उपनिर्वाचनले दिएको सन्देश

इन्द्रबहादुर बराल
Read Time = 15 mins

यही २०८० साल वैशाख १० गते सम्पन्न उपनिर्वाचनको चुनावी परिणाम आइसकेको छ । अहिले यही चुनावी परिणामको वरिपरि घुमिरहेको छ राष्ट्रिय राजनीति । यो उपनिर्वाचन जे-जे कारण हुन गए पनि नतिजालाई लिएर विभिन्न बहस छलफलहरू घनीभूत रूपमा भएगरेको तथ्य सबैमा जगजाहेर नै छ । चुनावी परिणामलाई लिएर तर्क आआफ्ना ठाउँमा आआफ्नै होलान् तर यथार्थ केलाउनुपर्ने र त्यसको वस्तुपरक समीक्षा र विश्लेषण आवश्यक देखिएको छ । चुनाव जित्दैमा सुयोग्य र हार्दैमा अयोग्य भने अवश्य होइन ।

यसर्थ चितवन-२ र तनहूँ-१ मा जुन ढंगको परिणाम आयो त्यसलाई बहुसंख्यक नेपालीले अत्यन्तै स्वाभाविक र सकारात्मक रूपमा लिएको पाइएको छ भने बारा-२ को परिणामलाई ठीक विपरीत अर्थमा खासखुस गरिँदै छ । यसर्थ आमसर्बसाधारण नेपालीको मन र मत आफ्नो पक्षमा पार्न सफल भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी र त्यस पार्टीप्रतिको आकर्षण लोभलाग्दो गरी प्रशंसा भएको कटुसत्य हो । यद्यपि उपचुनावको समीक्षा सबै राजनीतिक पार्टी र स्वतन्त्र नागरिकले गर्ने क्रम पनि जारी नै छन् होलान् । तर, ताततातो बहस, छलफल, समीक्षा र विश्लेषणभन्दा सामान्यकरण भएको परिस्थितिको निष्कर्ष अझ यथार्थपरक हुने गर्छ । त्यसैले चुनावी परिणामको बहस र छलफल एउटा निरन्तर प्रक्रियासँग जोडेर हेरिनु उपयुक्त हुन्छ भन्ने लाग्छ । अहिले त सिधा कुरा छ चितवन र तनहूँमा भोलिका दिनमा पनि अन्य कुनै दलले ती क्षेत्रमा यसो चियाएर हेर्ने हिम्मतसम्म नगर्ने गरी नराम्रोसँग झस्किएका तर्सिएका हुनुपर्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । यदि रास्वपासँग प्रतिस्पर्धामा उत्रनै पर्‍यो भने पनि अब नयाँपन, नयाँ नीति र कार्यक्रम साथ जनतालाई डेलिभरी दिन सक्ने विश्वासिलो आधारसहित जानुपर्दो रहेछ भन्ने सन्देश यो उपनिर्वाचनले दिएको छ ।

चितवन र तनहूँको परिणामको तुलनामा बाराको निकै निराशाजनक हुनु पनि रास्वपाको लागि चिन्ताको विषय बनेको हुनुपर्छ । रवि र स्वर्णिमको दिग्विजयसामु रमेश खरेलको पराजय लज्जष्पद भएको छ । त्यसैले रास्वपाका लागि आगामी आमनिर्वाचनमा बारा जिल्लाको परिणाम गम्भीर समीक्षाको विषय बनेको छ ।

अब परम्परागत शैली र प्रवृत्ति नेपाली सचेत नागरिक त्यसमा पनि युवा पुस्ताले फिटिक्कै विश्वास गर्दैनन् भन्ने प्रष्ट सन्देश हालै सम्पन्न उपनिर्वाचनको परिणाममा दिएको छ । चितवन र तनहूँ जिल्ला राजनीतिक, शैक्षिक र सामाजिक दृष्टिले अत्यन्तै परिष्कृत जिल्लाको रूपमा आफूलाई यो चुनावी परिणामबाट स्थापित गराइसके । यसबाट अन्य रैथाने र आफूलाई मूलधारका पार्टी ठान्नेहरूलाई गम्भीर धक्का लागेको छ । हुन त मन बुझाउन एउटा माघले जाडो सकिँदैन पनि भन्न सकिएला तर यस्तो तर्कमा खासै दम देखिँदैन । यसर्थ यथार्थमा टेकेर गम्भीर र निर्मम समीक्षा गर्दै आफूलाई सच्याउँदै गएमा यो दुनियाँमा हुनै नसक्ने भन्ने पनि केही हुँदैन । चितवन र तनहूँको परिणामको तुलनामा बारा जिल्लाको निकै निराशाजनक हुनु पनि रास्वपाका लागि चिन्ताको विषय बनेको हुनुपर्छ । किनकि रवि र स्वर्णिमले दिग्विजय गर्दा रमेश खरेलको पराजय लज्जस्पद भएको छ । त्यसैले रास्वपाका लागि आगामी अर्थात्-२०८४ मा हुने आमनिर्वाचनमा बारा जिल्लाको परिणाम गम्भीर समीक्षाको विषय बनेको छ । यदि यही ट्रेन्डलाई जीवन्त राख्न सके निशन्देह २०८४ मा सरकार गठन गर्न सक्ने गरी सुविधाजनक बहुत प्राप्त गर्छ भन्ने कुरा अहिले नै चर्चा सुरु भइसकेको छ ।

