पृथ्वी राजमार्गमा यात्रुलाई सधै सास्ती

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 7 mins

धादिङ । पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुहरुले सधै सास्ती खेप्न बाध्य छन् । कहिले सडक मर्मत, कहिले सडकको खाल्टो खुल्टी मर्मत त कहिले सडक पेच गर्ने बाहानामा यात्रुहरुले सास्ती खेप्दै आईरहेका छन् ।

धार्केस्थित गणेश खोला पुलको मुखमा जमिन भासिनुको एउटै कारण हो ‘लापरबाही’ र कानुन विपरीतका गतिविधि । सडक आयोजना र हाल सडक विस्तारको काम गरिरहेको निर्माण व्यवसायीको लापरबाहीले १८ घण्टा राजमार्ग ठप्प बनेर सयौँ यात्रुले सास्ती भोग्नुपरेको हो ।

विकास निर्माण कार्यले प्राथमिकता पाउँनु राम्रो कुरा हो तर यात्रुहरुले दुख पाउनु भने पक्कै राम्रो कुरा होइन् । यस्तै समस्याका कारण यात्रुहरु बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । चाड पर्व होस् या अन्य कुनै समय । यस्तै बैशाख १८ गते दिउँसो ४ बजे धादिङको धार्केस्थित गणेश खोला पुलमा जमिन भासिएर राजमार्ग नै बन्द भयो । राजमार्ग बन्द हुँदा हजारौं यात्रुहरु बीचबाटो मै अलपत्र परे भने कलंकी देखि नागढुङगा र नागढुङगा, नौबिसे सडक खण्डको धादिङको घाटबेसी सम्म लामो सवारी जाम हुन पुग्यो । जामका कारण कति यात्रुहरु त भोक भोकै बस भित्रै रात कटाए । भासिएको जमिन नेपाली सेना, नेपाल प्रहरी, जनपथ, शसस्त्र प्रहरी र स्थानीयहरुको पहलमा ग्याविन जाली लगाएर १८ घण्टापछि मंगलबार बिहान १० बजेपछि एकतर्फी सवारी सञ्चालनमा आयो । तर सवारी सञ्चालनमा आएको १४ घण्टा नबित्दै पुन सोही स्थानमा जमिन भासिएर बुधबार दिउँसो १२ बजेदेखि उक्त सडकखण्ड अवरुद्ध भयो । जमिन भासिएर बुधवार दिउँसो १२ बजेदेखि बन्द भएको राजमार्ग करिब २ घण्टापछि पुन सुचारु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

धुनिबेंशी नगरपालिका –६ र थाँक्रे गाउँपालिका –८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको थियो । दुई घण्टा सडक खण्ड बन्द हुँदा सवारी साधनहरुको लामो लाइन हुन पुग्यो, भने केही मालवाहक सवारी साधनहरु कलंकीमा रोकिएर बसे । साना सावारीहरु भने बैकल्पिक बाटो भएर राजधानी तर्फ प्रवेश गरेको थियो । तर बैकल्पिक बाटो प्रयोग गर्दा समय बढी लाग्ने र तोकिएकै समयमा नपुग्ने गरेको यात्रुहरुको भनाई छ । राजमार्गले यात्रुलाई धेरै दुख दियो, जुन सरकार आएपनि खासै उपलब्धी भएन् एक यात्रुको गुनासो छ । नयाँ पुल निर्माणका लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको छ । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् ।

एकतर्फी सडक संचालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन । पुल छेउको जमिन भासिएर सडक अवरुद्ध बनेको गणेश खोला पुलसँगै सडक आयोजनाले नयाँ पुलको निर्माण कार्य थालेको छ । त्यही नयाँ पुलको फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशनको जगसमेत खोतलियो । पुलको पिल्लरलाई सपोर्ट दिन लगाइएका पर्खालका ढुङ्गाहरु पनि थर्किएर भासिन पुग्यो ।

वर्षातपछि सडकमा बगेको भल त्यही पस्यो । फाउण्डेशन कमजोर बनिसकेको पुलको मुखको जमिन हेर्दाहेर्दै भासियो । धार्के बजारका स्थानीय जगन्नाथ आचार्यले भन्नुभयो, “पुरानो पुल पट्टी बढी नखोतल्नुस् पहिरो जान्छ पछि समस्या आउँछ भनेर कामदार र साइड हेर्ने इञ्जिनियरलाई पटक पटक भन्यौँ, हाम्रो कुरा सुन्नै चाहेनन्, अहिले यो अवस्था आयो ।”पृथ्वीराजमार्गको हालत देख्दा बुधवार मालवाहक र लामो दुरीका गाडी काठमाडौमै रोकिए ।

स्थानीयवासीका अनुसार अस्ति सोमवार सडक भासिएपछि ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको छ । सडक बन्द भएपछि प्रहरीले आज पनि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको थियो । पूर्व–पश्चिमबाट काठमाडौ भित्रिने र काठमाडौबाट बाहिरिने गाडीले हेटौँडा–काठमाडौ र काठमाडौ–नुवाकोट–गल्छीको बाटोलाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सक्नेछन् ।

धादिङ, नुवाकोट, र रसुवाबाट काठमाण्डौ भित्रने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्नेछन् । यस्तै पूर्व–पश्चिमबाट काठमाडौ आउजाउ गर्नेले हेटौँडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्नेछन् । नयाँ पुलको फाउण्डेशन बनाउने क्रममा सावधानी नअपनाए कै कारण समस्या उत्पन्न भएको धेरैको बुझाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?