परिवर्तित समयलाई आत्मसात गर्दै फरक तरिकाका सिर्जनाहरू पस्किन सक्दा राम्रो छ : घिमिरे

Read Time = 7 mins

विगत डेढ दशकअघि नेपाली गीत लेखनमा सक्रिय नाम हो रोहित घिमिरे । बुटवलबाट काठमाडौं आउँदा रोहितलाई गीत लेखेर पनि पारिश्रमिक पाइन्छ भन्ने कुरा थाहै थिएन । उहाँलाई केवल रेडियोमा नाम आए पुग्थ्यो । टिभीमा नाम देखिए हुन्थ्यो । क्यासेटको खोलमा नाम छापिए पुग्थ्यो । तर, परिवर्तित समयसँगै उहाँले आफ्ना गीतबाट भनेजति पारिश्रमिकमात्रै लिनुभएन, चर्चित गायक-गायिकाहरू अञ्जु पन्त, प्रमोद खरेल, नरेन्द्र प्यासी, शिव परियार, स्वरूपराज, मेलिना राईदेखि पछिल्लो पुस्ताका प्रदाप दास र रचना रिमालहरूसम्मको स्वरमा समेत उहाँका गीत श्रोता/दर्शकमाझ आएका छन् । गीतकार रोहित हाल फ्रान्समा हुनुहुन्छ । छिट्टै स्वदेश फर्केर आफ्नो परिवारसँगै बसेर अझै राम्रा-राम्रा गीतहरू लेख्ने सोच बनाउनुभएका गीतकार रोहित घिमिरेसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश :-

कस्तो छ नेपाली गीत-संगीतको बजार ? गीतकारको नजरबाट के देख्नुहुन्छ ?
नेपाली गीत-संगीतको बजार राम्रै भएको पाउँछु म । राम्रो सम्भावना बोकेको क्षेत्र रहेको छ यो । राम्रा सिर्जनाहरू बजारमा ल्याउन सके नाम, दाम र इज्जत सबै छ यो क्षेत्रमा । गीतकारहरूले पनि परिवर्तित समयलाई आत्मसात गर्दै फरक तरिकाका सिर्जनाहरू पस्किन सकेमा सुनमा सुगन्ध नै हुन्छ ।

तपाईंले अहिलेसम्म सिर्जना गरेका कति गीत बजारमा आए, कति आउने तयारीमा छन् ?
मैले लेखेका करिब तीन दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन् । अरू दर्जन बढी गीतहरू रेकर्डिङका क्रममा रहेका छन् ।

यहाँको हालै नयाँ गीत ‘सानबाबु’ र ‘शीतल शीतल’ श्रोता/दर्शकमाझ आएका थिए, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
हो, यहाँले भनेजस्तै गत महिना मेरो नयाँ गीत ‘सानबाबु’ श्रोता/दर्शकमाझ आएको थियो । जसमा नायिका केकी अधिकारीको अभिनय छ । यस्तै निकै नै आशा गरिएको ‘शीतल शीतल’ बोलको गीत बजारमा आएको छ । मलिका महतको अभिनय रहेको उक्त गीत मुस्ताङमा छायांकन गरिएको थियो । मेरा यसअघिका गीतजस्तै यी गीतले श्रोता/दर्शकको साथ पाइरहेका छन् । गीतलाई दर्शकले माया दिँदा निकै खुसी लाग्छ ।

गीतकारलाई सबैभन्दा बढी खुसी कति बेला मिल्छ ?
हामी सिर्जनामा रम्ने मान्छे आफ्ना सिर्जनाहरू दर्शकमाझ पुग्दा सबैभन्दा धेरै खुसी लाग्छ । आफ्नै गीत कसैले आफ्नै अगाडि गुनगुनाए भने अझ औधी खुसी लाग्छ, खुसीको सिमाना नै रहँदैन । संसार जितेजस्तो लाग्छ ।

नेपाली गीत-संगीतको बजार राम्रो रहेको छ । राम्रो सम्भावना बोकेको क्षेत्र छ यो । राम्रा सिर्जनाहरू बजारमा ल्याउन सके नाम, दाम र इज्जत सबै छ यो क्षेत्रमा । गीतकारहरूले पनि परिवर्तित समयलाई आत्मसात गर्दै फरक तरिकाका सिर्जनाहरू पस्किन सकेमा सुनमा सुगन्ध नै हुन्छ ।

तपाईंका गीतहरू अहिलेसम्म क-कसले गाउनुभएको छ ? सबैभन्दा बढी नजिक कोसँग हुनुहुन्छ ?
प्रमोद खरेल, अञ्जु पन्त, स्वरूपराज, मेलिना राईहरूसँग नै मेरो बढी संगत भयो । तर, सबैभन्दा बढी दोहोर्‍याएर काम प्रमोद खरेलसँग भयो । उहाँसँग काम, सम्बन्ध र पारिवारिक हिसाबले पनि अलिक नजिक छु । कामको समयबाहेक अन्य समयमा पनि सुख दुःखका कुराकानीहरू भइरहन्छन् ।

प्रमोदसँगको बिर्सिन नसक्ने कुनै क्षण छ ?
छ नि । उहाँले निकै नै मेहेनत गरेर गाउनुभएको मेरो एउटा राष्ट्रिय गीतको पारिश्रमिक नै लिन मान्नुभएन । उहाँले पारिश्रमिक नलिएपछि मैले उहाँको यो गुन कसरी तिरौँ भन्ने झल्को पछिसम्म आइरहृयो । अहिले पनि त्यो दिन बिर्सिन सक्दिनँ । उक्त गीत क्रिकेट र देशसँग सम्बन्धित छ ।

काठमाडौंका रेकर्डिङ स्टुडियोमा भेटिइरहने तपाईं एक्कासी कसरी फ्रान्स पुग्नुभयो ?
यो सबै समयको खेल रहेछ । कथाले यस्तै माग्यो अनि म देश छाड्न बाध्य भएँ । तर, म छिट्टै मेरो देश फर्किनेछु ।

गीत जन्मभूमिमा बढी फुर्ने रहेछन् कि कर्मभूमिमा ?
घरगाउँमा रहँदा रोमान्टिक र मायाप्रेमका सिर्जनाहरू गुनगुनाइँदो रहेछ । तर, देश नै छाडेर उड्न बाध्य एउटा परदेशीलाई एक्लोपनले छुन्छ, पिरोल्छ, निचोर्छ र परदेशीले आफ्ना कथा, कविता गीतमा बोल्दा बढी सिर्जना विदेशी भूमिमा फुर्दा रहेछन् भन्ने अनुभव भयो मलाई । यहाँ आएपछि मैले धेरै गीतहरू लेखेको छु । जसमध्ये दुईवटा त रेकर्डका क्रममा नै छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?