यदि रास्वपाले आगामी चुनावपछि सरकार बनाउने गरी तराई मधेस केन्द्रित राजनीतिलाई आजैबाट प्रारम्भ गर्न पर्ने प्रष्ट चित्र देखिँदैछ । साथै अहिले पनि केही चर्चा सुनिन्छ यो रास्वपासँग कुनै स्पष्ट राजनीतिक सिद्धान्त, आदर्श, नीति कार्यक्रम नै छैन । केही समसामयिक मुद्दा केन्द्रित चुनावी हौवा र उर्बौला केटाहरूको बहकाइले राजनीतिमा कुनै स्थायित्व दिन पनि सक्दैन । यो त एउटा साउने भेल हो एकछिन् गड्गडाउँछ अनि थन्किन्छ । तर, यो तर्कमा त्यति धेरै दम नभए पनि केही अंश सत्यता छैन भन्न सकिँदैन । अर्को कुरा जानीनजानी रास्वपाका सभापति विवादमा परेका छन् र नागरिकता प्रकरणमा सामान्य त्रुटि भएको तथ्य त प्रमाणित नै भएको विषय हो । पासपोर्टको सबाल पनि मुल्तबीमा छ । त्यसलाई पनि यथासमयमा स्पष्ट पर्नुपर्ने हुन्छ । त्यसका अतिरिक्त राष्ट्रिय परिचयपत्र प्रकरण पनि अर्को गम्भीर आरोप छ । राष्ट्रिय परिचयपत्र प्रकरण प्रकृयागत त्रुटि हो कि नियतबस विनाप्रतिस्पर्धा कुनै एउटा कम्पनीलाई शुभलाभका लागि ठेक्का दिइएको हो त्यो पनि अविलम्ब सफाइ लिनुदिनुपर्ने देखिन्छ । कुनै पनि पार्टीको प्रमुख व्यक्ति नै विवादित हुन पुग्यो भने स्वभावैले अन्य कार्यकर्तालाई अप्ठ्यारो पर्छ ।

यस्ता विषयलाई विना ढिलाइ तत्काल स्पष्टीकरण दिनुपर्ने हुन्छ । यद्यपि यी सन्दर्भ स्वयं रविलाई थाहा नहुने कुरै भएन तथापि स्मरण गराउनु अन्यथा नहोला भनी यसो कोट्याएको मात्र हो । अहिले रास्वपाभित्र धेरै असल व्यक्तिहरू भएको पाइन्छ । संसदमा भएका मानिसहरूको प्रस्तुति र उपस्थितिले राम्रै प्रशंसा भएको अनुभूति गरिँदैछ । यसले एउटा सकारात्मक सन्देश आमजनमानसमा गएको छ । एउटा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन वार्तले केही गलत सन्देश जान खोजेको थियो तर त्यसलाई बेलैमा सल्टाउँदा नकारात्मक प्रभाव पर्नबाट जोगिएको छ । नेपाली कांग्र्रेसका एउटा होनहार युवा एवं अर्थशास्त्री डा.स्वर्णिम वाग्लेलाई रास्वपामा पार्टी प्रवेश गराएर उनलाई संसद्मा प्रवेश गराउने अवसर दिनु पनि बुद्धिमानी कामको रूपमा लिन सकिन्छ । धेरै राम्रा मानिस त्यसमा पार्टीमा छन् । जुझारु र केही गरौं भन्ने हुटहुटी भएका युवाहरूको बाहुल्यले राष्ट्रिय स्वतन्त्र पार्टीको छवि थप उज्ज्वल हुने धेरैको अड्कल छ । पुराना र परम्परागत पार्टीहरूको विकल्प रास्वपा हुन सक्छ न कि राप्रपा । त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टी बारे केही बोलिराख्न परोइन किनकि त्यो राजाको अधिनायकत्वमा बाँच्ने पार्टी हो, त्यसबाट जोगिनुपर्ने हुन्छ । सँगसँगै अर्को सत्य के पनि हो भने अहिले पाएको अपार जनसमर्थन जोगाइराख्न धेरै गाह्रो छ ।

यस उपनिर्वाचनले जनताको धैर्यताको बाँध फुटिसकेको सन्देश दिएको छ । उपनिर्वाचनको चुनावी परिणामले कांग्र्रेस–कम्युनिष्टहरूलाई नराम्रोसँग रन्थन्याइदिएको छ । भ्रष्टाचार र कुशासन अनि बेथितिबाट वाक्क भएका नेपाली मतदाताले शान्त कूटनीतिबाट अर्थात् गोप्य मतदानबाट सचेत गराएको सन्देश प्रवाह गरेको छ ।

