चुमबहादुर र माइला सार्कीको कथा : डोको बुनेरै वित्यो ५० वर्ष

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । म्याग्दीको देविस्थानका चुमबहादुर र ज्यामरुककोटका माइला सार्कीको भूगोल फरक छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका माइला सार्कीको एकापसमा परिचय छैन । तर,उँहाहरु दुवैको व्यथा र नियति भने एउटै छ ।

उमेरले दुवैजना ७० वसन्त पार गर्नुभएको छ । १९ वर्षको उमेरदेखि चोयाँसँग खेल्न थाल्नुभएका मालिका गाउँपालिका ५ देविस्थानका चुमबहादुर विक अहिले ७१ वर्षमा लाग्दा समेत चोयाँको साथ छुटेको छैन । चोयाँका डोका बुनेर विक्री गरि आफ्नो गर्जो टार्दै आउनुभएका विकको जस्तै अवस्था छ बेनी नगरपालिका २ ज्यामरुककोटका ७१ वर्षिय क्याङ्लो सार्कीको पनि ।

श्याम वर्णको हसिलो अनुहार । चिम्सा आँखा चम्काउँदै, दाहिने हातले झुस्स परेका दाह्री मुसार्दै ‘चाहिने जो‘ को थेगोबाट कुराकानीको सुरुवात गर्ने माइला सार्कीको अहिलेसम्मको जिन्दगी डोको बुनेरै धानिएको छ । बिहान उठेदेखि राती नसुतुन्जेलसम्म चोयाँसंगखेल्दै उहाँको समय वित्छ ।

गहुँगोरो वर्णका फरासिला चुमबहादुरको शरीर बुढ्यौलीले कुप्रिएको छ । कान कम सुन्नुहुन्छ तर,काम भने २० वर्षे लक्का जवानको भन्दा फुर्तिलो ढंगले गर्ने चुमबहादुरलाई देख्दा बुढ्यौलीले छोएको जस्तै महशुस नै नहुने उहाँका नाति शकबहादुर विकले बताउनुभयो ।
१९ वर्षको उमेरदेखि बाँस र निगालाको चोयाँसंग खेलेर डोको बुन्द,वनमा निकागो खोज्दै र चोयाँ निकाल्दै जवानीका रमाइला दिनहरु विताइसक्नु भएका विकले आफूले बुनेका यिनै डोका विक्रि गरेर आएको पैसाले विगतको दुखपूर्ण समयलाई पार लगाउनुभएको बताउनुभयो ।“छोरा नातिहरु विदेश छन्,अहिले दुःख गर्नु पर्ने वाध्यता त छैन, तर त्यसै वस्न मनै लाग्दैन” विकले भन्नुभयो । उहाँले दिनमा २ वटासम्म डोका वुन्ने गर्नुहुन्छ । एउटा डोकाको रु ३ सय ५० देखि ६ सय रुपैयाँसम्ममा विक्री हुने उहाँले बताउनुभयो । आफूले बुनेका डोका मान्छे लगाएर दरवाङ बजारमा लगेर विक्री गर्ने गर्दै आएको उहाँको भनाइ छ । डोका विक्री गरेर विकले मासिक रु १५ हजारदेखि २२ हजार रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।
देविस्थानका विकले जस्तै ज्यामरुककोटका सार्कीले पनि ढोका बुनेर नै जवानी विताउनुभएको छ भने बुढ्यौलीका दिन कटाउनुभएको छ ।
सार्कीले डोको बुनेर नै मासिक रु २० हजार भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । यही पैसाले उहाँले आफ्ना ६÷६ जना परिवारको पालन पोषण,शिक्षा दिक्षा र औषधी उपचार गर्दै आउनुभएको बताउनुहुन्छ ।

उमेरले बुढ्यौली लागेको भए पनि डोको बुन्ने कार्यमा भने उहाँको जोश र जाँगर जवानी अवस्थाको जस्तै देखिन्छ । बिहान उठेदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको उहाँलाई पत्तै हुँदैन । “डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ तर, उमेरको हिसाब गर्दा ७० पो काट्न लागेछु” पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उहाँले भन्नुभयो ।

माइला सार्कीको वास्तविक नाम गजबहादुर सार्की हो । तर उहाँलाई सबैले वास्तविक नामले भन्दा माइला सार्कीको नामले चिन्ने गर्दछन् ।सार्कीले ५० वर्ष अघिदेखि शुरु गरेको यो पेशालाई अहिलेसम्म पनि उत्तिकै जोश जाँगर मेहनतका साथ निरन्तरता दिँदै आउनुभएको छ । उनको हातको सीप नैे घरमै बसीबसी दिनहुँ आम्दानी गर्ने माध्यम बनेको छ ।
अति विपन्न परिवारमा जन्मिएका सार्कीको डोको नबुनेसम्मसाँझ बिहानको हातमुख जोर्ने अर्को उपाय नै थिएन । डोको बुनेर उहाँको परिवारको जीविका अहिले राम्रोसँग चलेको छ ।

पहिलेपहिले गाउँघरमा प्रयोग हुने डोको, थुन्से, भकारी बुनेर घर घरमा बिक्रीका लागि पुग्ने गर्नुहुन्थ्यो भने अहिले गाउँघरमा यी सामान बुन्ने मान्छे कमै मात्रामा भएपछि ग्राहाकहरु उहाँकै घरमा दिनहुँ आउने गरेको पाइन्छ । सार्कीले डोको बुनेर नै छोरा छोरीलाइ पढाउनुभयो, बिहे गरिदिनुभयो ।गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा सार्कीले पनि डोको उत्पादनलाई नै बढी प्राथमिकता दिने गर्नुभएको छ । खरिद गर्नेले पनि बढी डोको नै खोज्ने गरेको उहाँ बताउनुहुन्छ ।
दिनमा ३ वटा देखि ५ वटासम्म डोको बुनेर मासिक २० हजार जति आम्दानी हुने उहाँले बताउनुभयो । एकवटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री हुने उहाँको भनाइ छ ।

मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनु पर्दैन भन्ने गतिलो उदाहरण माइलो सार्कीले गरेको पेशा बनेको स्थानीय समाजसेवी झकबहादुर थापाले बताउनुभयो ।

डोकोको माग अत्यधिक हुने गरेकाले पु¥याउन मुस्किल परेको सार्कीले बताउनुभयो । “पहिले नै अर्डर हुन्छ, ग्राहकको माग बढ्दो छ, कसरी पु¥याउने?” उहाँ भनु हुन्छ । सार्कीले बुनेको डोको बलियो र धेरै समयसम्म टिकाउने हुने र टाढाटाढाबाट पनि डोको खरिदकै लागि ग्राहक आउने गरेको स्थानीयहरुले बताएका छन् ।

विक र सार्की मात्रै होइन,म्याग्दीका ५० वसन्त पार गरेका अधिकांश गाउँका पाका व्यक्तिहरु अहिले पनि डोको,भकारी,नाम्लो जस्ता कृषि सामाग्रीहरु वनाउने गर्दछन् । कृषि पेसा प्रति घट्दो आकर्षण र आयातित सामाग्रीहरुको बढ्दो प्रयोगले पाका उमेरका व्यक्तिहरुको रैथाने सीपले भने बजार पाउन हम्मेहम्मे पर्ने गरेको उहाँहरुको गुनासो रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?