नक्कली भुटानी शरणार्थी प्रकरण : लहरो तान्दा ‘हाई प्रोफाइलहरू’ समेत मुछिँदै

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ, रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

यज्ञराज पाण्डे
Read Time = 13 mins

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको गिरोहसँग साँठगाँठ गरेको आरोपमा उच्च राजनीतिक र प्रशासनिक अधिकारीसमेत मुछिएका छन् । विभिन्न ठाउँमा रहेका नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने भनेर एउटा गिरोहले करोडौँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । प्रहरीले यो प्रकरणको अनुसन्धान गर्दै जाँदा ‘हाइप्रोफाइल’ व्यक्तिसँगै उनीहरूका परिवारका सदस्य पनि यो प्रकरणमा मुछिएको पाइएको हो ।

प्रहरीले बुधबारसम्म सात जनालाई पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले इन्द्रजित राईलार्ई मंगलबार पक्राउ गर्‍यो । उनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार र संविधानसभा सदस्य पनि थिए । राईलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी कुवेर कडायतले जानकारी दिनुभएको छ ।

गृहमन्त्रीका सल्लाहकार राईसँगको मिलेमतोमा कम्तीमा १४५ जना नेपालीको नाम भुटानी शरणार्थीका रूपमा बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा थप गरेको भेटिएको स्रोतले जनाएको छ । हालसम्म प्रहरीमा २१ जनाभन्दा धेरैले उक्त गिरोहविरुद्ध जाहेरी दर्ता गराएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार ८१ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

इन्द्रजित राई २०७४ साल फागुन १४ देखि २०७८ साल असार २८ सम्म रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको अनुसन्धानको प्रतिवेदनका आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको पाइएपछि पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

त्यस्तै, उक्त प्रकरणमा बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी गरिएका सचिव पाण्डे बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । पाण्डे पूर्व–गृहसचिवसमेत हुन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असुली गरेको गिरोहसँग मिलेमतो देखिएपछि उनीविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको थियो । उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

त्यस्तै, तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै १० देखि ५० लाख रुपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोड रुपैयाँको चेक पनि प्रहरीले बरामद गरेको छ । साथै यस घटनामा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा पनि तानिएका छन् । उनीविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजी थालेको छ ।

प्रहरीले बादलपछि गृहमन्त्री बन्नुभएका बालकृष्ण खाँणको नाम पनि संलग्न भएको हुनसक्ने अनुमान गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार उहाँको पालामा पनि चलखेल गरेर अनुसन्धान प्रभावित पार्ने प्रयास गरिएको थियो ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरेको तीन दिनपछि मोरङका सागर राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी गरेको भनी छुट्टाछुट्टै किटानी जाहेरी परेको थियो ।

सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ साल असार २९ गते पूर्वसहसचिव पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यसको प्रतिवेदनको अनुसूचीमा नाम थपेर अमेरिका पठाइदिने भन्दै झापा, मोरङ, सुनसरी, कास्की, बागलुङ लगायतका जिल्लाका मानिसहरूबाट रकम असुली गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उहाँको निजी सचिवालयमा काम गर्ने खुलेको छ ।
झापाको बेलडाँगी र मोरङको पथरी शिविरमा अझै ६ हजार ३६५ भुटानी शरणार्थी बाँकी रहेको विवरण छ । अरू शरणार्थी अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतको मुलुकमा पुनर्वासका लागि गइसकेका छन् ।

सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा जोडिएर पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

उनलाई काठमाडौं प्रहरी परिसरले बुधबार दिउँसो पक्राउ गरेर सिंहदरबार प्रहरी वृत्तमा राखेको छ । मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए । उनी भक्तपुर आसपासको जंगलमा रहेको प्रहरीले सुइँको पाएको थाहा भएपछि उनी त्यहाँबाट हिँडेका थिए । त्यही क्रममा पाण्डे जडीबुटीबाट पक्राउ परेका हुन् । उनी २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए । बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उपराष्ट्रपति कार्यालयमा आउनुअघि गृहसचिव पाण्डे गत वर्ष गृह मन्त्रालयको सचिवमा थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाँठमा उनी मुछिएका हुन् ।

हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेलको बयानका आधारमा इन्द्रजितलाई पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले बताउनुभयो ।

हाल गिरोहका नाइकेहरू विरुद्ध प्रहरीले संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ । इन्द्रजित राईका छोरा नीरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी भने नेपालबाहिर गएको आशंका छ । गिरोहका नाइकेको बयानअनुसार राईका बाबुछोराले २०७६ असारदेखि चैतसम्म साढे पाँच करोड लिएको खुलेको छ ।

पक्राउ पुर्जीबारे मलाई थाहा छैन : रायमाझी
एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा नभएको बताएका छन् । पूर्व–ऊर्जामन्त्रीसमेत रहेका रायमाझीले बुधबार अर्घाखाँचीको सन्धिखर्कमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गैरभुटानीलाई अमेरिका लैजाने घटना आफूलाई थाहा नभएको र संलग्नसमेत नभएको जिकिर गरेका थिए ।

पक्राउ पुर्जीबारे आफूलाई थाहा नभएको उल्लेख गर्दै रायमाझीले भने, ‘भुटानी शरणार्थीका नाममा गैरभुटानीलाई अमेरिका लैजाने कुरामा मेरो संलग्नता छैन । भुटानी शरणार्थीको समस्या दीर्घकालीन समाधान गर्ने कुरामा हिजो पनि थियौँ, आज पनि छौँ र भोलि पनि हुनेछौँ ।’
आफू सरकारमा हुँदा भुटानी शरणार्थीलाई यहीँ रोजगारी दिने, भुटान नै लैजान कूटनीतिक पहल गर्ने र त्यो पनि सम्भव नभए तेस्रो मुलुकमा पुनःस्थापना गर्नका लागि पहल गरिने कुरा भएको पनि उनले बताए ।

जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझी अर्घाखाँचीबाट काठमाडौं फर्किएका छन् । गृहजिल्ला अर्घाखाँचीको एक विद्यालयको हिरक महोत्सवमा उनी विशेष अतिथिका रूपमा सहभागी हुन त्यहाँ पुगेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?