म्याग्दीमा १६ किलोमिटर सडक कालोपत्रे हुँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा चालु आर्थिक वर्ष २०८०/०८१ मा १६ किलोमिटर सडक कालोपत्रेको लागि तयारी भइरहेको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेका बहुवर्षीय र सालबसाली आयोजना मार्फत १६.२ किलोमिटर सडक कालोपत्रे/आरसिसि र पिसिसि ढलान गर्न लागेको हो ।

यसैक्रममा विहीबार (आज) पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ उपल्लो दरबाङको जनप्रिय टोलदेखि शान्ति टोलसम्मको पाँच सय मिटर सडक कालोपत्रे भैरहेको छ । त्यसैगरी बुधबार (हिजो) बेनी नगरपालिका ४ सिंगाको पौडेलचोक देखि वडा कार्यालयसम्म जोड्ने सडक कालोपत्रे गरिएको थियो ।

दरबाङको सडक कालोपत्रे गर्ने ठेक्का लिएको सक्षम व्रदर्स निर्माण कम्पनिले बिहीबार (आज) दखि कालोपत्रेको काम सुरु गरेको कम्पनिका संचालक मनोज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नाली सहित ६ सय मिटर सडक कालोपत्रे गर्न कम्पनिले भ्याट बाहेक रु ५० लाखमा जिम्मा लिएको हो ।

त्यसैगरी जिल्लाका अन्य ठाउँका सडकहरु पनि कालोपत्रे भैरहेका पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले ६ किलोमिटर ग्राभेल, १० किलोमिटर नयाँ मार्ग खोल्ने, १५ किलोमिटर सडक विस्तार, ४ किलोमिटर नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक निर्माण, स्तरोन्नति, कालोपत्रे, झोलुंगे र सडक पुल सम्बन्धी नयाँ ७० वटा योजना रहेकोमा ११ वटा आयोजना बहुवर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकोमा ४ वटा ठेक्काको मूल्याङकनको चरणमा रहेको छ ।

सालबसाली २३ वटा योजनाको ठेक्का र १३ वटा उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन् । ७ वटा सालबसाली योजना सम्पन्न भइसकेका छन् । ४ वटा आयोजनाको ठेक्का सम्झौताको तयारी भएको छ । यसअघि ठेक्का सम्झौता भएका १३ वटा आयोजना चालु रहेका छन् ।

चालु आर्थिक वर्षमा कुल ७१ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यालयले फागुन मसान्तसम्म ८ करोड ९३ लाख ४३ हजार रुपैयाँ अथवा १२.५१ प्रतिशत बजेट खर्च गरेको छ। गत आर्थिक वर्षमा १३.२८ किलोमिटर पक्की सडक, ७.२ किलोमिटर ग्राभेल, २३.२७५ किलोमिटर माटे सडक निर्माण भएको थियो ।

यस वर्ष ५.६ किलोमिटर दूरीको गलेश्वर-पीपले-भगवति सडक कालोपत्रे र दरवाङ-धारापानी सडकको ६ किलोमिटर ६०० मिटर ग्राभेल सकिएको छ । बेनी-दरवाङ सडकको सिम-लाम्पाटा खण्ड र लाम्पाटा-ढाडखर्क खण्डमा करिब ९ किलोमिटर कालोपत्रे गर्ने तयारी भएको छ ।

२० करोड रुपैयाँ लागत अनुमान गरिएको बेनी-पाखापानी, २५ करोड रुपैयाँ लागत अनुमान गरिएको धारापानी-ताकम-शिवाङ कालोपत्रे गर्न आव्हान गरिएको ठेक्का प्रस्ताव मूल्यांकनको चरणमा छ । बेनी-भकिम्ली, अदिभारा-डाडागाउँ र पखेर-बरंजा सडक स्तरोन्नतिका लागि १०/१० करोड बजेटको आयोजनाको ठेक्का आह्वान भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?