्थानीय तहका विद्यालयहरुमा अध्ययनरत किशोरीहरुलाई हिंसा विरुद्धको आत्मरक्षा तालिम दिइएको हो ।

यसैक्रममा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, ठूलोबगरमा विद्यालय तहका किशोरीहरुलाई लक्षित गरेर सञ्चालित आत्मरक्षा तथा किशोरीहरुको क्षमता विकाससम्बन्धी तालिम शुक्रवार सम्पन्न भएको छ ।

पछिल्लो समय महिला तथा किशोरीहरुमाथि भइरहेका यौनजन्य हिंसाको विरुद्धमा सशक्त रुपमा प्रतिकार गरी आत्मरक्षा गर्न सक्षम बनाउने उद्देश्यले किशोरीहरुलाई आत्मरक्षा तथा क्षमता विकास तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले आत्मरक्षा तालिमले समाजमा महिला, बालिका तथा किशोरीहरुमाथि हुने यौनजन्यलगायत हिंसाहरुको न्यूनीकरणमा सहयोग पु¥याउने बताउनु भयो ।

तीन दिनसम्म चलेको तालिमको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक कृष्ण विश्वकर्मा, प्रहरी जवानद्वय अनिताकुमारी दर्लामी, मुना थापा र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले सैद्धान्तिक विषयमा सहजीकरण गर्नुका साथै प्रयोगात्मक अभ्यास गराउनु भएको थियो ।

तालिममा सकारात्मक सोच, नेतृत्व विकास, आत्मरक्षा तथा प्रतिकार गर्ने तौरतरिका, महिला तथा बालिकाको हक, अधिकार, घरेलु, सामाजिक र यौनजन्य हिंसा तथा न्यूनीकरणका उपायलगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो । तीन दिनसम्म सञ्चालित तालिममा अन्नपूर्ण गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयबाट ३ जनाको दरले किशोरीहरुले सहभागिता जनाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?