कुनै पनि चिज आर्जन गर्न जति सजिलो हुन्छ त्यसलाई जोगाउन त्यसभन्दा धेरै गुणा गाह्रो हुन्छ । यत्ति कुरा हेक्का राख्नैपर्छ । अब रहृयो उपचुनावको मतपरिणामले सत्ता गठबन्धन, प्रमुख प्रतिपक्ष र आमजनमानसमा पर्न गएको प्रभाव । यो उपनिर्वाचनको नतिजाले राज्यका सबै शक्ति र सर्बसाधरणलाई समेत विशेष उत्साह, चिन्ता र चासो बढाएको छ । कतै उत्साहित बनाएको छ भने रैथाने दलहरूलाई चिन्तित बनाएको हुनुपर्छ । छोटो समयमा स्थापित राजनीतिक पार्टी रास्वपा यति चाँडै राष्ट्रिय पार्टीको रूपमा उदय होला भन्ने कमै मान्छेलाई लागेको थियो । केपी शर्मा ओलीले त भर्खर उम्रेको केटोसम्म भन्न भ्याए । तर, आज त्यस केटाको चमत्कारिताले उनी आफैं तिल्मिलाउन अवस्थामा पुगे । त्यसैले भनिन्छ ‘भन्न पायौँ भने प्याच्च नभन्नु, खान पायौं भनेर क्याप्प नखानु’ यति कुरा हेक्का सबैले राख्नुपर्ने देखिन्छ । उपनिर्वाचन २०८० वैशाख १० मा सम्पन्न भई नतिजासमेत सार्वजनिक भइसकेको सन्दर्भमा त्यसले दिएको सन्देश पुराना अर्थात् खाइपल्केका रैथाने दलहरूलाई खबरदारी गरेको छ कि अब तिमीहरू सच्चिएर आऊ होइन भने सक्किएर जाऊ । छोटो सन्देश यत्ति हो । साथै नवोदित शक्ति रास्वपालाई पनि प्राप्त सफलताबाट मात्तिन पनि नहुने सन्देश प्रवाह गरेको छ । काम गरेर देखाउन भाषण गरेजस्तो सजिलो छैन ।

त्यहाँ धेरै झमेला र झन्झट हुन्छन् । लोकतान्त्रिक प्रणाली आफैंमा विधि र पद्धतिमा चल्ने प्रणाली हो । त्यो विधि र प्रणालीलाई पछ्याउँदै जानुपर्ने हुन्छ । कुनै पनि अधिनायकवादी शासन जस्तो हुँदैन लोकतान्त्रिक व्यवस्था । राज्यका सम्पूर्ण नागरिकका मुख थुन्न पाइँदैन, कलम चलाउन रोक्न पाइँदैन । संगठन गर्न तथा सूचन प्रविधिलाई स्वतन्त्र रूपले उपभोग गर्न कही कतै रोकतोक गर्न पाइँदैन । त्यही सूचना प्रविधिको अधिकतम उपयोगमार्फत रास्वपाले यो असाधारण उपलब्धि हाँसिल गरेको तथ्य बिर्सन हुँदैन । साँच्चै भन्ने हो भने रास्वपाले विनात्याग, विनालगानी, विनासंघर्ष, विनासमर्पण यत्रा ठूला कांग्रेस कम्युनिष्टलाई एकै पटक उठ्नै नसक्ने गरी थला पारिदिएको छ जुन आफैंमा आठौं आश्चर्य माने पनि हुने खालको छ । यस उपनिर्वाचनबाट आहात भएका पार्टीहरूलाई सच्चिएर आउन सन्देश दिएको छ । जनता सत्य हो सत्य आगो जस्तै ज्वलनशील हुन्छ त्यसैले आगोसँगको खेलबाडले के हुन्छ सबैले जानेकै विषय हो भनिरहन परोइन । जनताको धैर्यताको बाँध फुटिसकेको सन्देश दिएको छ यो उपनिर्वाचनले । उपनिर्वाचनको चुनावी परिणामले कांग्र्रेस कम्युनिष्टहरूलाई नराम्रोसँग रन्थन्याइदिएको छ । भ्रष्टाचार र कुशासन अनि बेथितिबाट वाक्क भएका नेपाली मतदाताले शान्त कूटनीतिबाट अर्थात गोप्य मतदानबाट सचेत गराएको सन्देश प्रवाह गरेको छ ।

यी रैथाने दलहरू म नै राज्य हुँ भन्ने दम्भ त्यागेर जनभावना अनुरूप चल्नुको विकल्प छैन र खोज्नु हुँदैन । २०८० साल वैशाख-१० गतेको चुनावी परिणामको सन्देश हो पुराना दलहरूले धेरै बाटो बिराएका छौ सच्चिएर आऊ भन्ने सन्देश दिएको रूपमा बुझुपर्ने देखिन्छ । वास्तवमा यही नै उपनिर्वाचन र त्यसको परिणामले दिएको सन्देश हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?