विश्व बैंकको प्रतिवेदन: गरिबी घटाउन रेमिट्यान्सको ५० प्रतिशत योगदान

Read Time = 3 mins

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको महत्वपूर्ण योगदान रहेको विश्व बैंकले जनाएको छ । सोमबार वैदेशिक रोजगार, शरणार्थी र समाज विषयमा प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको ४० प्रतिशत योगदान रहेको जनाएको हो ।

प्रतिवेदनअनुसार सन् २००१ देखि २०११ मा खाडी मुलुक र मलेसियाबाट आउने रेमिट्यान्सले नेपालको गरिबी निवारणमा ४० प्रतिशतसम्म योगदान गरेको छ । रेमिट्यान्स प्राप्त गर्ने परिवारलाई आफूले गर्ने कामको अवधि घटाउनसमेत सहयोग पुगेको छ । महिलाले गर्ने कृषि र अनौपचारिक काम घटाउन सहयोग पुगेको बताइएको छ ।

अर्थतन्त्रको आकारको करिब २२ प्रतिशत बराबर रेमिट्यान्स प्राप्त गर्दै आएको छ । नेपाल रेमिट्यान्स प्राप्त गर्नेमध्ये १०औँ मुलुकको सूचीमा पर्छ ।

कम दक्षता भए पनि नेपालीले अमेरिकामा अन्यको तुलनामा राम्रै कमाइ गरिरहेका र अमेरिकामा काम गर्ने ४२ देशका कम दक्षता भएकामध्ये कमाइका आधारमा नेपाली १४औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, कतार जाने नेपालीको सरदर तीन महिना बढी अवधिको कमाइले त्यहाँ जाँदाको लागत धान्ने गरेको छ भने कोरियामा हुने कमाइले त्यहाँ वैदेशिक रोजगारीमा जानेको लागत तुलनात्मकरूपमा कम अवधिमै उठ्ने गरेको छ । थाइल्याण्ड, इण्डोनेसिया र भियतनामजस्ता मुलुकबाट त्यहाँ जानेको कमाइले कम समयमै लागत उठ्ने गरेको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकका लागि प्रतिवेदन तयार गर्ने कार्यदलका प्रमुख जोयस एन्टोनी इब्राहिमले भन्नुभयो, ‘विश्व श्रम बजारमा वैदेशिक रोगजारीबाट कामदार पठाउने र लिने दुवै राष्ट्रले अधिकतम लाभ लिन युवालाई दक्ष तथा सबल बनाउनुपर्ने देखिन्छ ।’ प्रतिवेदनले विश्वभर बुढ्यौली लाग्ने क्रममा रहेको जनसंख्या अप्रत्याशितरूपमा वृद्धि भइरहेको र वैदेशिक रोजगारीबाट प्राप्त हुने आम्दानीमा धेरैजसो मुलुक धानिनुपर्ने अवस्थामा रहेको औंल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?